धनकुटा जिल्ला : संक्षिप्त जानकारी…

loading...

जिल्ला सदरमुकाम: धनकुटा
क्षेत्रफल: ८९१ वर्ग किलोमिटर
गाविस संख्या: ३५
गा.वि.स जनशंख्या: १,६३,४१२ (विसं २०६८)
dhankuta-map

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिकापूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमातेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् ।

वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ ।

जिल्लाको नामाकरण

जिल्लाको नामकरण सम्बन्धमा एकमत छैन । धनकुटा जिल्ला नामाकरणको पछाडिका कारणहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

‘”धान्यकुट”‘ – संस्कृत भाषामा धान्य – धान र कुट – पर्वत वा शिखर या राशि भन्ने हुन्छ। धान्यकुटको शाब्दिक अर्थ धानको राशि जस्तै देखिने कुनै पर्वत हुने र त्यस्तो पर्वत भएको स्थल नै धान्यकुट हुने हुँदा यस जिल्लाका आसपास धेरै पहाडी खण्डहरू रहेका कारण यस जिल्लालाई धान्यकुट – धानकुट – धानकुटा – हुँदै धनकुटा भएको हो।
कसैको भनाइ अनुसार यहाँ धनकुटा नामको देवीस्थान रहेकोले यसको नाम धनकुटा रहन गएको हो।
केही स्थानीयहरूको भनाइ अनुसार चुलीवन नजीक कतै आठपहरिया राईहरूको धान कुट्ने ठूलो ओखल रहेको कारण यसको नाम धनकुटा रहन गएको हो।

भारतको उत्तर प्रदेशको कानपुरमा धनकुट्टी चैत्य छ। त्यस चैत्यसँग यी आठपहरिया राईको बलिया नाता हुनाले यसको नाम यस्तो रह्यो।
अर्को किम्बादन्ती अनुसार – वर्तमान कागते भन्ने ठाउँमा ठूलो पोखरी थियो। त्यो भन्दा अलिक माथि लामो अर्को पोखरी पनि भएको कुरा बूढापाकाबाट सुन्न पाइन्छ। यसका दुवैतिर अग्ला डाँडाँहरू अहिलेसम्म छँदैछन्। कुनै कल्पनाशील मनुष्यले यी दुई थुम्कालाई ढिकीका खाबाँ लामो पोखरीलाई ढिकी र ठूलो पोखरीलाई ओखलजस्तो लागेर अहो यो त धान कुट्ने ठाउँ पो रहेछ भन्यो। चल्दै जाँदा “धानकुटाबाट अपभ्रंस हुँदै धनकुटा भएको हुन सक्ने अनुमान गरिन्छ।

माथिका विभिन्न कारणहरूमध्ये तार्किक दष्टिले उपयुक्त मानिएको कारणहरूमा नं. १मा चर्चा गरिएको कारण केही हदसम्म ठीक मान्न सकिन्छ किनभने यस जिल्लाको भू-धरातलभित्रको अनेकौं यस्ता धानका राशि जस्ता थुम्काहरू रहेका छन् जुन अहिले पनि देख्न सकिन्छ। यस नामलाई स्मरण गराइरहेको जस्तो भान भइरहन्छ। अर्को ५ नं.मा उल्लेख गरिएको बुदाँ पनि जनश्रुतिमा बढी चर्चा गरिएको र सान्दर्भिक नामकरण जस्तो देखिन्छ तथापि हाल कागते पोखरी देख्न सकिदैंन। यति हुदाँहुँदै पनि यसलाई पुष्टि मिल्ने दुई थुम्काहरू उभोपट्टिको छेउमा ढिकीको खाँवा झैं भएर पनि रहिरहेका छन्।

ऐतिहासिक पृष्ठभुमि

इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा हो। यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत केन्द्रीय शासन व्यवस्था लिच्छवि शासकहरूका हातमा थियो। इतिहासको कुनै कालखण्डमा लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरेका र त्यस पूर्वको लिम्बुवान क्षेत्रलाई फेदाप भनिएको र धनकुटा जिल्ला पनि त्यसै फेदाप क्षेत्रभित्र पर्ने इतिहासकारहरूको राय छ। त्यो देश धनुर्वाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान राखियो लि = धनु, आवु = हान्ने, वाननाउ = लाउनु अर्थात किराँती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हो भन्ने तर्क इतिहासकारहरूले अघिसरेका छन। लिम्बु सरदारहरूका दश सन्तानले होन्देन हांग, याकोतेद हांग, चेस्वी हांग, लारासो पांगबो हांग, खेसिब हांग, इकाङ्सो हांग, खाडी हांग र इमे हांग लगायत आठजना किराँती राजाहरूलाई धनुर्वाणले मारेर लिम्बुवान कब्जा गरेका थिए। यसरी दश सरदारहरूले आफ्नो हातमा पारेका लिम्बुवान क्षेत्रलाई विभिन्न दश भागमा विभाजन गरी शासन गर्न थाले भन्ने दावी पनि इतिहासकारहरूले गरेका छन्।

यस लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरे पनि उनीहरू सबै उत्तिकै महत्वपूर्ण देखिदैनन। तिब्वती राजा स्रोङचङ गम्पोको सहयोग लिएर लिम्बुवान माथि आक्रमण गर्ने मुङमाव रोंग राजाका समयमा उनको राज्य तिव्वतसम्म फैलिएको र हिउँदेकालीन राजधानी साँगुरी भन्ज्याङ थियो। लाशा वंशका उवाहांगले लिम्बुवान माथि बिजय प्राप्त गरेर सन् ८४९ – ८६५ सम्म शासन गरे। पछि उनका छोरा मावोहांग सन् ८६५- ८८२ सम्म लिम्बुवानमा शासन गरेर उनले यूमा धर्म प्रचलित गराए। किराँतीहरूमा अझै पनि यूमा धर्म प्रचलित छ। मावोहांगको शासनको कमजोरीपनको फाइदा उठाएर किराँत लिपिका आविष्कारक श्रीजंगाले लिम्बुवान क्षेत्रको शासन आपुनो हातमा लिएर सन् ८८० – ९१५ सम्म बर्चस्व कायम गरेको कुरा विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन। यसपछि अभिमान सिंह बस्न्यातले विजयपुरदेखि माथि महाभारतका डाँडामा रहेको साँगुरी गढीमा गोर्खाली सैनिक दल पठाई त्यस गढ कब्जा गरे र त्यसतिरबाट पहाडपट्टि घुम्ने बाटो खोले। अभिमान सिंह बस्न्यातले चौदण्डी राज्यमाथि विजय गरिसकेपछि उक्त कदम चालेका थिए। पूर्वका लिम्बुवान राज्यका किराँती शासकहरूसँग पृथ्वीनारायण शाह डराएबाट यो राज्य एक ऐतिहासिक कालखण्डमा शक्तिशाली राज्य र शासकको रूपमा चित्रित भएको पाइन्छ। तथापि यो राज्यलाई पृथ्वीनारायण शाहको एकीकरण अभियानमा वि. सं १८३१ (सन् १७७४ मार्च)मा समावेश हुन आएको पाइन्छ। यस समयमा लिम्बुवान क्षेत्र भित्र पाँच जिल्लाहरू धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र संखुवासभा नेपालमा गाभिएको थिए। लिम्बुवान क्षेत्रको शक्ति र प्रभावलाई मूल्याङ्कन गरेर पृथ्वीनारायण शाहले वि. सं १८३१ श्रावण २२ गते सोमवारका दिन लिम्बुवान क्षेत्रका लिम्बुहरूलाई रजौटाका रूपमा मान्यता दिएका थिए।

नेपाल एकीकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लोकिराँत राज्य अन्तरगत पर्दथ्यो। काठमाडौंमा मल्ल राजाहरूको शासनकालको समयमा अथवा नेपालमा बाइसी चौविसी राज्य हुँदा धनकुटा भेगमा ‘हाङ’को दर्जाबाट लिम्बूहरू राज्य गर्दथे। त्यसताका अरुणनदीको वारिपट्टी चौदण्डी पल्लोकिराँतका १७ थुममा बाह्रजना हाङहरू राज्य गर्दथे। नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतका १७ थुमहरू गोरखाली सेनाले आफ्नो अधीनमा लिएपछि इ.स.१७७४ देखि पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ।

राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि. सं १८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो। विभाजन अनुसार दूधकोशी पूर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भू-भाग चैनपूर, धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो। राणाकालका तेस्रो प्रधानमन्त्रीका रूपमा वि.सं १९४२ साल तिर बीर शम्सेर भए। यिनैको कार्यकालमा नेपालको १० जिल्लाहरूलाई बत्तीस जिल्लामा विभाजन गरियो। यसै समयदेखि जिल्लाहरूको स्वरूपमा एकरूपता आएको र सामान्य परिवर्तन वाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरूको त्यही स्वरूप रहेको देखिन्छ। पहाडी बीस जिल्लाहरूमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो। तर ती बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरूलाई विशेषस्थान प्राप्त भयो। पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो। धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्वमा १ नम्बर, २ नम्बर, ३ नम्बर, ४ नम्बर, इलाम र धनकुटा गरी ६ जिल्ला पर्दथे। त्यससमयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो। हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भू-भाग त्यसवखत धनकुटा १ जिल्लाको रूपमा थियो। धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला ठूलो प्रशासनिक केन्द्र भयो।

२०१९ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौविसे र झलहरा गरी छथुमहरू गाभेर धनकुटा जिल्ला बनाइयो। चौध अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले चर्चेको भू-भाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरू मिलेर बनेको सानो भू-भागमा सीमित रह्यो।

भौगोलिक अवस्थिति

अक्षांश: २६ डिग्रि ३५ मिनेट देखि २७ डिग्रि १९ मिनेट उत्तर
देशान्तर: ८७ डिग्रि १९ मिनेट देखि ८७ डिग्रि ३३ मिनेट पूर्व
सिमाना: पूर्व- तेह्रथुम र पाँचथर जिल्ला, पश्चिम-भोजपुर र उदयपुर, उत्तर-संखुवासभा जिल्ला र दक्षिण- मोरङ र सुनसरी जिल्ला
क्षेत्रफल: ८९१ वर्ग किलोमिटर
सबभन्दा होचोस्थान: १२० मिटर (आहाले गाविस अन्तर्गतको कोकाहा खोला र सप्तकोशी दोभान छेउ)
सबभन्दा अग्लोस्थान: २,७०२ मिटर (मुर्तीढुङ्गा गाविसको पटेक डाँडा)

जिल्लाका नदीहरू

यस जिल्लामा रहेका प्रमुख नदीहरूमा अरुण, तमोर हुन भने अन्य साना तिना २८ वटा खोलानालाहरू रहेको पाइन्छ जस अनुसार केवा (क्याँवा), लेगुवा, तेलिया, ताङ्खुवा, नाबा, छरुवा, सिन्दुवा, जरुवा, नम्फुवा, रगुवा, लेउती, फेसुवा कोकाहा, तकुवा, फङ्सुवा, श्रीवानी आदि पर्दछन्।

जैविक विविधता

जिल्लामा पाइने केही जनावर र पंक्षी तथा वनस्पतिहरूको नामावली निम्नानुशार छ।

रातो मृग, दुम्सी, बँदेल, चित्तल, चितुवा, बाँदर, लंगुर, मलसांप्रो आदि जनावरहरू।
कालिज, लुइँचे, बकुल्ला, मैना, ढुकुर, नीलकण्ठ, कोइली, कुक्कु आदि चराहरू।
साल, खयर, सतिसाल, चिलाउने, सल्ला, उत्तिस, चाँप, कटुस, खस्रु ,टाँकी, बडहर, कुट्मिरो, दूधिलो, कोइरालो, चिउरी, चुत्रो, लोक्ता, घगाँरु, गुराँस, पात्ले, कटुस आदि।
प्रमुख धार्मिक एवं सांस्कृतिक स्थल
जाल्पादेवी मन्दिर‎ (छिन्ताङ देवी मन्दिर)
अवस्थितिः छिन्ताङ्ग गाविस (धनकुटा बजारबाट ८ कोश पश्चिम)।
प्रथम पूजारीः बुरुलेन नाकछोङ (राई जातिका)
मन्दिर संख्याः जालपादेवी र कन्यादेवीका १/१ गरी जम्मा २ वटा।

निशान भगवती मन्दिर
अवस्थितिः धनकुटा नगरपालिका वडा नम्बर ६।
स्थापनाः करिब १६० वर्ष पहिले गरेको मानिने।
पूजाआजा प्रायः सधैंजसो हुने, दशैंको अष्टमीका दिन सेनाद्वारा विशेष वलीसहित पूजा गरिने।

शिवपाञ्चायन (विश्रान्ति मन्दिर)
अवस्थितिः बेलहरा गाविस वडा नम्बर ९ मूलघाट, तमोर नदीको किनार।
स्थापनाः विसं २०४०मा विश्रान्ति मन्दिर नामक गैर सरकारी संस्थाबाट निर्मित।
सुविधाः बृद्धाश्रमको निर्माण पश्चात हाल २० जना बृद्ध, बृद्धाका लागि आवस लगायतको प्रबन्ध, मन्दिर परिसरमा विवाह, ब्रतबन्धका लागि स्थान तथा आवासको प्रबन्ध, पितृकार्य आदि गर्नका लागि सहयोग प्रदान।
विशेष पूजाः शिवरात्रीको दिन मेला लाग्नुका साथै विशेष पूजा पनि गरिने।
कोशी राजमार्गको धरान–धनकुटा खण्डका काखमा अवस्थित रमणीय तीर्थस्थल विश्रान्ति एक पर्यटकीय स्थल पनि हो र यस मन्दिरमा यातायातका कारण धार्मिक तिर्खा मेट्न भक्तजनहरू आइरहन्छन्।

पाथीभरा देवी मन्दिर
अवस्थितिः भेडेटारबाट पश्चिम (३० मिनेटको पैदल)।
प्रसिद्धि: ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा देवीको प्रतीक।
कच्ची सडक पुर्याइएको यस मन्दिरमा खास गरी धनकुटा, सुनसरी र मोरङबाट तिर्थयात्रीहरू आउने गर्दछन्।

मधुगंगा महादेवस्थान
अवस्थितः भिरगाउँ गाविस वडा नम्बर ४, मधुखोला किनारको गुफा, करिब ६० फिट लामो प्राकृतिक गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेबको प्रतीक मानिने।
विशेष दिनः मार्ग पूर्णिमा – पूजाआजा तथा मेला लाग्ने )

नागेश्वर महादेव मन्दिर
अवस्थितिः लेगुवा गाविस वडा नम्बर ५
नामाकरणः नाग आकारको शिवलिङ्ग भेटिएको र त्यही शिवलिङ्ग स्थापना गरेर मन्दिर निर्माण गरिएकोले।
प्रसिद्धि २०० वर्ष पुरानो मन्दिर।
विशेष पूजा समय वा दिनः श्रावण महिमा र प्रत्येक पूर्णिमा, नागपञ्चमी, शिवरात्री र बडादशैं।

मार्गाथान
अवस्थितिः धनकुटा नगरपालिका वडा नम्बर ५ बिहिबारे हाट।
सम्बन्धः आठपहरिया राई जाति सँग।
विशेष पूजाः धुले पूजा, न्वागी पूजा, मंसिरे पूर्णिमा आदिमा विशेष पूजा गरी सुगुरको पाठा तथा कुखुराको चल्ला बलि दिइने।

चतुरवाहु विष्णु मन्दिर
अवस्थितिः डाँडाबजार।
विशेषताः पुरानो शैलीमा निर्मित मन्दिर। पुरातत्त्व विभागद्वारा छैठो शताब्दी तिरको चतुर्बाहु विष्णुको प्रस्तर मूर्ति स्थापना

‘धर्म देबि’
अवस्थति: मारेकटहरे गाउँ विकास समिति वडा नं ९ माझगाउँ।
यो मन्दिरको एउटा छुटै बिशेसता पनि रहेको पाइएको छ उक्त मन्दिरमा स्वच्छ मनले माग्यो भने जे पनि पाउन सकिन्छ भन्ने भनाइ रहेको छ। पुरातन शैलिमा निर्मित।
विशेष पूजाः न्वागि पूजा,एकादशि आदि।

मह्त्वपूर्ण पर्यटक केन्द्र

यस जिल्लामा हालसम्म कुन वर्षमा के कति पर्यटकहरू भित्रिएर र उनीहरूबाट के कति आम्दानी भयो सो कुरा निश्चित गर्न नसकिए पनि पर्यटकीय संभावना बोकेका स्थलहरू रहेको कुरा भने ठोकुवाका साथ भन्न सकिन्छ उचाइगत विविधताका कारण हरिया रुखहरूले ढाकेका डाँडाकाँडाहरूले भरिएको धनकुटा प्राकृतिक छटा सदैव चम्काइरहन्छ। यसले दृश्यावलोकन गर्न मिल्ने र पर्यटकको तन, मन जित्न सक्ने खालका निकै सौन्दर्यहरू बोकेको छ। विशेष स्थानहरू संक्षेपमा निम्नानुशार रहेका छनः-

भेंडेटार:-
धनकुटा सदरमुकामबाट २६ कि.मि. दक्षिणमा रहेको भेडेटार धरानबाट १६ कि.मि.उत्तरमा पर्दछ। समुन्द्र सतहबाट १४२० मिटरको उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो तर सुन्दर भेंडेटार बजार वि.सं. २०३८ सालमा बेलायती युवराज चाल्र्सको भ्रमण पछि थप चर्चामा रह्यो र हालसम्म उत्तिकै माया पाइरहेको छ। युवराज चाल्र्स पुगेको शैलुङ्ग डाँडाको टुप्पोलाई चाल्र्स प्वाइन्टको नामले चिनिदै आएको छ। भौतिक पूर्वाधारका दृष्टिले पूर्वतिर पाँचथर जिल्लाको राँके जोडने सडक र पश्चिमतिर बराहक्षेत्र जोड्ने सडकको पूर्णतासंगै भेंडेटारले थप महत्व पाउने छ। प्रायः वर्षभरि जस्तो नै मान्छेहरूको सान्निध्य पाउने यस भेडेटार बजारमा आन्तरिक पर्यटकहरू नै बढी आउँछन्। विशेष गरी धरान बजार, तराईका रमाइला फाँटहरू, सप्तकोशी नदी र कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका सुन्दर हिमश्रृंखलाका साथै पहाडका सुन्दर हरिया तरेंलीहरू देख्न समेत पाइन्छ। यातायात, सञ्चार, होटलबास तथा अथाह प्रकृतिको छटासँगै भेंडेटार अझ विकासको चरणमा छ।

ध्वजे डाँडा:-
समुन्द्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजे डाँडा भेंडेटार बजारबाट करिब १३ कि.मी. पूर्व डाँडा बजार गा.वि.स.मा पर्दछ। डाँडा बजारबाट १ कि.मी. जतिको पैदल यात्रा तय गरी सकेपछि बल्ल पुगिने यस डाँडाबाट पूर्वाञ्चलका १६ बटै जिल्लाहरू देख्न सकिन्छ। नेपालको नक्सा निर्माणमा अक्षांश, देशान्तर टुङ्गो लागाउन विशेषज्ञहरूले बेला बेलामा प्रयोग गर्दै आइएबाट यसको महत्व पनि स्वत झल्कन्छ।

ठूलो रुख:-
डाडाबजार गा.वि.स. वार्ड न. २ लाप्चेटारमा रहेको एक वरको रुखलाई मानिसहरूले करिव २५० वर्ष पुरानो मानेका छन्। यो रुखको फेदको गोलाइ १७ मीटर रहेको छ। यसरी सामान्य भन्दा विशाल लाग्ने यस रुखले नेपालको मात्रै नभएर एसियाकै सबैभन्दा ठूलो रुख जन मान्यता पाइरहेको छ। यस रुखले मात्र टाढा टाढाबाट पर्यटकहरू आकर्षित गरिरहेको छ।

हिले तथा पाख्रिबास:-
धनकुटा विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रहरू मध्ये अग्रणी स्थान ओगट्ने सफल हिले र पाख्रिबास बजार करिव १९५० मीटरको उचाइमा रहेका छन्। प्रायः वर्ष भरि नै चिसो हावापानी भइरहने यी बजारहरूको रौनक बीचमा स्थापित कृषि केन्द्र भित्र कैद गरिएको दृश्यले बढाएको छ। तेह्रथुम र भोजपुर जिल्लाका लागि कोशी राजमार्ग छुट्ने स्थल हिले सामान भित्राउने र पठाउने पुरानो केन्द्र हो। शेर्पा एवं तामाङ्ग जातिको प्राधान्यता रहेको हिले, हिले गुम्बाका कारण प्रसिद्घ छ नै यसका अतिरिक्त ‘तोङमा’ र सुकुटीका लागि पनि मान्छेहरू/ पारखीहरू मरिमेट्छन्।

पञ्चकन्या शहीद स्मृति पार्क:-
वि.सं. २०३६ कार्तिक १७ गतेको इतिहास मै चर्चित छिन्ताङ्ग हत्या काण्डमा मारिएका १५ शहीदहरूको सम्झनामा शालिक निर्माण गरी यस पार्कको स्थापना गरिएको हो। छिन्ताङ्ग गा.वि.स. वार्ड नं. १मा छिन्ताङ्ग देवी मन्दिर नजीकै रहेको यस पार्कमा मदन भण्डारीको समेत शालिक राखिएको छ। जि.वि.स. धनकुटाद्वारा निर्मित यस पार्कमा हिलेबाट कच्ची मोटरबाटो पुर्याएइएको छ।
पहाडी प्रदेशमा पर्ने धनकुटा जिल्लामा स्वभावैले छिटफुट यस्ता सौन्दर्यपूर्ण स्थलहरू अरु पनि रहेकै छन्। पर्यटकीय महत्वकै दृष्टिकोणले विकास गर्न सकिने सम्भावना रहेका स्थानहरूमा काँगडापोखरी, चमेरे ओडार, नमस्ते झरना पारिपात्ले, त्रिशुले पटेक डाँडा लगायतका करिव २० भन्दा बढी स्थानहरू छन्।
– साझासवाल ।

loading...
Loading...