लाहुरेनी भिषा(कविता)

loading...

कविता

लाहुरेनी भिषा

हो त  म लाहुरेनी हु..
त्यसैले त लाहुरेनी भिषामा
जाने अवसर पाउदैछु
जहाँ जाने सपना देख्दै लाखौ नेपालीहरुले
आधा जिन्दगी र जिन्दगी भरिको कमाई
खर्चिन मै ब्यस्त छन..

(कवयित्री शुष्मा रुपाबुङ)


आमा हजुरकै आसिर्बादले त होनि लाहुरेनी भएको
त्यसैले त आज तपाईं हामी छोरी मान्छेहरुले आफ्नो घर चलाउन समेत अधिकार नपाएको देशबाट                                                                               हामी जस्तै छोरी मान्छेले सिङ्गो देश चलाउने महारानीको देश जाने सु-अवसर पाउदैछु…
राम्रो पढेर जागिरे हुनु भन्दै बाहिर आशीर्वाद दिए पनि

हजुरको भित्री आशीर्वाद लाहुरेनी हुनु छोरी भन्ने नै थियो सायद!
मैले देखेकि थिए म
सरकारी जागिरे हुदा हजुरको आँखामा खुसि र गर्वको जुन चमक थियो
लाहुरेनि भए पछि त्यो भन्दा रापिलो सन्तुष्टिका लहरहरु चम्किएका थिए..
म नतमस्तक छु कि
हजुरले लाहुरेनी हुनु भन्दा पहिले आफ्नै योग्यताले स्वालम्बी हुने सपना देखाउनुभयो र आशीर्वाद दिनुभयो
लाहुरेनी हुनलाई योग्यताको कुनै मापदण्ड नहोला
तरै पनि मलाई
आत्म-स्वभिमानका साथ लाहुरेनी
हुन सक्ने योग्य छोरी बनाउनुभयो
मलाई था छ हजुर जस्तै हजारौ आमाहरु छन
जो छोरीलाई लाहुरेनी हुने आशिर्बाद दिइरन्छन
तर हजुर जस्तो लाहुरेनी हुनु भन्दा
अगाडि छोरीलाई योग्य बनाउने सपना देखाउन भुल्ने गर्छन…

झन कोमा हजुरले त मैले था पाए
देखि लाहुरे ज्वाइँ माग्नुभएथ्यो
आशिर्बादमा लाहुरे ज्वाइँ मात्र हुन्थे
त्यसैले त उहॉंको आसिर्बादले लाहुरे ज्वाइँ पाएर लाहुरेनी भए
किनकी उहाको जमानामा लाहुरेनी
बाहेक छोरी मान्छेले आफ्नो योग्यताले पैसा कमाको कहिल्यै देख्न पाउनुभएन!
मात्र देख्नुभएको थियो लाहुरेले
मुग्लान बाट ढाकर भरी सामान र पैसा बोकाइ
भरिया सङ्ग आएको
चाहे आफ्नै रगत र स्वभिमान सङ्ग साटेर नै किन नहोस!
र यहि भित्र देख्नु हुन्थ्यो आफ्नी
नातिनिको आर्थिक सुरक्षित जिन्दगानी!

होनि उहाकै आसिरर्बादले नै
म लाहुरेनी भएर
लाहुरेनीको फ्री भिसामा जान पाउदैछु त्यहा
जहाँ जान कमैले बिर्सेको होस सपनाको खेती लाउन
नत्र त गाउको भाटाले बारेको राई गाउको स्कुलमा
ओडाङ्क मोडाङ्को
गर्दै राई सरले आधा नेपाली आधा राई भाषामा पढाएको बिध्यार्थी म
कहाँ बाट आईएलटिएस र टोफेल पास गरेर स्टुडेन्ट
भिसामा जान सक्न्नु?
मेहनत गरेर फ्री स्कलरशिपको लागि भिड्दा सोर्स कल्ले लाईदिने?
सरकारी स्कुलको ड्रेस् किनिदिन मुस्किल
बाबा आमाले लाखौ
तिरेर कहाँ पठाउन सक्थे र
वर्किङ भिसामा?
त्यसैले त म हजुरहरुको आसिर्बादले भाग्यमानी भएर
लाहुरेनिको फ्री भिसामा जाने मौका पाउदैछु…

तर..हजुरले सुन्नुभएको लाहुरेनिका
सुख र खुसिको चमकदार दन्त्येकथा जस्तो
हजुरको छोरी अर्थात म लाहुरेनिको यथार्थताको
कथा त्यस्तो
धमकदार नहुन पनि सक्छ

कथामा हुन सक्छ,
एउटा दुर्गम गाउमा
सेतो चकले कालोपाटिमा
लेख्दै अशिक्षाको कालो पर्दा
हटाउने सुकमोल हातहरुले
अति बिकशित शहरमा हाम्रो मिक्लाचोङ डांडा
जस्तै अग्ला बिल्डिङ हरुका चिल्ला
सेता भित्ताहरु/भुइहरु पुछेर कालो दाग हटाउदै गरेको!
आखिर जसरी नि कालो हटाउनु त होनि हैन?
यहाँ पनि
त्यहा पनि!

अनि
त्रिभुवन बिश्वबिध्यालयले दिएको मेरा
डिग्रीका सर्टिफिकेट देखाएर कुनै
अफिसमा जागिर माग्न जादा
चटपटे खाने कागजको रुपमा
प्रयोग गरिइरहेका हुनसक्छ..
अनि हुन सक्छ भिर पहारा
उकाली ओरालीहरुमा
हवाई चप्पल लाएर फ्याट फ्याट
गर्दै हावामा कुद्ने खुट्टाहरु
घ्यु जस्तै चिप्ला/चिल्ला पक्की रोडहरुमा
४ इन्चको हिल चप्पल लाएर हिड्दा
चिप्लिएर पछारिनेछु
तर आमा हजुरले अलिकती पनि
चिन्ता नगर्नु होला
किनकी लडे पछि फेरि आफै उठेर
हिड्न हजुरले नै सिकाउनुभएको छ..

अनि घरी घरी उनिहरुको अङ्रेजी
नबुझेर वाल्ल हुन्छु होला
तर मैले हार्न जानेको छैन बदलामा
म पनि घरी-घरी मेरो राई भाषा बोलेर उनिहरुलाई नि
ट्वाल पारिदिनेछु…..

म अर्थात हजुरको लाहुरेनी छोरिको यस्तै/उस्तै कथाहरु कहि कतै पढ्नुभयो भने थोरै पनि बिस्मात मान्नु हुन्न है!

किनकी डिग्री सम्म गर्न नपाएको
कोर्स गर्ने मौका हुनेछ त्यो
अहिले सम्म पढ्न नसकेको
पुस्तक हुनेछ त्यो
जस्लाई प्राक्टिकली पढेर म
पास भएर यहि फर्केर
आउनेछु र त्यो योग्यता यहि खर्चिनेछु
आफ्नै जन्मभुमिमा…
र फुलाउनेछु बिकाश र सम्भावनामा फर्मुलाहरु..

म अभिमानले हैन स्वाभिमानले
लाहुरेनी भएर जादैछु
किनकी सन्सारले सम्मानर्थ वीर उपाधी दिएको एउटा लाहुरेको
सहयोद्दा हु म!
त्येसैले जादैछु लाहुरेनी भिसामा
महिलाले पुरुषलाई सिधा नजरले
हेर्न नसक्ने देसबाट
त्यो जस्तै महिलाले चलाएको देसमा

अब छिट्टै फर्केर आउनु छ र सुनाउनुछ
मेरो गाउको आमा काकी माईजुहरुलाई
जस्को आफ्नै घरमा एक निशुल्क
नोकर जस्तै हैसियत छ..
हो उहाहरुलाई छिट्टै सुनाउनुछ
म पल्टन गएको देसमा त तपाईं जस्तै छोरी मान्छेले महारानी भएर
सिङो देस पो हाक्छ त!

म छिट्टै फर्केर आउनेछु सधाको लागि
किनकी मेरो मातृभुमी र मातृत्वलाई
भुलेर नत बाच्न सक्छु
नत सुट्केशमा अटाएर आफू सङै
लान सक्छु ।
हो म छिट्टै फर्केर आउनेछु
जिन्दगिको एउटा प्राक्टिकल
कोर्स गरेर….
-शुष्मा रुपाबुङ(४ पौष २०७३)

loading...
Loading...