चोमोलुङ्माको एउटा आदिम बस्तिबाट(कविता)

loading...

कविता

✍️शुष्मा रुपाबुङ

चोमोलुङ्माको एउटा आदिम बस्तिबाट

रहर लाई मैले पछ्याए कि
बाध्यताले धकेलेर मलाई
मच्चिदै समयको जहाजले
चोमोलुङ्माको एउटा आदिम बस्तिबाट
उडाएर हूत्याईदियो दुरदेसको एउटा
भुगोलमा…

सुख र दुखको घडीभित्र झुन्डिएको
पेण्डुलम काटा जस्तै हल्लिरहेको
यो अनिस्चित जिन्दगीका पलहरु
नियालि रहेछु..
थाहा छैन यो पेन्डुलम काटा
कहिले कतिबेला स्थिर हुने हुन?
दु:खमा? सुखमा ?
या जिन्दगीभर दु:ख र सूख बिच
पेन्डुलम भएर हल्लिरहने हो??

(कवयित्री शुष्मा रुपाबुङ)

उधौलिमा काराङ्कुरुङ हरु हिमालको
चिसो बाट जोगिन बेसी झर्दै गर्दा
बेमौसमि हुन्डरिले उडाएर
हुलबाट छुट्टिएर एउटा नयाँ संसारमा
अाईपुगेको एउटा निरिह प्राणी जस्तै
मलाई पनि रहर र बाध्यताको बेमौसमी
हुरीले ल्याईपुर्यायो नौलो संसारमा
फेरी सुरु गर्नुछ यहाँ एक्लै जिन्दगीको
अर्को नयाँ अध्याय…

पहिलो पल्ट न्यानो स्पर्श पाएको मातृत्व
पहिलो पल्ट मेरो पैतालाले टेकेको धर्ती
पहिलो पल्ट श्वास लिएको हावा
म भित्र सल्बलाई रहेछन र
यिनै हुन म एक्लै हुँदा खडा भै उठेर हिंड्ने
मेरा शक्तिका स्तम्भहरु..

यहाँ चिल्लो सडक हरुमा
हिड्दा हिड्दै देख्छु मेरी आमाको
मुहार
र टक्क अडिन्छन पाईलाहरु
जतिखेर यादहरुलाई आसु बनाई
यती बगाईदिन मन लाग्छ कि सप्तकोसी झैँ
बनोस र त्येहिबाट बग्दै बग्दै
पुगौ र आमालाई अङ्गालेर छातीभरिको
सम्झनाका कोसेलीहरु फुकाउ…

जब उभिरहेको हुन्छु
मेरा पैतालाहरु सगरमाथाको चुचुरोमा
अडिरहेका महसुस गर्छु
र देख्छु मेरा वरिपरी
उभिरहेछन बामपुड्केहरु
के सगरमाथाको देसबाट जानेहरुले
यस्तै देख्ने गर्छन?

पैसा र सम्पत्तिको अभावलाई सपैले देख्छन
तर कसैले देख्दैनन आफ्नोपन र
आत्मियताको अभावमा
छट्पटिएकाहरु
र त्येही हो सपै भन्दा गरीब जो आफ्नोपन
र आत्मियता को अभावमा बाचिरहेछन
र ति हुन जो आफ्नो देसको सिमाना
नाघेर बाचिरहेछन म जस्तै…

मिडियम साइजको लुगा लाउने मान्छे
यहाँ एक्स्ट्रा स्मल साईजमा झरिरहेछु
र यही एक्स्ट्रा स्मल साईजको लुगा सङ्गै
सुरु हुदैछ जिन्दगीको पईलाहरु
एक्स्ट्रा स्मल बाटोबाट…
र चाडै एक्स्ट्रा लार्ज साइज
बनाउने उत्साह र उमङ्गका साथ…..

-फ़ोल्कस्टोन, बेलायत

loading...
Loading...