रवीन्द्र मिश्र भन्छन,- ओली र प्रचण्डले यो देशलाई ऐतिहासिक गुन लगाउन सक्नुहुन्छ

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा पार्टीका दुई संयोजकमध्येका एक मिश्रसँग समसामयिक राजनीतिबारेमा गरेको कुराकानी :

वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन चुनौतीपूर्ण रहेछ, होइन त ?

नेपालमा सुसंस्कृत राजनीति आफैंमा चुनौतीपूर्ण हो। वैकल्पिक भनेर हामीले सुसंस्कृति राजनीतिको कुरा गरेका हौं। साँच्चिकै यो देशलाई हाम्रै जीवनकालमा रूपान्तरण गर्ने राजनीति हामीले गर्न खोजेका हौं। तर त्यसो गर्न चुनौतीपूर्ण छ भन्ने थाहा हुँदाहुँदै र यो अति कठिन मार्ग हो भन्ने जान्दाजान्दै यसमा होमिएका हौं। पार्टी एकीकरण भएपछिको समयलाई लिने हो भने चार महिनाको बीचमा जति उपलब्धि हाँसिल गर्‍यौं, त्यसबाट हामी अत्यन्तै उत्साहित छौं।

तपाईंले चुनावअघि आफ्नो पार्टी ‘वाम विचारप्रति बढी झुकेको’ तर्क गर्नुभएको थियो, अहिले वाम सरकार गठन हुँदा उत्साही हुनुहुन्छ त ?

मैले वामपन्थी अथवा त्यतापट्टि झुकाव छ भनेर कहिल्यै भनेको छैन। हाम्रो पार्टीका कतिपय राजनीतिक मुद्दामध्ये कतिपय देब्रेतिर छन्, कतिपय दाहिनेतिर छन्। जस्तो: समाजका मूल्यमान्यता र रीतिरिवाजको जगेर्ना गर्नुपर्छ भन्ने कुरा अलिकति दाहिनेतिर पर्छ। तर सामाजिक सुरक्षा र स्वास्थ्यजस्ता विषय राज्यको दायित्व हो। यो कुरा अलिकति देब्रेतिर पर्छ। मैले त्यसतर्फ इंगित गर्न खोजेको हुँ।

अन्य राजनीतिज्ञले दस वर्षमा नगरेको अनुभव हामीले एक वर्षमै गर्‍यौं भन्नहुन्छ, कसरी ?

यो एक वर्षमा म र समान विचारधारा भएका केही साथीहरू मिलेर पार्टी स्थापना गर्‍यौं। पार्टी स्थापनाका केही हप्तामै स्थानीय चुनावमा गयौं। स्थानीय चुनाव सकिन नपाउँदै समान विचारधारा भएको तत्कालीन विवेकशील पार्टी र हामीले स्थापना गरेको साझा पार्टीबीच एकीकरण गर्‍यौं। एकीकरण गर्न पाएको थिएन, प्रादेशिक र संसदीय निर्वाचनमा गयौं। त्यसै सिलसिलामा हामीले घोषणापत्र र दस्ताबेज बनायौं। यी अनुभव सामान्यतया एक वर्षमा हुने होइन। कतिपय दल र राजनीतिज्ञलाई यति अनुभव प्राप्त गर्न लामो समय लाग्न सक्थ्यो, तर हामीले एक वर्षमै अनुभव गर्‍यौं।

तर तपाईंहरूले अन्य दलहरूले जस्तो संघर्षपूर्ण राजनीतिक अनुभव त गर्न पाउनुभएन नि ?

विवेकशील नेपाली दलले पार्टीका रूपमा काम गर्न थालेको चार वर्ष भएको थियो, एकीकृत पार्टी बनाउन थालेकै एक वर्ष भएको थियो त्यतिबेला। स्वाभाविक रूपमा हामी पार्टीगत राजनीति गरेर आएका मान्छेहरू पनि होइनौं र त्यो कसैले अपेक्षा गरेको विषय पनि होइन।

केपी ओली र प्रचण्डको अध्यात्म जागिदियो भने देश समृद्ध बन्छ भन्नुभयो, कस्तो अध्यात्म हो त्यो ?

अध्यात्मबारे विभिन्न व्यक्तिका अलग–अलग परिभाषा होलान्। मेरा लागि सकारात्मकता, इमान, समाजप्रतिको दायित्व र मानवता नै अध्यात्म हो। जुन गुणहरू कुनै आदर्श सोचमा खोजिन्छ, ती गुण मेरा लागि अध्यात्म हुन्। मान्छे धेरै दु:खी हुँदा उसका मनबाट कहिलेकाहीं नकारात्मक सोच पखालिएर जान्छन् र नकारात्मक कर्महरू बाहिर निस्कन्छन्। प्रचण्डजी र ओलीजी दुवैले जिन्दगीमा धेरै पीडा भोग्नुभएको छ। त्यो पीडाले उहाँहरूभित्र सकारात्मक सोच जगाइदियो भने उहाँहरूले पाँच वर्षमा यो देशलाई ऐतिहासिक गुन लगाउन सक्नुहुन्छ।

उहाँहरूले गुन लगाइदिनुभयो र वामपन्थी सरकारले मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धि दियो भने त तपाईंको पार्टीको अस्तित्व धरापमा पर्दैन र ?

अनि के भयो त ? यो देश बन्यो भने कुनै एउटा पार्टी या संगठनको भविष्य धरापमा परेर देशलाई के हानि ? अस्तित्व धरापमा पर्ने भनेको त हामी प्रतिपक्षमा बस्ने न हो। यो देश विकास होस् न। मैले त बारम्बार भनेको छु, देश कसले बनाउँछसँग हामीलाई मतलब छैन। वामपन्थीले बनाए नि भयो, कांग्रेसले बनाए नि भयो। तर मेरा छोराछोरीका लागि र मेरो बुढेसकालको लागि यो देश बन्नुपर्छ। सक्नुहुन्छ, देश बनाउनुस्, सक्नुहुन्न भने अब यसरी चल्दैन। हामी तपाईंहरूलाई विस्थापित गर्छौं।

चुनावपूर्व सामाजिक सन्जालमा तपाईंहरूका पक्षमा आएको वातावरणले नेपाली राजनीतिमा उथलपुथल हुने छाँट देखिएथ्यो, तर त्यो म्योटेरियलाइज भएन नि ? दलहरूको किलो उखेल्न साह्रै कठिन भो है ?

यसमा दुईटा कुरा भए। एउटा, यो समाज राजनीतिक रूपमा बाक्लो रङले रंगिएको छ। यो समाजको ठूलो हिस्सा राजनीतिक रङमा फसको छ। त्यसैकारण गाउँदेखि सहरसम्म, निजीदेखि सार्वजनिक संस्थानसम्म सबै कुरामा राजनीतीकरण भएको छ। अर्को, वामपन्थीहरूले गठबन्धन गरे र स्थिरता र विकासका लागि अब हामीबाहेक विकल्प छैन भन्ने नारा बेचे। जनताको धेरै ठूलो हिस्साले त्यसलाई मानेको देखियो। अर्कोतर्फ, कांग्रे्रसले ‘कम्युनिस्टहरूले सबै लैजान लागिसके, लोकतन्त्र बचाउन र कांग्रेस बचाउन हामीलाई भोट दिनुहोस्’ भने। दशकौंसम्म कांग्रेसलाई भोट हालिराखेका मतदाताले ‘अहो ! कांग्रेसको अस्तित्व नै संकटमा पर्‍यो, बचाउनुपर्‍यो’ भन्ठानेर कांग्रेसलाई भोट दिए। यी दुईको चेपमा हामी पर्‍यौं। हाम्रो उद्देश्य राष्ट्रिय पार्टी बन्ने थियो, अहिले पाँचवटा राष्ट्रिय पार्टी छन्। हामी छैटौं नम्बरमा पर्‍यौं। थोरै मतका कारण राष्ट्रिय पार्टी बन्न सकेनौं। चेपुवामा परेकाले हामी उद्देश्यमा थोरैले पुग्न सकेनौं।

पार्टी स्थापित गर्ने काममा मतदाता पनि चुनौती हुन् भन्नुहुन्छ, जनताप्रति किन अविश्वास ?

जनता जर्नादन हुन्। उनीहरूको मूल्य कुनै पनि समाज, लोकतन्त्र र देश निर्माणमा अपरिहार्य छ। जनतालाई दोष दिन मिल्दै मिल्दैन। तर राजनीतिज्ञहरूको साथसाथमा जनता पनि कति जिम्मेवार छन् भनेर हामीले तर्क गर्न मिल्छ। केही उदाहरण दिन्छु : चुनावअघि प्रचारका क्रममा मेरो चुनावी क्षेत्रको एक घरमा पुगें, त्यस घरअगाडि बाटोमा बुङबुङ्ती धुलो उडिरहेको थियो। त्यस घरका मुलीलाई सोधें– कहिलेदेखि यस्तो भइराखेको छ। उनले ५–६ वर्षदेखि यो क्रम जारी रहेको बताए। उनको तीन महिनाको बच्चा बुङबुङ्ती धुलो उडेको बाटो जोडिएको घरको पहिलो तलामा थियो। उनका लगभग ७५ वर्ष उमेरका बाआमा पहिलो तलाकै अर्को कोठामा बस्थे। त्यो बच्चाले जन्मेदेखि धुलो पिउनुपरेको थियो। ७५ वर्ष पुगेका बाआमाले धुलोकै कारण कष्ट खप्नुपरेको थियो। तर घरमुली के भन्छन् भन्ने होइन, मैले त वर्षौंदेखि फलानो पार्टीलाई भोट दिएर आएको छु, भोट त उहाँहरूलाई नै दिनुपर्छ।

मेरो भनाइ हाम्रो हरेक भोट हामी र हाम्रो घरअगाडिको बाटो कस्तो हुन्छ ? , हामीले खाने तरकारी विषादीमुक्त हुन्छ कि हुँदैन ? , हाम्रा छोराछोरी जाने स्कुल राम्रा हुन्छन् कि हुँदैनन् ? हाम्रा अस्पताल राम्रा हुन्छन् कि हुँदैनन् ? हामीले फेर्ने हावा राम्रो हुन्छ कि हुँदैन ? हाम्रो परिवारको आयस्तर माथि उठ्छ कि उठ्दैन भनेर अहिले पनि हेर्न सकेका छैनौं। हामी पार्टीका एकदम भक्त छौं तर पार्टीको भक्त हुँदै गर्दा आफ्नै परिवारमाथि अन्याय गरिरहेका छौं। त्यसकारण, हामी सबैले त्यस्तो ‘भक्त परम्परा’ लाई चिर्न आवश्यक छ। किनभने वर्षौंदेखि हामी राजनीतिक रङले रंगिएर बसेका छौं। त्यही नै हामीलाई स्वाभाविकजस्तो लाग्न थालिसकेको छ। त्यसलाई हामीले चिर्ने प्रयास गनुपर्छ भनेको हुँ।

तपाईंहरूले भ्रातृ संगठनहरू नबनाउनुको कारण के हो ?

पार्टीका भ्रातृ संगठनले जस्तो घात यो समाजलाई अरू थोरै कुराले गरेको होला। तपाईं कुनै सरकारी कार्यालयमा जानुभयो भने कर्मचारी युनियनका एकजनाले गएर सचिवको टेबल ठटाउँदै ‘तपाईं यो काम गर्नुहुन्छ कि सरुवा गर्दिउँ’ भनेर धम्की दिन्छ। विद्यार्थीले प्राध्यापकको कक्ष तालाबन्दी गरेर दुई–तीनसम्म राखिदिन्छ। राष्ट्रबैंकको गभर्नरलाई तालाबन्दी गरिन्छ। विद्यार्थी शिक्षकलाई कालोमोसो दल्छ। अदालतका ठाउँठाउँमा राजनीतिक नियुक्ति छ। संसारमा मलाई भनिदिनुस्, कुनचाहिँ देशमा एउटा संस्थामा पाँचवटा युनियनको बोर्ड राखेर त्यो देश अथवा संस्थाले विकास गरेको छ ? विद्यार्थीलाई कलेजको परिधिभित्र राजनीति गराइन्छ। त्यो पनि टायर बाल्ने राजनीति। अनि यसले आमरूपमा समाजलाई बढी घात गरेको छ। यसकारण यो चलनलाई हामीले उन्मूलन गर्नैपर्छ। त्यसैले हामी पेसागत भ्रातृ संगठन बनाउँदैनौं।

आम नागरिकलाई पार्टी आबद्ध नागरिक होइन, स्वतन्त्र नागरिक बनाउन चाहन्छौं हामी। राजनीति गर्ने नागरिकलाई मात्रै निश्चित संख्यामा सदस्यता दिने व्यवस्था मिलाउँछौं। त्यसलाई हामी प्रवर्द्धन गर्छौँ। तर विद्यार्थी, कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार सबैलाई राजनीतिको खोल ओढाइदिने काम हामी गदैनौं। फेरि, त्यो खोल जसले ओढाइदियो, उसले फाइदा लिन्छ तर उसले के बिर्सेको हुन्छ भने आफ्ना छोराछोरी र देश समृद्ध हुने स्थितिबाट भने वञ्चित गराइराखेको हुन्छ।

भ्रातृ संगठन बनाउने विषयमा असहमति भए पनि पार्टी संगठन त विस्तार गर्नुभएकै होला नि ?

अहिले विवेकशील साझा पार्टीको संगठन छँदै छैन भन्नुभए पनि हुन्छ। किनभने अन्योलबीच चुनावामा गयौं। संगठन विस्तार गर्ने मौका हामीले पाइसकेका थिएनौं। संगठन बनाउनुपूर्व हामी बलियो संरचना बनाउँदैछौं किनभने संरचना बलियो भयो भने भोलि संगठन जतिसुकै ठूलो हुँदा पनि संरचनाले संगठनलाई ह्यान्डल गर्न सक्छ। संरचना बलियो नबनाई संगठन विस्तारमा दौडिँदा भोलि सबै लथालिंग हुनसक्छ। त्यसो हुनाले हामी चुनावपछि केही आधारभूत संरचना बलियोसँग निर्माण गर्न लागेका छौं। संरचना बन्नेबित्तिकै संगठन निर्माणमा देशव्यापी रूपमा लाग्छौं।

‘अरब स्प्रिङ आन्दोलन’ र तपाईंको पार्टीको मूल जग सोसल मिडिया हो। अरबी आन्दोलन कुशल नेतृत्व नपाएर सेलायो। सामाजिक सन्जालमा बढी भर परेका कारण पनि तपाईंको पार्टीले पनि अपेक्षित सफलता हात नपारेको हो कि ?

हाम्रो पार्टीको सामाजिक सन्जालको पाटो पनि छ र सबल नेतृत्वको पाटो पनि छ। पार्टीको संगठन निर्माणको आधार पनि हामी बनाउँदैछौं। हामीले सामाजिक सन्जालबाट मात्रै आन्दोलन गरिराखेको भए तपाईंले भनेजस्तो समस्या आउँथ्यो, सबल नेतृत्व निर्माण गर्न कठिन हुन्थ्यो। त्यो एउटा पानीको फोकाजस्तो उदाउँथ्यो र फुट्थ्यो। हामी त्यसरी आएका छैनौं र त्यो बाटो हुँदा पनि होइन। हामी सामाजिक सन्जाल प्रयोग गर्छौं किनभने त्यसको शक्तिलाई अवमूल्यन गर्र्नै मिल्दैन। तर त्यसका साथमा हामी ग्राउन्डमा संगठन निर्माण पनि गर्छौं।

समान विचार र मूल्य मान्यता भएकासँग एकता गर्ने कुरो गर्नुभएको छ, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गर्न लाग्नुभएको हो ?

कुनै एउटा दललाई संकेत गरेको होइन। आमरूपमा हामी यो देशको साँच्चिकै नेतृत्व गर्छौं र राजनीतिलाई इमान र सेवाको विषय बनाउनुपर्छ भनेर अघि बढ्दै गर्दा त्यस्तै दृष्टिकोण राख्ने जोसुकै व्यक्ति वा समूहसँग साथसाथ नमिलीकन त हुँदै हुँदैन।

तीन नम्बर प्रदेशमा विजयी तपाईंका पार्टीका तीन सांसदहरूले कस्तो काम गर्दैछन् ?

प्रारम्भिक दिनमा उहाँहरूले गरेका काम उदाहरणीय छन्। हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूलाई सहुलियत दरमा घडेरी दिने कुरा उठ्दा उहाँहरूले त्यसलाई पहिलेकै पजेरो संस्कारकै पुनरावृत्ति भन्दै विज्ञप्ति जारी गर्दै त्यसको सशक्त विरोध गर्नुभयो। आफ्ना प्रदेशका सयजना नागरिकले संसद्मा कुनै विषय उठाउन चाहे त्यसलाई निश्चित संख्याका सांसदले अनुमोदन गरे त्यो विषय प्रदेशसभामा प्रस्ताव बन्ने विषयलाई अघि सारेर सहभागितामूलक लोकतन्त्रलाई अघि बढाउन उहाँहरूले प्रमुख भूमिका निर्वाह गर्नुभयो। संसदीय समिति बनाउने सन्दर्भमा अन्य पार्टीका सांसदहरूले भागबन्डा लगाउनुपर्ने कारण धेरै संख्याको बनाउन पहल गरे तर त्यसलाई निश्चित संख्यामा मात्रै राख्नुपर्छ भनेर हाम्रा सांसदहरूले तर्क गर्नुभयो र उहाँहरूको विषय सुनुवाइ पनि भयो। त्यो नैतिक जित हो हाम्रो। उहाँहरूले हामीले चाहेको असल राजनीतिक संस्कार र रचनात्मक भूमिका प्रदेशसभामा अभ्यास गर्न थाल्नुभएको छ।

विवेकशील साझाको भविष्य केमा निर्भर छ ?

सत्तारूढ दलले विकास र समृद्धि निर्माण गरे पनि कुनै पनि लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ। हाम्रो उद्देश्य त कसैले राम्रो काम गरोस् या नगरोस्, यो देशको नेतृत्व गरेर हामीले चाहेअनुरूप रूपान्तरण गर्ने नै हो। तर हामीले गरेर देखाउन नपाएकाले कसैले साँच्चिकै राम्रो काम गरिदियो भने हामीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न हामी अप्ठ्यारो मान्दैनौं।

आफूहरूसँग भएको विशेषज्ञताका आधारमा तपाईंहरू यो सरकारलाई सहयोग गर्नुहुन्छ ?

हामीले सरकारलाई सहयोग नगर्ने कुरै आउँदैन। तर उहाँहरूले पनि ध्यान दिनुपर्‍यो। जस्तो– हाम्रा केही साथीहरूले बारम्बार नीतिगत विषयमा सामाजिक सन्जाल र मिडियामा आफ्ना धारणा राख्नुभएको छ। त्यस्ता सकारात्मक सुझाव सरकारले अवलम्बन गर्न सक्छ। भोलि चाहिएको खण्डमा हामीलाई बोलाइयो भने हामी गएरै पनि सरकारलाई सहयोग गर्न सक्छौं। अहिले पनि काठमाडौं महानगरपालिकाको सम्पदा संरक्षणका सन्दर्भमा हाम्रा साथीहरूले मेयरलाई सहयोग गरिरहनुभएको छ। हामी सरकारलाई विभिन्न ढंगबाट रचनात्मक सहयोग त गरिहाल्छौं नि !

प्रारम्भिक शैली देख्दा सरकार देशप्रति कत्तिको चिन्तत देख्नुभएको छ ?

विगतको परिणति हो वर्तमान। उहाँहरूको वर्तमान उहाँहरूले हिजो गरेको कामबाट मूल्यांकन हुन्छ। त्यसरी मूल्यांकन गर्ने हो भने उहाँहरूको रेकर्ड नाजुक छ। तर रेकर्ड नाजुक भए पनि मैले अघि भनेजस्तो अध्यात्म जागिदियो भने उहाँहरू सुमार्गमा हिँड्न सक्नुहुन्छ। उहाँहरू बिग्रनुहोला र हामी धमिलो पानीमा माछा मारौंला भनेर नसोचौं।

अन्त्यमा, केही भन्नु छ कि ?

कतिपय साथीलाई विवेकशील साझा पार्टी चुनावी परिणामपछि अलिकति मौन बस्यो भन्ने लागिराखेको होला। गत चुनावमा राष्ट्रिय पार्टी हाम्रो लक्ष्य झन्डैझन्डै त्यही विन्दुमा पुगेको थियो। हामी अहिले देशकै छैटौं ठूलो पार्टी भयौं। अर्को चुनावमा देशको नेतृत्व गर्ने लक्ष्य लिएर अघि बढ्दैछौं। त्यति ठूलो लक्ष्य हाँसिल गर्न जग पनि उत्तिकै बलियो बनाउन आवश्यक छ। अहिले हामी जग निर्माणमा लागेका छौं। त्यसपछि हामी धेरै ठाउँमा देखिन्छौं, आक्रामक रूपमा अघि बढ्छौं।

– मिश्र सँग प्रकाश आस्थाले गरेका कुराकानी अन्नपूर्णपोस्टबाट लिइएको

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo