उधौली/उभौली पर्व की चाड ? चण्डी नाच की साकेला सिलि ?

तेज बान्तवा राई,काठमाडौ । साकेलाको सन्दर्भमा निक्कै बहसहरु भैसकेको अवस्थामा पनि धेरै जना मित्रहरुले फेसबुकमा “साकेला पर्व” वा “चण्डी नाच” भनेर आज पनि शुभ कामना बाँड्नु भएको वा प्रसंगहरु लेख्नु भएको पाईयो । त्यसै गरी ठूला समाचार हाउस र अन्लाईन मिडियाहरुमा पनि “उभौली पर्व” र “चन्डी नाच” भनेरै प्रयोग भएको पाइयो । आज हामी किरातहरुको महान चाड दोङ्वाङा (उभौली) साकेलाको अवसरमा एउटा सानो जानकारी बाँड्न चाहन्छु ।

साकेला उभौली/उधौली

परापूर्व कालमा जब कुनै तिथी-मितिको विकास भएको थिएन, त्यस बेला खेती लगाउने ठीक समय भने जनावर, चरा-चुरुङी, माछा आदीको व्यवहारको आधार बाट थाहा पाउने गरिन्थ्यो ।

तराईमा गर्मी बढ्ने र हिमाल/लेकमा जाडो घट्ने साथै हिउँ पग्लिएर हरियो घाँस-पात उम्रिने भएको हुनाले जनावर, चरा-चुरुङी तथा माछाहरु तराई बाट हिमाल/लेक अर्थात उँभो यात्रा गर्ने क्रमलाई हेरेर खेती गर्न सुरु गर्ने समय थाहा पाउने गरिन्थ्यो ।

त्यसमा आकाश ढाकेर उडेको देखिने कार्याङ-कुरुङ चराहरुको जत्था मुख्य रुपमा मान्न सकिन्छ । अहिले पनि गाउँघरमा, “कर्याङ-कुरुङ लेक तिर गएको देख्दा काँक्रा-फर्सी रोपे धेरै फल्छ” भन्ने मान्यता राखिन्छ । (कर्याङ-कुरुङ (Goose) को जत्था दक्षिण भारत र अफ्रिकाको गर्मी छल्दै बच्चा कोरल्न तिब्बत वा साइबेरियाको घाँसे मैदान सम्म पुग्ने गर्दछन ।) यसरी जनावर, चरा-चुरुङी, माछा आदी उँभो जाने क्रमलाई “उभौली” भनिएको हो । यसलाई “दोङवाङा साकेला” (नयाँ खेती-पाती लगाउन सुरु गर्ने समय) को रुपमा मनाउने गरिन्छ ।

त्यसरी नै ॠतु परिवर्तन पछी हिमालमा हिउँ पर्ने साथै तराईमा न्यानो हुने भएकोले जनावर, चरा-चुरुङी र माछाहरु फेरि हिमाल/लेक बाट तराई/औंल अर्थात उँधो तिर झर्ने क्रमलाई “उँधौली” भनिएको हो । यसलाई दोङदावा साकेला (खेती-पाती र कामको समय सकिएको उल्लास) को रुपमा मनाउने गरिन्छ । (६ महिना सम्म कर्याङ-कुरुङको जत्थाले एक छिमल बच्चा कोरलेर पुन: दक्षिण भारत वा अफ्रिका फर्किने क्रममा फेरि आकाशमा देख्न सकिन्छ ।)

चण्डी की साकेला ?

किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो ।

यस मध्येमा बैसाख पूर्णिमालाई “चण्डी पूर्णिमा” पनि भनिने भएको हुनाले “साकेला सिलि”लाई “चण्डी नाच” पनि भन्न थालिएको हो । तर “चण्डी” भन्ने बित्तिकै “हिन्दुहरुकी आराध्य देवी दुर्गा”लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ “चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । तल दिएको गुगल सर्चको फोटोले पनि यस कुराको स्पष्ट पारेको देख्न सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले “साकेला सिली” लाई “चन्डी नाच” भन्नु ठीक होइन ।

उधौली/उभौली पर्व की चाड ?

अधिकांस नेपाली पात्रोहरुमा “उधौली पर्व” वा “उधौली पर्व” भनेर लेख्ने गरिएको देखिन्छ, जुन गलत छ । नेपाली र हिन्दी (संस्कृत) भाषामा “पर्व” भन्नाले “उत्सव” भन्ने त जनाउछ तर कुनै न कुनै नरसंहारको स्मृतिमा मनाइने उत्सवको रुपमा प्रयोग गर्ने गरिन्छ ।

उदाहरणको लागि दसैंँ (दुर्गा भवानी द्वारा शुम्भ-निशुम्भको संहार गरिएको तिथी), होली (प्रल्हाद द्वारा होलीकाको बध गरिएको तिथी), कोत पर्व (जंग बहादुर राणाले कोतको पाटनगिनीमा मच्याएको हत्याकाण्ड) भण्डारखाल पर्व (जंगबहादुर राणालाई मार्न तैयार गरिएको षड्यन्त्रमा उल्टै उनी द्वारा आफ्नो २३ जना सत्रुहरु काटेको दिन) आदी । त्यसै गरी महाभारतमा पनि १८ प्रमुख हत्या काण्डहरु छन जसलाई “१८ पर्वहरु” उल्लेख गरिएको छ ।

यस् हिसाबले साकेला कुनै हत्या-काण्डबाट नभएर “ऋतु परिवर्तन”को तिथीमा मनाइने उत्सव भएको हुनाले साकेलालाई “पर्व” भन्नु बिल्कुलै गलत हुने प्रष्ट छ र यसलाई हामीले नै “चाड” को रुपमा स्थापित गर्नु जरुरी छ, ताकी भविश्यमा कुनै पर्व/काण्डहरु संग जबर्जस्ती नजोडीयोस ।

अन्तमा किरात चाड “साकेला दोङ्दावा – ५०७८” को अवसरमा संपूर्ण किरात दाजु-भाई, दिदी-बहिनी, आफन्त, साथी-भाईहरुमा हार्दिक शुभ कामना !! यस् बर्ष पनि अघिल्लो सालहरु जस्तै बाढी-पहिरो, आँधी-बेहेरी, भुकम्प नआवोस, खेती योग्य मौसम रहोस् र हरेक जीव-जन्तुको लागि उपयुक्त मौसम रहोस् भनी हेन्खामा-निनाम्मा सँग प्रार्थना गर्दछु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo