न्युयोर्कमा यसरी मनाइयो २८५५ औँ सोनाम ल्होछार

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा भव्य रुपमा २८५५ औँ सोनाम ल्होछार सम्पन्न भएको छ । फेब्रुअरी २ मा भएको ल्होछार कार्यक्रम तामाङ समाज अमेरिकाको आयोजनामा भएको हो । नेपाली महाबाणिज्य दूतावासका वाणिज्यदुत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमा भएको ल्होछार कार्यक्रमका विषेश अतिथिमा न्युयोर्कका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै सामाजिक कार्यहरू सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे । सुवेदीले दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम समाजले सञ्चालन गरेर आफ्नो मौलिक भाषाको प्रवर्द्धन गर्ने कार्य प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको बताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि काउन्सिलमेनले आफू नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएकाले नेपालीको लागि न्युयोर्कको स्थानीय सरकारबाट हुने सहयोगहरू उपलब्ध गराउन आफू सधैं ततपर रहेका बताए । उनले थपे-संघीय सरकार आप्रवासीहरुको हकमा प्रतिकुल देखिए तापनि न्युयोर्कको स्थानीय सरकारले आप्रवासीहरुलाई सधैं न्यानो स्वागत गरिरहेको छ ।

सोही कार्यक्रममा तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभूमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा खुलेर प्रशंसा गरे । नुवाकोटमा ट्रक दुर्घटनाबाट पीडित परिवारलाई १ लाख ४० हजार, दोलखा र रामेछाप जिल्लाको पवित्र धार्मिक एवं ऐतिहासिक तिर्थस्थल शैलुङमा निर्माणाधीन बोधी चैत्यका लागि ५ लाख रुपैयाँ सहयोग जस्ता अनेकौं कार्यहरू सम्पन्न गरेर समाजले सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भोजराजले चर्चा गरे । भोजराजले थपे -त्यसैगरी कर्मभूमि अमेरिकामा दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गराउनु सराहनीय कार्य हो । त्यसैगरी उनले सामाजिक र मानवीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुइसाङ वाईबा तामाङ स्थानीय एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति हुनु समाजको लागि अर्को महत्वपूर्ण उपलब्धि भएको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभूमि र कर्मभूमि दुवै ठाउँमा समाजले महत्वपूर्ण सहयोगहरू गरिरहने बताइन् । सामाजिक विकासको लागि समाज सधैं क्रियाशील रहिरहने र समुदायको सशक्तिकरणको लागि मात्र नभएर डायसपोराका सिंगो नेपालीहरुको सशक्तिकरणमा समेत समाज सक्रिय रहेको अध्यक्ष तामाङले बताइन् । तामाङले थपिन्-डायस्पोरामा नेपालीहरुको पहिचानलाई स्थापित गराउन समाजले भविष्यमा महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने र अन्य संघ संस्थाहरुसँग रचनात्मक उद्देश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने छौँ ।

ल्होछार कार्यक्रम दिउँसो ४ बजे देखि मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरेर समापन गरिएको थियो । तामाङ संगीतलाई प्रवर्द्धन गर्ने उदेश्यले कलाकारहरुले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए । त्यसैगरी तामाङ समाजले नेपाली (खस) र तामाङ भाषा शिक्षा परियोजना अन्तर्गत नाङ्साल स्कुलका स-साना विद्यार्थीहरुले नेपालको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।

समाजका महासचिव बुद्धिमान तामाङले सञ्चालन गरेका कार्यक्रम बरिस्ठ उपाध्यक्ष ब्रजेश लामाले स्वागत मन्तव्य राखेका थिए । दोस्रो चरणका कार्यक्रमलाई फुरु लामा र रेनु लामा वाइबाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा अमेरिकामा रहेका तामाङ तथा गैर तामाङको बाक्लो उपस्थितिरहेका थिए । कार्यक्रममा काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजको विशेष सहयोगमा न्युयोर्कमा निकट भविष्यमा“माउण्ट एभरेस्ट वे” को घोषणा समेत गर्ने जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo