नेपाली भाषा र साहित्यको परिभाषामा शंसोधन तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

भाषा र साहित्य संग मानिसको अनन्य सम्बन्ध रहेको हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनु पर्दछ । प्रत्येक भाषा साहित्यको प्रभाव र पृष्ठभूमि आआफ्नै छन । यहा बढि चर्चा गर्न खोजिएको विषय चाहि नेपाली साहित्य, नेपाली भाषा साहित्यको पृष्ठभूमि र नेपाली साहित्य भित्र कुनकुन कुरालाई अटाउने ? अन्य मुलुकको अभ्यास कस्तो छ ? मुलुकको पहिचान संगै भाषिक पहिचान कसरी आउने गर्दछ भन्ने हो ।

भारतीय साहित्य भन्ने वित्तिकै भारतका २९ राज्य र ७ युनियन भित्र बोलिने ७८० भाषाहरुको साहित्यलाई जनाउदछ । बिट्रीस साहित्य भन्ने वित्तिकै युके, आयल्स अफ म्यान, च्यानल आइसल्याण्ड भित्र बोलिने एंग्लो नरमन, क्रोनिस, स्कटिस ग्येलिक, वेल्स र अंग्रेजी आदि भाषाको साहित्यलाई जनाउदछ । त्यस्तै पाकिस्तानी साहित्य भन्नाले उर्दु, पास्तु, वालुची, शिन्धु, सेराइकी, पंजावी र शिन्धु भाषाको साहित्यलाई जनाउदछ । त्यसैले नेपाली साहित्य भन्ने वित्तिकै नेपाल भित्र बोलिने १२५ भाषामा लेखिएका सबै भाषाको साहित्यलाई नेपाली साहित्य मान्नु पर्दछ ।

कर्णाली प्रदेशको सिँजा उपत्यकाबाट खस भाषाको आरम्भ भएको हो भन्ने कुराको प्रमाण दुल्लु दामुपालको शिलालेखलाई लिइन्छ । उक्त शिलालेख वि.स. १०३८ स्थापना भएको मानिन्छ । (कुँवर, २०७३, मिर्मिरेअनलाइनडटकम) । खस भाषा भित्र मुख्य ३ प्रशाखा जुम्ली, डोटेली र कुमाउनी अथार्त कतिपयले चाहि ११ प्रकार (जुम्ली, डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुरेली, डोल्पाली, डडेल्धुरी र गढवाली) मा विभक्त गरेका छन । (विकिपिडिया, २०१८) । ति विभक्त गरिएका मध्ये हामीले नेपाली नामाकरण गरिएको भाषा, जो हामी बोलिरहेका छौ, पढिरहेका छौ, लेखि रहेका छौ, यो चाहि खस भित्रको जुम्ली भाषा नजिक भएकोले यसलाई खसजुम्ली भन्न सकिन्छ वा खससिँजाली पनि भन्न सकिन्छ । भाषाको सवाल भएकोले लवज र शब्दलाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसैले खस भित्रका प्रकारहरु मध्ये धेरै शब्द र लवज जुम्लीबाट भएकोले खसजुम्ली भन्न सान्दार्भिक हुन्छ । खस भाषा मात्र भन्न सकिने स्थिती छैन । यस भाषाको मुख्य उत्पतिको बोली ‘खस भाषा“ स्वयं चाहि अहिले पनि संरक्षण गर्नुपर्ने अवस्थामा छ ।

‘खस जुम्ली“ भाषालाई ‘नेपाली“ भाषा भनी नामाकरण गरिए पछि केही असहजता र दुविधा थपिएको देखिन्छ तर यसलाई बहसबाट निकास पाउन सक्दछौ । सार्वभौम मुलुक नेपाल हुनुको नाताले नेपालका नागरिक वा नेपालीहरुले बोल्ने भाषालाई नेपाली भाषा भन्ने परम्परा छ । सामान्यतया पहिलो पहिचान (मुलुक) संगै जोडेर अन्यले चिन्ने गर्दछन् । यो स्वभाविक पनि हो । हाम्रा चाईनीज मित्रहरुले बोलेको सुन्दा उनीहरु चाइनीज भाषामा कुरा गरिरहेका छन भन्दछौ तर उनीहरु वास्तवमा म्याण्डरिन वा क्यान्टोनी भाषामा बोलिरहेका हुन्छन । मुख्य पहिचान (देश) संग अन्य सहायक पहिचान जोडिने प्रचलन विश्वभर छ । तर हाम्रो मुल पहिचान (देश) नेपाल छ र भाषाको नाम नै नेपाली राखिनुले, के प्रोत्साहित गर्दछ भने जो नेपाली (खसजुम्ली) बोल्दछ त्यो मात्र नेपाली हो अथवा जो नेपाली हो उसले खसजुम्ली भाषा बोल्नै पर्दछ भन्ने कसैले वितर्क पनि गर्न सक्दछन् । अर्थात, खसजुम्ली नबोल्ने नेपाली होइनन । तेस्रो ब्यक्ति अर्थात अन्य मुलुककाले हामीलाई नेपालका नागरिक वा नेपाली पहिचान भएकाले हामीलाई नेपाली जाति देख्छन, हामीले जुनसुकै भाषा बोलेपनि नेपाली बोले भन्छन, हाम्रो आआफ्नै जात थर भएपनि उनीहरुले नेपाली जाति भन्दछन । त्यो अर्कै पाटो रहयो । यहा चर्चा गर्न चाहेको विषय चाहि नेपाली शब्दको, नेपाली साहित्यको र नेपाली भाषा साहित्यको हो ।

नेपाली शब्दको सन्दर्भमा नेपाल मुलुक भएकोले राष्ट्रियता नेपाली, नेपाल भित्र बोलिने सबै भाषाहरुको साहित्य नेपाली साहित्य र खसजुम्ली (नेपाली) भाषालाई देवनागरी लिपी प्रयोग गरि लेखिएको साहित्य नेपाली भाषा साहित्य हो । यहा यी माथिका ३ वटै कुरा सहि र स्वीकार्नै पर्ने हुन्छ । यो अर्थमा की नेपाल भित्र बोलिने विभिन्न मातृभाषाहरु सहित खसजुम्ली भाषाको साहित्यलाई नेपाली साहित्य भन्नै पर्नेहुन्छ र अर्को महत्वपूर्ण कुरा चाहि खसजुम्ली भाषालाई मात्र ‘नेपाली भाषा“ नामाकरण भईसकेको एवं मान्यता पाईसकेको हुनाले खसजुम्ली भाषाको साहित्यलाई मात्र पनि नेपाली साहित्य मान्नै पर्ने स्थिती छ । हामी यी दुई कुरालाई ख्याल गर्दै स्पष्ट हुन आवश्यक छ ।

देशको नाम नेपाल भएकोले भाषाको नाम नेपाली भनी नामाकरण गर्न आवश्यक थिएन । छिमेकी मुलुक भारतको भारती भाषा छैन, भनिन्दैन । त्यहा हिन्दी, तमिल, मराठी, अंग्रेजी लगायत अनेक भाषा बोलिन्छ । फिलिपिन्स देशको फिलिपिना भाषा नभनी तागलोक भाषा नै भन्दछन त्यो लगायतको १ सय ८७ भाषा फिलिपिन्समा छन् । त्यसैले खसजुम्ली भाषालाई नै यथावत नाममा सरकारी भाषा बनाएको भए भाषाको नाम र यसको बुझाईमा दुविधाहरु आउने थिएन्न ।कसरी र कहिले खस जुम्ली भाषालाई नेपाली नामाकरण गरियो त ? कमल प्रसाद मल्लद्धारा सम्पादित एकपुरानो पुस्तक ‘प्रस्पेण्टिभ अन कन्टिन्यूटी एण्ड चेन्ज’ पुस्तकको पेज ४५७ मा ‘प्रधानमन्त्री चन्द्र सम्शेरले सन् १९०५ मा नेपाली भाषा बाहेक अन्य भाषामा लेखिएको डकुमेन्टहरु प्रसासन र अदालतहरुमा अमान्य हुने बनाए ।’ (मल्ल, १९८९, पृ ४५७) उल्लेख छ ।

त्यस्तैगरि अर्को दस्तावेजमा भनिएको छ “गोर्खा राज्यको विस्तारसँगै लादिएको खस कुरा वा गोर्खा भाषाको साम्राज्य हेर्दा हामी भाषाको मामिलामा लोकतान्त्रिक गणतन्त्रमा होइन, सुरेन्द्रवीर विक्रम शाह र जंगबहादुर राणाको शासनमा बाँचिरहेका छौँ, जसले गोर्खा भाषाको शासनलाई थप कठोर बनाएका थिए । उनीहरूले वि. स. १९१० सालमा एक इस्तिहार जारी गरी सरकारी कामकाज चलाउन भने तत्पश्चात खस कुरा वा गोर्खा भाषाबाहेक अन्य भाषाको प्रयोगमाथि बन्देज लगाएका थिए, जुन बन्देज अद्यापि लागू रहेको छ ।” (मल्ल के. सुन्दर, नेपालमा भाषिक विभेद, डर्बान घोषणा र कार्ययोजना तथा नेपालमा जातीय विभेद, सन् २००२) ।

युग पाठकले माङ्गेना पुस्तकमा लेखेका छन्ः सन् १९२० को दशक देखि नै नेपाली भाषाको प्रचार गर्नेमा दार्जिलिङबाट सुधपा (सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) प्रमुख थियो । सुधपाकै दबाबमा सन् १९३२ मे महिनामा कलकत्ता विश्वविद्यालयले पढाई गराउने विषयको नाम ‘नेपाली पहाडिया खसकुरा’ लाई ‘नेपाली’ शब्दले विस्थापित गरयो । (पाठक, २०७४, पृ४४) त्यहि सेरोफेरोमा खसजुम्ली नजिकको भाषालाई नेपाली भाषा भन्न शुरु भएको भेटिन्छ । यस भाषालाई राज्यबाट संरक्षण प्राप्त भएकोले संमृद्ध बन्न सकेको स्पष्ट हुन्छ । यसको अर्थ के पनि हो भने भाषाको संमृद्धि, राष्ट्रकै संमृद्धि हो र भाषा संमृद्धिको निम्ति राज्यबाटै संरक्षण हुनुपर्दछ भन्ने दृष्टान्त पनि हो । माङ्गेना पुस्तककै पृष्ठ ५३ मा भनिएको छः ‘देशकै नाममा इकार जोडेर शासकीय भाषालाई जब नेपाली बनाईयो तब अरु भाषा र संस्कृतिहरु स्वतः बहिष्किृत भए ।’

यो तथ्य संगै हामी स्वस्थ बहस गर्न सक्छौ । खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गर्नु सहि थियो या गलत? के नाफा र के घाटा भयो ? खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुले अन्य भाषालाई उपेक्षा गरिएको अर्थात नसमेटिएको निक्यौल गर्दै प्राडा. टंक न्यौपानेले सबै भाषाहरुको साहित्यलाई समेटनको निम्ति ‘नेपालीय’ भन्ने शब्दको प्रयोग गरौ भनी प्रस्ताव पनि गर्नु भएको छ । यो सवाललाई अब महत्वको साथमा हेरिनु पर्दछ की ?

खसजुम्ली भाषालाई विभिन्न कालखण्डमा विभिन्न नामले पुकारिन्थ्यो । त्यसको अर्को उद्धाहरणः ‘नेपाली भाषाको काल विभाजन ऐतिहासिक घटनाक्रम भाषिक पुरातनको आधारमाः सिंजाली भाषा वि.स.११५०–१४५० सम्म, पर्वते भाषा वि.स. १४५०–१८५० सम्म, गोर्खाली भाषा वि.स. १८५०–१९९० सम्म र राष्ट्र भाषा नेपाली भनेर वि.स.१९९० पछि भएको उल्लेख छ ।’ (आचार्य, शोधपत्र पृ२३)एक महान ब्यक्ति नेल्सन मण्डेलाले भनेका थिए, ‘जसलाई भनिएको हो उसले बुझ्ने भाषामा बोल्दा उसको टाउकोमा गएर बस्दछ र उसैले बोल्ने भाषामा कुरा गर्यौ भने उसको मुटुमा गएर बस्दछ ।’ (नेल्सन मण्डेला), अर्का चिन्तक पेड्रो काल्डरोले भनेका छन ‘भाषा सबैभन्दा खतरनाक हतियार हो ।’ त्यसैले यो भाषाको हतियार कसरी र कताकता चल्यो अब हिसाब किताब गरेर सुस्पष्ट हुन आवश्यक छ । खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुको फाइदा बेफाइदा दुवैछन् । यद्यपी खसजुम्लीहरुको विरासतलाई सम्मानपूर्वक ब्यवस्थापन गर्ने सवालमा पनि चिन्तन आवश्यक छ । गोर्खा राज्यको एकात्मककरण संगै उसको राज्यको प्रभुत्व कायम गर्न पक्कै एक भाषी नीतिले सहयोग पुरयाएको कुरा यसको नाफा पक्ष रहयो भने अन्य मातृभाषीहरु ओझेलमा परे र मेहेन्द्रीयवादमा रुमलिएका छन् । त्यो यसले पुरयाएको घाटा हो ।


के हो महेन्द्रीय राष्ट्रबाद ?

राजा महेन्द्रले “एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश” को नारा लगाई खसजुम्ली भाषालाई नेपाल राज्यको भाषाको मान्यता दिई पुरै देशभर सरकारी कामकाजको भाषाको रुपमा कडाईका साथ लागु गरि अरु भाषालाई एक हिसावले दमन नै गरे । त्यसै गरि नेपाललाई पहिलो चोटी धर्म सापेक्ष राज्य घोषणा गरेर अन्य धर्मको अस्तित्व अस्वीकार गरे । देशको ऐन कानुन धर्म प्रेरित बनाई एक समुदाय बिशेषलाई देशको ठेक्का दिए । यसको मतलव पहाडे आर्यहरुलाई प्राथमिकता दिने र अरुको अस्तित्व अस्वीकार गर्ने कार्यलाई नै महेन्द्रीय राष्ट्रबाद भनियो । त्यसको पक्षपोषण गर्न अन्य भाषा बोल्ने वा अन्य धर्म मान्नेलाई गाई खाने भाषा वा धर्म भनियो र जेल हालियो । तराईका सिमाहरुमा पहाडी समुदायलाई लगेर राखी सिमाको रक्षा गराउने नाटक मञ्चन गरियो ।नेपाली समाज अहिले पनि महेन्द्रीय राष्ट्रवादले थिलथिलोमा छ । नेपालीहरुको मस्तिष्कमा एक देश, एक नरेस, एक भाषा, एक भेष भन्ने मन्त्रले लामो समय गाँजी रहयो र अझै पनि उहि विरासतका धङ्धङ्गी बाँकी छन् । सबै गणराज्यहरु मासेर एक देश, सबै शासकहरु मासेर एक राजा, अन्य पोषाकहरु मासेर एक भेष बनाउदै गर्दा सबै जात र थरहरु मासेर एक थर मात्र बाँकी राख्न खोजिएको थियो की? स्वभाविक प्रश्न उठ्न सक्दछ । बहूभाषा बोलिने मुलुकमा यस्तो नीति आउनु सर्वदा दुःखद कुुरा थियो । यस विषयमा सबैको अध्ययन र चासो हुनु जरुरी छ ।


नेपाली साहित्यको सापेक्षित परिभाषा र दायित्व

वर्मा, भारत, भुटानमा बस्ने नेपालीहरु खसजुम्ली (नेपाली) भाषा बोल्छन, लेख्छन तर उनीहरु संग नेपाली नागरिकता छैन । उनीहरुलाई त्यहा नेपाली जातिको रुपमा चिन्दछन । उहि नेपाली समुदाय बीच मात्र आआफ्नो थरले चिनिन्छन । भाषा यतिठूलो कुरा हो, भाषाकै कारण राष्ट्र र राष्ट्रियता बन्ने गर्दछ । त्यसैले अब नेपाली साहित्य तथा भाषा साहित्यको पूर्नब्याख्या हुन जरुरी छ । भाषा र साहित्यलाई भूगोलको सिमा भित्र बाँधेर राख्न सकिन्दैन । नागरिकताको आधारमा अलग्याउन मिल्दैन । सामान्यतया ‘नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य तथा देशविदेशमा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्य नेपाली साहित्य हो ।“ यो ब्याख्या र परिभाषाले मात्र अब पूर्णता र सापेक्षता तर्फ लैजान सक्छ भने ‘नेपाली (खसजुम्ली) भाषालाई देव नागरी लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेको छ । यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्नुपर्ने पनि दायित्व हाम्रै हो ।”

मानिसले मातृभाषा, सम्पर्क भाषा, अन्तर्राष्ट्रिय भाषा तथा छरछिमेकका भाषा बोल्ने गर्दछन् । उनीहरुको मातृभाषाको साहित्यलाई कसरी ब्यवस्थित गर्ने ? उनीहरुद्धारा सिर्जित साहित्यलाई कसरी नामाकरण गर्ने ? उदाहरणको निम्तिः नेपाली भारतीय साहित्य, नेपाली वर्मेली साहित्य, नेपाली ब्रिट्रिस साहित्य यो सगै मातृभाषाको सवालमा चाहि लिम्बु भारतीय साहित्य, लिम्बु नेपाली साहित्य र लिम्बु वर्मेली साहित्य स्वभाविक रुपमा आउनु पर्दछ । त्यस्तैगरि पहिलो तथा मुख्य पहिचान÷चिनारी (देश) को नामबाट छाँयामा पर्ने अवस्थालाई हामीले कसरी ब्यवस्थापन गर्ने ? चिन्तनको खाँचो छ । भाषाको सवालमा लेखक राजेन्द्र महर्जनले लेख्नु भएको छ “भाषाको मामिला हेर्दा यस्तो देखिन्छ, हामी महेन्द्रकालीन राष्ट्रवादको दुर्गन्धी दहमै भैँसी जस्तै रमाइरहेका छौ ।” (महर्जन, २०१६, न्यूयोर्कसमाचारडटकम) वास्तवमा हामी त्यो महेन्द्रकालिन विरासत भन्दा ध्वनी विज्ञान सम्मत अगाडि किन नजाने ?

 

खस भाषा/खसजुम्ली भाषाः

‘खसजुम्ली भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । आमरुपमा खस भाषा इतिहासकालीन बृहत जुम्लाराज्यको खसान क्षेत्रमा बोलिने लवज हो । त्यसको सिंजा केन्द्र थियो तर त्यसको भाषिक प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग हो अर्थात् तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु, डोल्पा, बाजुरासम्म । भाषाका अध्येताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा र सिंजाली भनेर पनि चिनिने उल्लेख गरेका छन् । समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा ‘जुम्ली नेपाली भाषा’को अध्ययन भएको थियो । अध्ययनले जुम्ली नेपाली भाषा बाजुरा, बझांग र अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ । यद्यपी यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुम तिर पनि बोलिने जानकारी छ । भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषी मध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन ।’ (चौलागाईं, २०७५, दुरवीननेपालडटकम)

 

नेपाल भाषाः

नेपाल देश, नेपालको राष्ट्रियता नेपाली, नेपाली साहित्य, नेपाली भाषा साहित्यको बारेमा हामी माथि स्पष्ट भयौ यद्यपी ‘नेपाल भाषा“ शब्द पनि नजिक छ । काठमाडौंलाई मात्र नेपाल भनिने पुरानो प्रचलन अनुसार काठमाडौं (तत्कालिन नेपाल) भित्र धेरैले बोल्ने भाषा नेवार भएकोले नेवार भाषाको नाम नै ‘नेपाल भाषा“ रहेको हो । नेपालभाषा संमृद्ध बन्दैगएको बखत सन् १९८९ मा जुद्ध शमशेर समक्ष बालकृष्ण शम्शेरले गरेको बिन्तिपत्रमा लेखेका छन्ः ‘राष्ट्रिय एकताको निम्ति एउटा राष्ट्रभाषा हुनु अत्यावश्यक रहेको छ… ।’ (पाठक, २०७४, पृ५६) त्यस कारण नेवार भाषालाई उपेक्षा गरिएको भएपनि संयुक्त राष्ट्रसंघमा नेवार अक्षर रञ्जना लिपी नै नेपालको लिपी भनी दर्ता भएको छ । नेवार समुदाय भित्र १२ वटा लिपी प्रचलनमा रहेको अर्को रोचक पक्ष छ भने ११ भन्दा बढि उपजातहरु रहेका छन् ।
विश्वमै लेखन, लिपीको विविधता झनै रमाईलो पाइन्छ । एक नेवार समुदायको १२ वटा लिपीको ठिक विपरित एक ल्याटिन अल्फावेट लिपीलाई अंग्रेजी भाषाले सहित विश्वका १३० भाषाले प्रयोग गर्नेगर्दछ । त्यस्तै मायान लिपीलाई विश्वका ३२ भाषाले प्रयोग गर्नेगर्दछन् । अर्थात ३२ भाषाको लेखन लिपी मायान हो ।

 

हाइपोथेटिकल

खसजुम्ली भाषाको सट्टामा थारु भाषालाई ‘नेपाली भाषा“ नामाकरण गरी सरकारले राज्यबाट पक्षपोषण गरेको भए अहिलेको अवस्था कस्तो हुनेथियो होला ? अन्यन्तै चर्चित डा. बाबुराम भट्टराई एसएलसीमा के बोर्डफष्ट हुने थिएहोलान ? भानुभक्त आचार्यले बाल्मिकीको रामायण खसजुम्ली (नेपाली) भाषामा अनुवाद गरेर घरघर पुर्याएको भएपनि के यस्तो संमृद्ध हुन सक्थ्यो होला ? खसजुम्ली भाषालाई कसले शुरुवात गरयो त नेपाली भाषा भनी बोलाउन ? सम्भवतः नेपालबाट दार्लिलिङ, कुमाउ र वनारस तिर गएकाले बोल्ने भाषालाई त्यहाका समुदायले पहिलेपहिले नेपाली भाषी भन्न शुरुगरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । विश्लेशक सिके लालका अनुसार नेपाली’ भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका थिए भनेका छन् ।

 

लेखन विवाद

खसजुम्ली (नेपाली) भाषालाई देवनागरी अक्षरमा लेखिने प्रचलनको सवालमा नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको ‘नेपाली वर्ण विन्यास’ (पुस्तक) ले धेरै ध्वनी विज्ञान नजिक लगेको थियो । अन्य भाषीलाई देवनागरी लेखनमा सरल हुनेभएकोले नेपाली साहित्य विस्तारको ढोका खुलेको थियो । लेखन जति सजिलो हुन्छ त्यति नै अन्य भाषीले सिक्न सक्दछ । तर, त्यसको ठिक विपरित वि.स. २०७४ मा मानक नेपाली भाषा अभियानले ध्वनी विज्ञानलाई नभई ऐतिहासिक विरासतको आधारमा लेखनको मानक वनाएका छन् । जसले सयौ ग्रन्थहरुलाई त बचाएका छन तर भाषा लिपीलाई बाहिर विश्वमा लैजाने बाटो चाहि साँघुरो बनाएको छ । यसलाई सामान्य रुपले मात्र हेर्न मिल्दैन ।

नागरी लिपी भारतको देवनगर (काशी) बाट प्रचलन शुरु भएकोले यसको नाम ‘नागरी’ भनिएको हो । पछिबाट देव थपेर देवनागरी भनिएको हो । यस नागरी लिपीमा जम्मा ५२ अक्षर, १४ स्वरबर्ण र ३८ ब्यंजनबर्ण हुन्छन् । यस नागरी लिपीमा संस्कृत, हिन्दी, मराठी, कोंकणी, शिन्धी, काश्मीरी, डोगरी, नेपाली, बोडो, मैथिली लगायत ९ भन्दा बढि भाषाहरु लेखिन्छन् । यसको विकास ब्राम्ही लिपीबाट भएको हो । (वामनकार, २०१८, भिमिसाहित्यडटकम))

अन्य मुलुकको अभ्यास हेरौ । परम्परागत लेखनमा रहेको चाईनिज म्याडरिनको ३ हजार ब्यञ्जन तथा स्वरवर्ण अक्षरहरुलाई सरलीकरण गरेर २६ अक्षर, २३ ब्यञ्जनवर्ण र २४ स्वरवर्ण बनाउदा पनि उनीहरुको इतिहासको विरासत बाँचेकै छ तर नेपाली लेखन चाहि ध्वनी विज्ञानबाट पछि फर्किएर इतिहासको विरासत जोगाउनमा लागेको छ । जुन कुरा भाषा साहित्यको विस्तारमा बाँधक हो । जति सजिलो लेखन त्यतिनै विस्तार हुदै जाने भएकोले त्यहि नै भाषा साहित्य संमृद्धिको आधार हुने गर्दछ ।

 

भाषा समानता र समाबेशी सवाल

उसो त वि.स. १९०५ मा सुब्बा सिरधोज लिम्बु (हाल छथर जोरपाटी १) लाई प्रदान भएको सनदमा अंग्रेजी, उर्दु र नागरी लिपी भएको छाप लगाईएको छ । त्यसले स्पष्ट पार्छ की १ सय ७० बर्षअघि नेपालको प्रसासन सबैको अस्थित्व ग्रहण गर्ने समावेशी थियो । त्यस्तै ‘वि.स. २०१५ सालमा विश्वेश्वर प्रसाद कोइराला सरकारले प्राथमिकदेखि विश्वविद्यालयसम्म नेपाली बाहेक हिन्दी, मैथिली र नेवारी भाषामा पठ्नपाठ्नको अनुमति प्रदान गरेको थियो । अफसोच दरबारको आदेशमा रेडियो नेपालबाट हिन्दी र नेवारी भाषाको कार्यक्रम र समाचार वि.सं. २०२२ सालमा बन्द गराइयो । वि.सं. २०५४ साल चैत्र ११ मा काठमाडौं महानगरपालिकाले नेवारी भाषा, धनुषा जिविस र राजविराज नगरपालिकाले मैथिली भाषालाई स्थानीय कामकाजी भाषाका रूपमा लागू गर्न प्रयत्न गरेका थिए । तर न्यायाधीशद्वय कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको संयुक्त इजलासबाट वि.सं.२०५६ साल जेठ १८ गते नेपाली बाहेकको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नु संविधान विपरीत हुने आदेश जारी गरे ।’ (चौधरी, २०७५, लोकतन्त्रडटकम)

एक भाषा नीति लागु गर्नुको मुख्य कारण प्रसासनिक सजिलोको निम्ति थियो तर त्यो एक भाषी नीतिले खसजुम्ली नबोल्ने जातिलाई पढाईमा पछाडि पारी रहेको थियो । खसजुम्ली भाषी बाहेककालाई पढाईमा भकालोको काम गरिरहेको थियो । प्रम चन्द्र सम्शेर देखि शुरूभएको भाषिक नीतिलाई पूर्व राजा महेन्द्रको पालामा अझ कडा पारियो । रोचक पक्ष चाहि बहूदल पश्चात वि.स. २०४६ मा कानुन बनि मावि तहमा वि.स. २०५६ देखि संस्कृत भाषालाई एसएलसी (हालको एसईई) सम्म अनिवार्य र पछि ऐच्छिक गरियो तर वि.स. २०६३ मा हटाउन बाध्य हुनुपरयो । अनिवार्य गर्नुको कारण संस्कृत भाषा प्राचीन भाषा भएकोले संस्कृत जान्दा मात्र चुरोकुरा जान्न सकिन्Þछ भन्ने थियो । धेरै विद्वानहरूले संस्कृत अनिवार्य गर्नुको उद्देश्य खसजुम्ली नबोल्ने समुदायलाई शिक्षामा रोक्नु हो भन्ने आरोप पनि लगाए, प्रष्ट खसजुम्ली बोल्न नसक्ने लगभग ६० प्रतिशत मातृभाषीले संस्कृत उच्चारण गर्नै सक्दैनथे र सबै विषय उत्तिर्ण नगरे एसएलसी पास नहुने भएकोले षडयन्त्र छ भन्ने आरोप पनि लगाए । दोस्रो कारण, दाङ, काठमाडौं र धरानमा रहेको तत्कालिन महेन्द्र विश्वविद्यालय र हालको नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गरेकालाई रोजगारीको ब्यवस्था हुने बुझे । रोजगारी प्राप्त हुनेभएपछि संस्कृत अध्ययनमा आकर्षण तथा संस्कृत भाषाको संमृद्धि थियो तर संस्कृत चाहि सबै जनताको विरासत थिएन । त्यसैले पनि हटाउन पर्ने आवाज उठ्यो र हटयो । नेपालको विगत २ सय बर्षको ईतिहासमा प्रभाव, प्रतिष्ठा र अवसरको निम्ति भाषाले नै भूमिका खेलेको पाईन्छ । त्यसैले भाषा र सरकारको नीति सबैभन्दा महत्वपूर्ण कुरा हुन् ।

 

थाँती रहेका काम

नेपाली शब्दको आयाम अनेक र महत्वपूर्ण छन् । नेपाली साहित्य र नेपाली भाषा साहित्यको परिभाषामा सुधार तथा परिमार्जन गर्दै विस्तार गर्न आवश्यक छ । परिभाषामा नेपाल बाहिर जन्मिएका, पहिचान नेपाली भएका र नेपाली परिचयमा गौरव गर्नेले बोल्ने भाषाको साहित्यलाई कसरी नेपाली साहित्यमा जोड्ने ? जुनसुकै भाषामा लेखिएको भएपनि साहित्यको मर्म, भावना, सुगन्धले कुन साहित्य हो भन्नेकुरा जनाउदछ । यो मान्यता संगै विदेशमा रहेकाले विदेशकै सुगन्ध बोकेको साहित्य खसजुम्ली (नेपाली) भाषा र नागरी लिपीमा लेखेको साहित्यलाई कसरी नेपाली साहित्य भन्न सकिन्छ ? कसरी समन्वय गर्न सकिन्छ ? अब हाम्रो परम्परागत बुझाईको नेपाली साहित्यको परिभाषा किन अपूर्ण छ ? परिवर्तित परिस्थितीमा अझ खुल्ला भई प्रभावकारी ढङ्गले नेपाली साहित्य, खसजुम्ली भाषा साहित्य र नेपाली पहिचान एंव प्रतिष्ठाको निम्ति अझ जुझारु भई कसरी अघि बढ्न सकिन्छ ? आदि वारे चिन्तन र बहस हुन जरुरी छ ।

 

उपसंहार,

खसजुम्ली भाषाको विकसित रुप नै अहिलेको नेपाली भाषा हो भन्ने कुरामा दुईमत छैन यद्यपी जुम्ली भाषा र अहिलेको नेपाली भाषामा धेरै अन्तर पाइन्छ । त्यसैले यसलाई खसजुम्ली भनिएको हो । भाषा आफै परिवर्तन र विकसित हुदैजाने चीज भएकोले भिन्नता आउनु सामान्य कुरा हो । देशको नाम नेपाल रहेपनि सरकारी कामकाजी भाषा खसजुम्ली भनिएको भए अन्य मुलुकमा झै सहजता रहन्थ्यो । खसजुम्ली (नेपाली) बोल्ने मात्र नेपाली हुन की भन्ने भ्रम रहने थिएन । नेपाली साहित्य र खसजुम्ली साहित्यको परिभाषामा दुविधा आउने थिएन । लिपीको लेखनमा जति सजिलो र भाषाविज्ञान सम्मत बनायो त्यतिनै विश्वब्यापी जान सकिन्थ्यो । त्यसैले लेखनको विरासत भन्दा वैज्ञानिकतामा ध्यान दिन सक्नु पर्दछ । खसजुम्ली नबोल्नेहरुलाई सच्चा नेपाली भईनकी भन्ने भ्रम रहने थिएन । देशको राष्ट्रियता र ब्यक्तिमा हुने राष्ट्रियतामा दुविधा रहने थिएन । तर, समय आएको छ । सबैले सामुहिक रुपमा स्वस्थ चिन्तन, बहस गरौ र समयअनुकुल अगाडि बढौ । नेपाली, खसजुम्ली, नेपालयीय आदि शब्द र नेपाली साहित्यको परिभाषालाई अब शंसोधन तथा सुधार गरौ ।

[email protected]

(लेखक विश्व नेपाली साहित्य महासङ्घ, अन्तर्राष्ट्रिय केन्द्रीय समितिको पूर्वअध्यक्ष एवं हाल क्यान्टवरी युनिभर्सिटी युकेमा राजनीति विषयमा अध्ययनरत)

 

Bibliography:

Acharya, O. (2018) Sinjali vasika ra manak Nepali vasako bayeteriki aadhayan, p23, Theses, TU

Bohlen, D. (2014) Language in Education’ Policy in Nepal. Available at: http://notesfromtheemeraldvalley.blogspot.com/2014/03/lang
uage-in-education-policy-in-nepal.html (Accessed: 15 Jan 2019)

Chaudhari, R. (2017) Madeshma rajkaj: kathmandule nabujheko vasha vhavana predeshle bujhla? Availabale at: http://www.lokaantar.com/samachar/48557 (Accessed 15 Jan 2019)

Khas language in problem in Karnali, Available at: https://www.kantipurdaily.com/news/2018/05/09/152582978626061044.html?author=1 (Accessed: 24 August 2018)

Kuwar, N. (2015) Samalochana Nepali Vasha tatha Byakeranko utpati Bikash ra Manikekeran: Samasya ra Sambhawana. Available at: http://www.mirmireonline.com/2016/09/archives/40057 (Accessed: 15 Jan 2019)

K khas vasha lopunmukh cha? http://www.durbinnepal.com/arch
ives/14712 (Accessed: 13 Jan 2019)

Khas Vasha (2018) Available at: https://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A4%B8_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE (Accessed: 14 Jan 2019)

Malla, K., Ed (1989) Prespective on Continuity and Change, Center for Nepal and Asian Studies, Tribhuwan University

Maharjan, R (2015) Kanuni dandale bolne vasha. Available at: https://newyorksamachar.com/n/1184?fbclid=IwAR3yW0SnMB9nhjaP9MIRX2xWNyKTVvaT_lR7r7k-71WSAL7qrshbUlmnvao (Accessed: 13 Jan 2019)

Pathak, Y. (2017) Mangena, Fine Print Books, Kathmandu

Wamankar, M. (2018) Debnagari lipiko sanchiptya parichaya. Available at: https://vimisahitya.wordpress.com/2008/09/02/dewan
aagaree_parichay/(Accessed: 24 August 2018)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo