प्रधानमन्त्रीमा एक्लै हिंड्ने प्रवृत्ति जारी रहे नेकपासँगको सहकार्य टुट्न सक्छ – सहअध्यक्ष श्रेष्ठ

धादिङ, ९ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले के.पी. ओली नेतृत्वको सरकारले दुईबुँदे सहमति अनुरूप संविधान संशोधनको सन्दर्भमा कुनै कदम नचालेको तथा एकल सरकार जस्तो गरी एकलौटी ढङ्गले सरकार चलाएकोमा कडा आलोचना गरेका छन् । उनले यो कुरा ससफो धादिङ जिल्ला तदर्थ समिति गठनका लागि बिहिबार धुनीबेसीमा भएका धादिङ जिल्ला भेलामा बताएको हो ।

पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले भने, ‘ससफो नेपाल सरकारमा सामेल भएको ८ महिना बिति सक्दा पनि संविधान संशोधनका लागि कुनै कदम नचालेको मात्र होइन, संयुक्त सरकारको कुनै आभास समेत भएन । राजदूत तथा संवैधानिक आयोगका प्रमुखहरूको नियुक्तिमा आफ्नो पार्टी र पार्टीभित्र पनि आफ्नो गुटलाई समर्थन गर्ने व्यक्तिहरूलाई मात्र नियुक्ति गरेर संवैधानिक अंगहरूलाई पनि पार्टीकरण र गुटकरण गरेका छन् ।’

सांसद श्रेष्ठले विगतमा राज्यले जिम्मेवारी दिंदा संविधान बमोजिम स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायतको विशेष संरचनाहरूको सिफारिस नै नगरी स्थानीय तहको मात्र सिफारिस गरी अधुरो र अपूरो प्रतिवेदन बुझाउने व्यक्तिलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रमुखमा सिफारिस गरेकोमा आक्रोश पोख्दै भने, यस्तो कार्य क्षमता देखाउन नसकेका व्यक्तिहरूलाई नै पटक पटक अवसर किन ? उनले आफ्नो पार्टीले संविधान संशोधन लगायतका विषयहरूमा भएको सहमती यथासिघ्र कार्यान्वयन गर्न स्मरण पत्र दिइसकेको बताउँदै भने, ‘अब हामीले यसका लागि लामो समय कुर्न सक्दैनौँ, प्रधानमन्त्रीमा एक्लै हिंड्ने प्रवृत्ति जारी रहे नेकपासँगको सहकार्य टुट्न सक्छ ।’

उनले आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवादले ‘जस्तो समाज उस्तै पार्टी’ बनाउने, समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाउने तथा देशलाई समाजवादको बाटोमा लाने उद्देश्य बोकेकाले ससफो नै आजको उदीयमान राजनीतिक शक्ति भएको दावी गरे ।

हाम्रो कम्युनिष्ट पार्टीबाट ससफोमा एकीकृत भएका धादिङ जिल्ला नेता इन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष लालवहादुर तामाङ, केन्द्रीय सदस्य तथा ताम्सालिङ समितिका अध्यक्ष कृष्ण कुमार घलान, केन्द्रीय सदस्य तथा शिल्पी महासङ्घ ३ नम्बर प्रदेश इन्चार्ज मोहन बराइली, ट्रेड युनियन महासङ्घका महासचिव सरोज डिबि राई लगायतका नेताहरूले पनि आफ्नो मन्तब्य राखेका थिए ।

भेलाको अन्त्यमा इन्द्रमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय ससफो धादिङ जिल्ला तदर्थ समिति चयन गरेको छ । अध्यक्ष श्रेष्ठ यस अघि हाम्रो कम्युनिष्ट पार्टी धादिङका जिल्ला अध्यक्ष समेत रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन चञ्चला पराजुली तथा स्वागत सानुकान्छा लामाले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo