डा. बाबुरामलाई पूर्व जनमुक्ति सेनाको प्रश्नै प्रश्नको पत्र : पढ्ने जो कोहीका खस्नेछन् आँशु

टिकाराम वली, पूर्व जनमुक्ति सेना ।

पूर्व जनसरकार प्रमुख आदरणीय कमरेड लालध्वज हाल नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई ज्यु सर्बप्रथम नमस्कार, साथै हार्दिक अभिवादन । यतिबेला मैले तपाईंलाई सम्बोधन गर्ने कुनै सभ्य शब्द भेट्न सकिन किन कि मेरो सर्टिफिकेटको प्रमाणपत्र नै तपाईहरु हो । मिठा, सालिन र सभ्य बिचार बिहिन भएपछि थोरै कडा धेरै आक्रोश तिता, पिरा र भताभुङ्ग भएको संगिन समयमा तपाईंलाई पत्र लेख्दा ज्ञान भाषा र योग्यताको पनि कमिले अलि कडा नै लाग्ला ।

शब्द निकैबेर सोच्न विवश भए । पूर्व जनसरकार प्रमुखको हैसियतले कमरेड लालध्वज भन्ने अवस्था पनि रहेन । तपाईंले चलाएको जनसरकार र माओवादी पार्टी पनि छैन । र अहिले तपाईंले गठन गरेको नयाँ शक्ति हाम्रो बर्ग र समस्या संग टाढा रहेको अनुभुती भयो । बर्ग बिनाको इमानदारीता र इमानदारीता बिनाको क्षमताको कुनै अर्थ रहेनछ भन्ने पाठ तपाईंबाट सिक्ने अवसर प्राप्त भयो । माओवादी जनयुद्ध र त्यसको जनसरकार प्रमुख तपाईं रहदा निकै गहन दस्तावेज ल्याउनु भएको थियो ।

नीतिले संसार हारे हत्कडी, मुत्यु भए महान शहीद के त्यो जनसरकार र दस्तावेज गलत भएको हो ? तपाईंहरुको सोच परिवर्तन भयो नाफाको जिन्दगी अब बर्ग फेर्नु पर्छ भन्नुभयो । दस्तावेज जलाउँनु भयो । कठिन समयका नायकहरु आज यतिछिटै गलेको परिभाषित गर्ने मन थिएन । यो व्यवस्था विरुद्ध लडाउनेहरु दरबारमा लड्नेहरु खाडी र रोडका गल्लि गल्लिमा हुनुपर्छ भन्ने कहिले सोचिएन । कस्तो समय कस्तोवाद कस्ता नेतृत्व भन्ने सवाल यतिबेला उठेको मुख्य विषय हो । हिजो जनसरकार हुँदाको लोकप्रियता सबैको मन मस्तिष्कमा थियो ।

आज नयाँ शक्ति बन्दाको लोकप्रियता सबैको शंकाको घेराउमा हुनुहुन्छ ? आदरणीय बाबुराम ज्यु मैले सोचेको थिए तपाईंको क्षमतामाथि प्रश्न उठ्ने छैन भनेर । हाम्रो युगमा डा. बाबुराम भट्टराई ज्युको पि एच डि (डाक्टरी) ले मरुभूमिको तापक्रम भोग्नु पर्ला भनेर कल्पना गरिएको थिएन । हिजो तपाईंहरुलाई जिन्दावाद भन्दा गर्भले छाती फुकेको हुन्थ्यो । आज त्यहीँ नेताहरुलाई मुर्दावाद दुःखद लाग्छ बर्ग दुस्मन भन्दा बढी आक्रोश पैदा भएको हुन्छ ।

गरिब मजदुर र उत्पीडितहरुको परिवर्तनका सपनामाथी व्यापार गरेर मेरो पुस्ताले विदेशी बजारमा पसिना रगत र अस्मिता बेच्न बाध्य छन् । तपाईंले भन्नु भएको थियो मैले पि एच डि गरेपनि गर्ने क्रान्ति नै हो यो बुर्जुवा शिक्षाको कुनै काम छैन मैले यतिधैरे पढेर पनि त माक्र्सवादी शिक्षा रोजे अनि तपाईंहरुलाई झन् कहाँ बुर्जुवा शिक्षाले बाच्न दिन्छ ? सबै समस्याको समाधान सर्वहारा बर्गको राज्य सत्ताले गर्छ भन्नु भयो अनि हामीले पनि डा. साबको गहन भनाइ हाम्रो विस्वासको आधार भयो ।

बुर्जुवा शिक्षा ठुलो होइन हामी संग भएको जनवादी शिक्षा र माओवादी जनयुद्ध ठुलो हो ।माक्र्सवाद ठुलो हो माओवाद ठुलो हो प्रचण्ड पथ ठुलो हो भनरे दाखिला गरिएकोवाद अहिले राती सुतेको बेला सपनामा आउँछ । बिहान उठेर खोज्दा । पि एच डिको सर्टिफिकेट पो काम लाग्छ रे । पुरानोवाद होइन नयाँ शक्ति पो हुनुपर्छ रे । योग्यता बुर्जुवा शिक्षाको सर्टिफिकेट अनिवार्य हुनुपर्छ रे । वा डा. साब सपना मात्र हराएको छैन । अहिले तपाईंको जनवादी शिक्षाले सबै तिर असफल भएको छु ।

आदरणीय बाबुराम ज्यु जनयुद्धलाई पुजीवादमा फ्युजन गरेर आउने समृद्धि कस्तो हुन्छ ? हिजो तपाईंको टाउकाको मुल्य तोक्ने पुजिवाद आज तपाईंहरको गुरुको रूपमा देख्न सकिन्छ । तपाईंहरुको लक्ष्य दरबारबाट राजा भगाउने मात्र थियो ? होइन भन्ने समयको बर्बादी मानव जीवनको नोक्सान कतिभय ? आउने पुस्ताको पनि उज्ज्वल भविष्य छैन । तपाईंको पुस्ताले पनि यहीँ गम्भीर सकंटको सामना गर्नु पर्यो ।

मेरो पुस्ता अरबको मरुभूमिमाथि वालुवामा पैसा खोज्दै रेमिटेन्स भित्र्याउन लागेका छन् । नेपालमा मदुर माथि व्यापारीकरण गरेर मुनाफा खोज्दै बाच्न मुस्किल बनाएको छ । के गरिब मजदुर उत्पीडितहरुको सपना समाप्त पार्ने पुजीवादी प्रबृती भित्र समृद्धिको कल्पना गर्न सकिन्छ र बाबुराम ज्यु । बिचार परिवर्तन त स्वाभाविक हो तर बर्ग नै परिवर्तन गरेर जिउने कल्पना इतिहासको लागी दुःखद पक्ष होला नि । धेरै प्रश्न छ ? बाबुराम कमरेड तपाईंले बन्दुकको बलले मात्र समाजवादी समृद्धि आउँछ भनेर बन्दुक बोकेर हिडेको योद्धाहरुको योगदान तपाईंहरुलाई रातो कार्पेटमा सम्म पुराउनको लागि पड्केको थियो ? कति मान्छे पड्किएका थिए ?

कति अङ्गभङ्ग भए ? अनि कतिले आत्महत्या गरेका छन् ? कति बेपत्ता छन् ? अनि हजारौंले ज्यान दिएका छन् । के त्यहीँ उदारवादी समृद्धि र तपाईंहरुलाई प्रधानमन्त्री बनाएर खुसियाली शहरमा यस आरामको लागि मात्र युद्ध थियो डा. बाबुराम भट्टराई ज्यु ? होइन भने माक्र्सवादी समाजवाद नै समृद्धिको आधार हो भन्ने तपाईंका दाखिला भनाई माक्र्सवाद प्रयोग हो कि बदनाम ? बन्दुक बोकेको राज्यसँग घङ्गारुको भरमा श्रमजीवीहरुलाई लडाउँदा कस्तो समृद्धिको बाटो भन्नु भएको थियो ? साम्राज्यवाद र बिस्तारवाद घोषणा गरेर सुरुङ्ग युद्ध गर्दा कस्तो समृद्धिको कल्पना गर्नु भएको थियो ?

के त्यही देशी विदेशीसँग साम्राज्यवाद र बिस्तारवाद संग अंकमाल गर्ने समृद्धि सुरुङ्ग युद्ध त्यसकै लागि थियो ? त्यतिबेला बर्ग देख्नु भयो उत्पिडन देख्नु भयो माक्र्सवादी समाजवाद खोज्नु भयो तर बिचबाटो छोड्ने भए उत्पीडितहरुलाई खोक्रो सपना किन देखाउनु भयो ? होइन भने सामन्तवादी उत्पीडनविरुद्ध संघर्ष गरेका तपाईंहरु जस्ता बिद्वान अहिले त्यही देशी बिदेशी शक्तिकेन्द्रको सुकिला बिचार र वादमा लिप्त हुनुभयो नि ? बाबुराम ज्यु तपाईंहरु ति सुकिला साम्राज्यवादको गोडा धोएर र भजन गाएर समृद्धि आउने थियो भन्ने तपाईं जस्तो बिद्वान मान्छेले युद्धकोबाटो किन रोज्नु भयो ?

अहिलेको प्रतिस्पर्धा नवउदारवाद कि समाजवाद तपाईंको समृद्धि दुई मध्य कुनवाद हो ? नवउदारवाद ब्यक्तिको स्वतन्त्रता पुजीवादी अर्थ व्यवस्था । धनीले गरिब माथि बिभेद र भेदभाव गर्ने सबै अधिकार पुजीवादीमा नै हुने नवउदारवाद हो । समाजवाद सबै थोक समाज र राज्य हो । राज्यको सम्पत्ति जनता हो जनताको सम्पत्ति देश हो । जहाँ बिभेद र भेदभाव रहेको हुदैन । साम्राज्यवादले श्रमजीवीको हत्या गर्न प्रयोग गरेको मिसाइल नस्ट र खरानी हुनुपर्छ भनेर भन्छौं ।

अधिकार मात्र होइन हामी स्वाभिमानी पनि बन्ने हो । हामीलाई प्राकृतिक रुपले साथ दिएको जल, जङ्गल, जडिबुटी आदि प्राकृतिक सम्पदा छन् । तर नुनदेखि सुन सम्म विदेशीहरुको भरमा रहनुपर्छ । यो व्यवस्थाको कमजोरी होकि जनताको कमजोरी हो बाबुराम ज्यु ? तपाईंलाई हामीले युद्धको नेता मात्र मानेको होइन तपाईंलाई नेपाल राष्ट्र र नेपाली जनताको भविष्य निर्माताको रूपमा लिएका थियो ।

एक थोपा शरीरमा रगत रहँदासम्म समाजवाद र साम्यवादको लागी लड्नुपर्छ भन्नु भयो । जमिन जोत्ने किसानको हुनुपर्छ भन्नु भयो । खेत रोप्नेको हुनुपर्छ भन्नु भयो । किसान बिद्रोह गर्न तयार भए । महल, कारखाना र पूँजी पसिना बगाउनेकै हुनुपर्छ भन्नु भयो । र मजदुरहरु छापामार बन्न तयार भए । आखिर श्रमिक, किसान र मजदुरहरुले के पाए ? त्यही सपना बाड्ने तपाईंहरु धेरै जना यो देशको प्रधानमन्त्री देखी मन्त्री, सांसद भै सक्नु भएको छ । अनि हामीले पाएको तपाईंको नयाँ शक्ति माओवादी केन्द्र हुदै नेकपा र तपाईंहरुले बिचमा छोडेको अधुरो क्रान्ति पुरा गर्ने भन्दै गठन भएको क्रान्तिकारी पार्टीहरु यहीँ पाएका छौ ।

सपना सानो थिएन थवाङलाई राजधानी हुनुपर्छ भन्नु भयो । सुकुम्बासी र किसानलाई जग्गा, बेरोजगारलाई रोजगार, गरिबलाई गास, बास र कपास हुनुपर्छ भनेर दस्तावेज देखी तपाईंहरुको प्रत्येक भाषण आउँथे । अहिले ति दस्तावेज र भनाइहरु खै कता हराए ? शिक्षा, स्वास्थ्य भनियो, खै सबै कहाँ हराए ? वर्गीय युद्ध भनेका मान्छेहरु वर्ग त वर्ग त्यही श्रमजीवीको खुन पसिना चुस्ने वर्गको पो गुलाम बन्ने भनिएको पो रहेछ नि ? साम्राज्यवादले तपाईलाई बाघ देखेर नै टाउकाको मुल्य गरेका हुन् । यस्तै स्याल भएको भए तपाईंहरुको मुल्य अनुसारको दाम त दिएकै थिए नि ।

यहीँ प्रक्रिया यहीँ व्यवस्था भित्र रहने हो भन्ने जति स्याललाई रङ्गाएर बाँघ बनाएपनि दुई चार दिनमात्र टिकाउ हुन्छ । बाँघको गर्जन र स्यालको रुवाई फरक परेपछि रङ्ग रोगन थाहा हुन्छ । अनि त्यहीँ खुशीयाली धेरै दिन हुँदैन । बाघहरुको कुनै स्वार्थ थिएन । निःस्वार्थ जनताको बीचमा रहने दस्ताबेज थियो । दुखी, गरिब र मजदुरहरु मालिक बन्ने कुरा थियो ।स्याललाई रङ्ग्याएपछि सबै सपना बनेर हरायो ? साच्चिकै छातीमा हात राखेर भन्नुस बाबुराम ज्यु, वर्गीय सत्ताबिना जनताको मुक्ति सम्भब छैन भन्ने तपाईंहरु होइन ? अनि तपाईंहरु वर्गीय एजेन्डा छोडेर व्यक्तिगत जीवनमा फर्किएर विभिन्न नामले खोज्नु पर्दा प्रश्न गर्न मिल्छ कि मिल्दैन ?

तपाईंहरुले बाँडेको सपना पुरा नहुदाँ सर्वहारा वर्गको के स्थिति होला ? घाइते योद्धाहरु घाइते शरीर बोकेर खाडीसहित विभिन्न देश जाँदा परेको पीडा कसले बुझ्ने हो ? अयोग्य साथीहरु अधिकार माग्दै गल्ली गल्लीमा हिड्नु भएको त्यसको जिम्मेवारी तपाईंहरुले नलिए कसले लिने ? गणतन्त्र योग्य त्यही अयोग्यहरुले लडेर लिएको संविधान र तपाईंहरु योग्य हुने । नागार्जुन, शितल निवास, बालकोट, बल्खु सबै योग्य हुने तर श्रमजीवीहरु अयोग्य चैं कहिले सम्म रहने हो ?

राजा महाराजाहरुको निजी सम्पत्ति तपाईहरुलाई थाहा होला तर, सादा जिवन उच्च बिचारका धानीहरुको निजी सम्पत्ति कहिले सम्म लुकिरहने हो ? सादा जीवन उच्च विचारका धनी नेता ज्युहरु आजभोली राजा महाराजा भन्दा धेरै हाइफाई देखिन्छ नि ? वर्गीय जीबन मात्र देख्ने तपाईहरु एकाएक ब्यक्तिगत जीबनतिर फर्किदा आउने समृद्धिको खोक्रा सिद्धान्तमा जनताले साथ दिलान ? सर्वहारा वर्ग रोडमै छन् सबैतिर अन्याय छ । अनि तपाईंहरुलाई कसरी साथ ? समृद्धिको योजना बन्नुहुन्छ तर सिमानामा पिलर हराउँछ बोल्न डाराउछौ भन्ने कसले विस्वास गर्ने ति समृद्धि ? बृहत शान्ति सम्झौता श्रमजीवीहरुको न्यायको लागि भन्दा पनि तपाईंहरुलाई काठमाडौमा शान्तिसँग बाँचेर श्रमजीवीविरुद्ध मोर्चा बनाउन सहज होस् भनेर गरिएको थियो ? होइन भन्ने जनसेना, जनसत्ता र जनअदालत हुँदा त समृद्धि आएन ।अहिले तपाईं संग के त्यस्तोवाद छ जनताले अपेक्षा गर्ने ?

हिजो तपाईंहरुलाई साथ दिएको वर्ग निरास छन् । र हिजो तपाईंको मूल्य तोक्ने बर्ग अहिले तपाईंहरुको मित्र छन् । के त्यही बर्ग परिवर्तनले समृद्धि आउँछ र ? घरबार र दरबारवाट समृद्धि खोज्ने भए उत्पीडित बर्गलाई बीच सडकमा छोडेर त्यही सामन्तवादी समृद्धि किन रोज्नु भयो नि ? आदरणीय डा. बाबुराम भट्टराई ज्यु, तपाईले देखाएको सपना र अपेक्षाहरु अझै ताजै लाग्छ ।

तपाईं जस्तो बिद्वान नेताबाट हामीले अपेक्षा गर्ने समृद्धि कस्तो हो ? १७ हजार भन्दा धेरैको बलिदान भएको छ । ति बलिदानको हत्यारा को हुन् ? हजारौं बेपत्ता पार्ने कहाँ छन् ? हजारौं घाइतेहरुको उपचार कसले गर्ने ? सबैभन्दा ठूलो युग परिवर्तन गर्ने श्रमजीवीहरुको हत्यारा को हो ? यसको उत्तर तपाईँहरुबाट पाउने आशा गर्दछु । पत्रको अन्तिममा छु पत्र लेख्दा लेख्दै रातीको ३ बजेछ बिहानै पसिना संग १२ घन्टा पैसा साट्नु छ । धेरै पढेको भए डा. बाबुराम भट्टराई बनिने डर त्यसैले हातमा ठेला उठाएर भए पनि ज्यान पालेर राज्यलाई कर तिरेको छु । हाम्रो समृद्धि यहिले यस्तै चलेको छ । भन्दै अहिलेलाई बिदा ।उही तपाईंहरुले बिच बाटोमा छोडेको पूर्व जनमुक्ति सेना टिकाराम वली ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo