सिके राउतसँग गरिएको सहमतिको अपव्याख्या गरियो

काठमाडौँ, २७ फागुन । तत्कालीन राजनीतिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले सरकार र चन्द्रकान्त (सिके) राउतसँग गरिएको ११ बुँदे सहमतिलाई अपव्याख्या गरिएको बताउनुभएको छ । सम्वाद चौतारीले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले सहमतिको बुँदा नं २ मा उल्लेख गरिएको जनअभिमत शब्दलाई अपव्याख्या गरेर जनमत सङ्ग्रह बनाइएको बताउनुभयो ।

गत शुक्रबार भएको ११ बुँदे सहमतिको बुँदा नं २ मा तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टीलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने उल्लेख गरिएको छ । ‘‘सरकारले राउतसँग कुनै पनि विषयमा जनमत सङ्ग्रह गर्ने कुरामा सहमति गरेको छैन’’, उहाँले भन्नुभयो, ‘‘जनअभिमतलाई वास्तविक अर्थ लगाउनेभन्दा पनि जनमत सङ्ग्रहको अर्थ लगाउने गरिएको छ । सहमतिमा जनअभिमत शब्दको अर्थ जनमत सङ्ग्रह होइन ।’’

संयोजक पाण्डेले राउतसँगको सहमति प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेताहरुको सहमतिअनुसार नै गरिएको जानकारी गराउनुभयो । ‘‘दुई÷चार दिनको छलफलले राउतसँग सहमति गरिएको होइन’’ उहाँले भन्नुभयो, ‘‘लामो छलफलपश्चात राउतले देश विखण्डन गर्ने कुरा त्याग्ने भएपछि मात्र सहमति गरिएको हो ।’’

सांसद पाण्डेले सहमतिपश्चात राउतका कार्यकर्ताले मधेशमा गरिरहेका गतिविधि तुरन्तै रोक्नुपर्ने बताउनुभयो । उहाँले तत्कालीन वार्ता टोलीले ४४ वटा राजनीतिक समूहमध्ये २९ वटासँग वार्ता गरेको जानकारी गराउनुभयो ।

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले जनअभिमत शब्दले जनमत सङ्ग्रहलाई नै जनाउने भन्दै जनअभिमत शब्दबारे सरकारले जनतालाई स्पष्ट गराउनुपर्ने बताउनुभयो । उहाँले सरकारले राउतसँग गरिएको सहमतिबारे नेकपाभित्र छलफल गरेर गरेको भए राम्रो हुने धारणा राख्नुभयो । ‘‘सरकार र राउतबीच भएको सहमति सत्तारुढ नेकपाभित्र नै विवाद देखिएको छ’’ उहाँले भन्नुभयो, ‘‘यसले गर्दा सरकारले आफ्नै दलभित्र पर्याप्त छलफल भएको देखिएन । सरकारले आफ्नै दललाई समेत विश्वास दिलाउन सकेको देखिँदैैन ।’’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo