सरकार-सीकेबीचकाे ११ बुँदे सहमतिले मधेसलाई ‘क्रिमिया’को बाटोमा लान सक्छ : सहअध्यक्ष श्रेष्ठ

ललितपुर । सङ्घीय समाजवादी फोरम- नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हालै नेपाल सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयाेजक डा सीके राउतसँग गरेको ११ बुँदे राजनीतिक सहमति अमूर्त रहेकाे बताएका छन् ।

उक्त सम्झाैताले मधेसलाई ‘क्रिमिया’को बाटोमा लैजान सक्छ भन्ने चिन्ता व्यक्त गर्दै सहअध्यक्ष श्रेष्ठले सम्झाैता राष्ट्रघाती बन्न सक्ने बताए ।

पार्टीको प्रदेश समितिको आयोजनामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको ३ नम्बरको शिल्पी भेलामा सम्बाेध गर्दै‌ उनले ११ बुँदे सम्झौतामा नेपाल स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भए पनि स्वतन्त्र मधेसको मुद्दामा जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान खोज्ने कुरा अमूर्त रहेको बताए । उनले भने, ‘यो राष्ट्रघातको साधन पनि बन्न सक्छ ।’

नेता श्रेष्ठले क्रिमिया टुक्रेको घट्नाको उदाहरण दिैदै भने, ‘सन् २०१४ मा क्रिमियामा भएको प्रान्तीय निर्वाचनमा बहुमत प्राप्त गरेपछि त्यहाँको प्रान्तीय सरकारले प्रान्तीय सभाको निर्णयको आधारमा स्वतन्त्रताका लागि जनमत-संग्रह गराई स्वतन्त्रता हासिल गरेको र केही समयपछि रुसको २२औँ गणराज्यको रूपमा सामेल हुन पुगेकाे थियाे । देश टुक्राउन नपाइने संवैधानिक व्यवस्थालाई प्रान्तीय निर्वाचनको माध्यमबाट चुनौती दिए ।’

सरकारी-सीकैबीचकाे ११ सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दले त्यही बाटाेमा जान सक्ने उनले संकेत गरे । याे सम्झौताको परिणाम के हुने हो भन्ने सन्दर्भमा सर्तकता पूर्वक नियाल्नु पर्नेमा उनकाे जाेड रह्याे ।

‘रेशमलाई काराबास नश्लीय चरित्र ‘

नेता श्रेष्ठले कार्यक्रममा थरुहट आन्दोलनका नेता रेशम चौधरीलाई आजीवन कारावास गर्नु राज्यको नश्लवादी चरित्र भएको बताउँदै राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्ने बताए ।

त्यसरी नै उनले नेकपा (विप्लव) समुहसँग पनि वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए । उनले एउटा नेकपाले अर्को नेकपालाई प्रतिवन्ध लागाउनु यदुवंशीको झगडाजस्तो भएको बताउँदै विश्वमा कम्युनिष्ट पार्टीहरू आफू आफूमै लडेर समाप्त हुने गरेको बताए ।

श्रेष्ठले शिल्पीहरूको सम्मानजनक पहिचानका लागि आफ्नो पार्टीले कुरा मात्र नगरी व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको कुरा पनि स्पष्ट पारे ।

उक्त कार्यक्रममा पार्टीका उपमहासचिव दानवहादुर विश्वकर्मा, ३ नम्बर प्रदेशका पार्टी अध्यक्ष लालवहादुर तामाङ, मुख्य सचिव तारा विश्वकर्मा लगायतले पनि मन्तब्य दिएका थिए । भेलाले शरण रसाइलीको अध्यक्षतामा १६ सदस्यीय शिल्पी विशेष प्रदेश ३ नम्बर प्रदेश उपसमिति गठन गरेको कुरा शिल्पी विशेषका मुख्यसचिव साजन घटानीले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo