निर्वाचनका बेला बाघ देखिने, सत्तामा पुगेपछि मुसा बन्नेहरूबाट होशियार हुनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा शिक्षाका लागि अभियानप्रति पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएकाे छ ।

सांसद श्रेष्ठलाई काठमाडौँको हनुमानढोकामा एक भब्य कार्यक्रम आयोजना गरी नेपाल भाषाका १५ वटा संघ-संस्थाहरूले सामुहिक रूपमा सम्मान गरेका हुन् ।

सांसद श्रेष्ठले लामो समयदेखि भाषिक अधिकारका लागि चलिरहेको आन्दोलनको मागलाई देशको सङ्घीय संसदमा राख्दै आएका थिए । साथै मातृभाषामा शिक्षाका लागि सम्बन्धित समुदायले नै स्कूल खोल्नुपर्ने गरी ल्याएको सरकारी विधेयकको विरोध गर्दै उनले सङ्घीय गणतन्त्रमा मातृभाषामा शिक्षा दिने जिम्मेवारी सरकारले नै लिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गरेका थिए । साे विधेयकलाई पारित गराउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकाे भन्दै कार्यक्रममा उनकाे प्रशंसा गरियाे ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले सङ्घीय व्यवस्थामा बहुभाषिक नीति कार्यान्वयन गर्नुपर्नेमा स्थानीय तहको अधिकार क्षेत्रमा रहेको माध्यमिक तहमा समेत मातृभाषाबाट शिक्षा दिनुका सट्टा संस्कृतलाई शिक्षाको अलग विधा भन्दै प्राथमिकता दिएकोमा संशोधन प्रस्ताव राखी स्थानीय तहमा बाहुल्यतामा रहेको भाषामा शिक्षा दिलाउने गरी विधेयक संशोधन गर्न विशेष भुमिका खेलेका थिए ।

त्यसरी नै भविष्यमा मुआब्जा दिए पनि हुने गरी सडक विस्तारको नाममा गैरन्यायिक ढङ्गले जनतालाई उठीबास गर्न पाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई पीडितको पक्षमा संशोधनसहित पारित गराउन पनि उनले भुमिका खेलेका थिए ।

उत्पीडित जातिकाे मुक्तिका लागि दिएकाे याेगदान महत्वपूर्ण’

कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले सांसद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुका साथै उनले उत्पीडित समुदायको मुक्तिका लागि खेलेको उत्कृष्ट योगदानको प्रशंसा गरे ।

उनले भने, ‘राजेन्द्र श्रेष्ठ निस्वार्थ रूपमा र निडरका साथ सबै उत्पीडितहरूको आवाज संसदमा घन्काउन सक्ने नेताको रूपमा देखापरेकाले उनी सम्मानयोग्य भएको छ ।’

श्रेष्ठले मातृभाषामा शिक्षाका लागि युगौंदेखि चलिरहेको आन्दोलनलाई सार्थक बनाउन संसदमा कानुन निर्माणका लागि जुन ऐतिहासिक भूमिका निर्वाह गर्यो त्यसलाई जनताले युगयुग सम्म सम्झने छ भन्दै जनकवि दुर्गालाल श्रेष्ठले अरु सांसदहरूलाई पनि राजेन्द्र श्रेष्ठबाट सिक्न अनुरोध गरे ।

अभियान मेराे कर्तव्य हाे : सांसद श्रेष्ठ

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व सांसद श्रेष्ठले आफुले कुनै ठूलो काम गरेको नभई पहिचान सहितको सङ्घीयताका अभियन्ता तथा नेपाल भाषा आन्दोलनको कार्यकर्ता भएको नाताले आफ्नो कर्तब्य मात्र पूरा गरेको बताए ।

उनले सङ्घीय व्यवस्थामा एकात्मक राज्य हुँदा जस्तो सबै तहको शिक्षा केन्द्रको क्षेत्राधिकारमा नभई प्रदेश विश्वविद्यालय र उच्च शिक्षा प्रदेशको क्षेत्रासधकारभित्र र १२ कक्षा सम्मको माध्यमिक शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले अहिले १२ कक्षा सम्म स्थानीय तहले नै मातृभाषामा शिक्षा दिने स्कूल खोल्न पाउने गरी सङ्घीय कानुन बनिसकेको हुँदा अब स्थानीय तहलाई स्कूल खोल्नका लागि झकझकाउन अनुरोध गर्नुका साथै नखोले आन्दोलन गर्नुपर्ने बताए ।

नेता श्रेष्ठले एक समय तमुवान मगरात भन्दै पहिचानको आन्दोलनमा लागेका मुख्यमन्त्रीले ४ नम्बर प्रदेशलाई पार्टीको आदेश भन्दै गण्डकी नाम राखेर पहिचानको आन्दोलनलाई धोका दिएको बताए । उनले १ नम्बरमा पनि त्यहाँका मुख्यमन्त्रीले पहिचानयुक्त नाम राख्नुको सट्टा आफ्नो मालिकको निर्देशन पर्खेर बसेको बताए ।

बाघ मुसाे बन्ने प्रवृत्तिदेखि हाेशियार’

सांसद श्रेष्ठले निर्वाचनका बेला पहिचानको मुद्दामा बाघजस्तो गरी गर्जने तर सत्तामा पुगेपछि पार्टी नेताहरूसामु मुसा जस्तो बन्नेहरूबाट होशियार हुनुपर्ने बताए ।

उनले ३ नम्बर प्रदेशमा नेकपालाई भोट हालेर ३ नम्बर प्रदेश नेवाःताम्सालिङ वा नेपालमण्डल भनेर भन्नेहरू हाँसोका पात्र मात्र भएको भन्दै उनले भने, ‘तितो फल रोपेर मिठो फल फल्दैन ।’

संयुक्त सम्मान कार्यक्रमका संयोजक श्रीकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवाः अगुवा तथा राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, नेपालभाषा मिसा खलःका अध्यक्ष मंगला कारंजीत, नेपालभाषा मंका खलः ललितपुरका अध्यक्ष ऋपि प्रसाद श्रेष्ठ लगायतया वक्ताहरूले पनि संसदमा सांसद श्रेष्ठको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रम अभियानका सचिव विद्या चित्रकारले सञ्चालन गरेका थिए भने स्वागत शिक्षा गुथिका अध्यक्ष विष्णु चित्रकारले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo