श्रीलंकामा संकटकालको घोषणा ,इस्लामिक समुहले हमला गरेको हुनसक्ने आशंका

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा परी सयौंको मृत्यु भएपछि संकटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यकाअनुसार सोमबार रातिदेखि संकटकाल लागू हुनेछ ।

श्रीलंकामा आइतबार भएका विस्फोटका घटनाहरुमा परी झन्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको हो ।

राष्ट्रपति कार्यालयको सन्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि संकटकाल घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेको सन्चार विभागले जनाएको छ ।

बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् ।

गिर्जाघरमा विस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

राजधानी कोलम्बोमा रहेका तीनओटा पाँचतारे होटल र दुईओटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्याह्नसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।

घटनामा परी अन्य ५०० भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।

श्रीलंकाली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।

प्रहरीकाअनुसार विस्फोटमा संलग्न भएको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।

स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटमा जिम्मेवार रहेको बताएका छन् ।

उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरे ।

घटनामा परी मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानीनजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए ।

यस्तै, राजधानीका पाँचतारे होटल सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए ।

सुरक्षाकर्मीहरुले राजधानीस्थित बसपार्कबाट सोमबार साना–ठूला गरी ८७ ओटा विस्फोटक पदार्थहरु फेलापरेको जनाएका छन् । रासस/सिन्ह्वा/एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo