कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
1. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।

2. कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ?

सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
3. कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ?

जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
4. कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो?

व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
5. कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ?

पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
6. कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ?

कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
7. खाडल कहिले खन्ने?

बैशाख महिना भित्र ।
8. खाडल कहिले भर्ने?

जेठ महिना भित्र ।
9. विरुवा कहिले रोप्ने?

आषाढ महिनामा।
10. मलखादको प्रयोग कति गर्नु पर्छ?

प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
11. कागतीको कस्तो जात छनौट गर्नु पर्छ?

ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।

12. कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ?

४० देखि ५० बर्ष सम्म।
13. कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ?

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
14. सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने?

पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
15. वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ?

१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
16. मलखाद दिने तरिका के हो?

विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।
17. कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो?

विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।
18. कागतीको फल टिप्न उपयुक्त समय के हो?

विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।
19. कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन?

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन |
20. कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने?

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
21. कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने?

कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
22. कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने?

कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
23. कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने?

कागतीको  मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने |
24. कागतीमा लाग्ने रोगहरु कुन कुन हुन?

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन |
25. कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो?

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने |

कृषि पत्रीकाको सहयोगमा