बिदेशी बुहारीको विषयमा भयो चर्काचर्की…

२५ भदौ .काठमाडौं ।
बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने आवाज उठेको छ । यही विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चर्काचर्की भएको छ ।

उनीहरुले एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै बैबाहिक अङ्गीकृत नागरिकता दिनेबारे कडा प्रावधान राख्नुपर्नेमा माग गरेका हुन् ।

छलफलमा भाग लिँदै नेकपा सांसद झपट रावलले विदेशी महिलाले नेपालमा विहे गरेर आएको १० देखि १५ वर्षपछि मात्रै वैबाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने धारणा राखे ।

भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स लगायतका देशको उदाहरण दिँदै उनले नेपालमा मात्रै एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिनेखालको व्यवस्था गर्न नसकिने बताए ।

उनले माल्दिभ्समा त धर्म नै परिवर्तन नगरेसम्म विदेशी बुहारीले नागरिकता पाउन नसक्ने व्यवस्था रहेको उल्लेख गर्दै भुटानमा पनि बच्चा जन्माएपछि मात्रै नागरिकता दिने व्यवस्था भएको दृष्टान्त पेश गरे । उनले भने, ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने काम गर्नु हुँदैन । कम्तिमा पनि बिहे भएको १० देखि १५ वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान राखिनुपर्छ ।’

यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि कम्तिमा पनि १५ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गरिनुपर्ने धारणा राखे ।

तर, काँग्रेस सांसद देवेन्द्रराज कँडेलले कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखे । नेपाल चीनतिर ढल्किएको भन्ने टिकाटिप्पणी हुँदै आएको बेला कडा प्रावधानको कुरा ल्याउँदा नेपाल–भारतको सम्बन्धमा समेत असर पुग्ने उनको चेतावनी थियो । नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै कडा प्रावधान राखिँदा ठूलो असर पर्ने उनले धारणा राखे ।

नेकपा सांसद पम्फा भुसालले भने अङ्गीकृत नागरिकतामा कडा प्रावधान राख्नुभन्दा पनि भारतसँगको खुला सिमाना सील गर्नुपर्ने धारणा राखिन् ।

समाजवादी पार्टीका सांसद रामसहाय यादवले विदेशी महिला नेपाली बुहारी बनेर आएपछि नागरिकता दिँदा के असर पर्छ भन्दै प्रश्न गरे । उनले कडा प्रावधान राखिए आफूहरु चुप लागेर नबस्ने पनि चेतावनी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo