दिल्ली भ्रमणको अनुभवः भारतीय ‘रुलिङ क्लासले’ नेपालमा अझै भूमिका खोज्दैछ

मैले बोलेको कुरा दूताबासमा रेकर्ड छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, ७ फागुन । आज फागुन ७ गते । ‘दिल्ली सम्झौता’ भई नेपालमा प्रजातन्त्र आएको आज ६७ वर्ष लागेको छ । तर, आधा शताब्दी बित्दासम्म भारतीय शासक वर्गले नेपाललाई हेर्ने नजरमा खासै परिवर्तन नआएको महसुस अधिकांश नेपालीहरुले गरिरहेका छन् । माओवादीका बरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि अघिल्लो साता दिल्ली भ्रमणका बेला यस्तै महसुस गरेछन् ।

दिल्लीबाट फर्केपछि नेता श्रेष्ठलाई अनलाइनखबरले सोधेको छ-नेपालसम्बन्धी भारतीय नेताहरुको बुझाइ कस्तो रहेछ ? श्रेष्ठले निचोड सुनाउँदै भने- ‘मुख्य कुरा, जो उहाँहरुले खुलारुपमा भन्नुहुन्न, नेपालमा ऐतिहासिक-राजनीतिक घटनाक्रम जो अगाडि बढ्छ, भारतको भूमिका त्यहाँ हुनुपर्छ, भन्ने उहाँहरुको अन्तर्यमा छ ।’

नेपालका नेताहरुले पनि भारतीय पक्षसँग आफ्ना कुराहरु प्रष्टसँग राख्न डराएको श्रेष्ठको विश्लेषण छ । माओवादी पार्टीको प्रवासी संगठनको सम्मेलनमा भाग लिन दिल्ली जाँदा पूर्वमन्त्री श्रेष्ठले यसपालि भारतीय नेतालाई भेटेर ‘माइक्रो म्यानेजमेन्ट’ नगर्न चेतावनी दिएका छन् ।

माओवादी नेता श्रेष्ठले भारतीय नेतालाई एक्लै भेटेनन् । उनले राजनीतिज्ञबाहेक एजेन्सीका मानिसहरुलाई भेटेनन् । उनले दिल्लीस्थित नेपाली दूताबासका डीएसीम कृष्ण ढकाललाई साथैमा राखेर मात्रै भारतीयहरुसँग कुरा गरे, जुन नयाँ परम्पराको थालनी हो । शायद यही खुशीमा हुनुपर्छ, नेपाली दूतावासले पनि नेता श्रेष्ठको स्वागतमा बेग्लै कार्यक्रम आयोजना गर्‍यो । श्रेष्ठले भने- ‘मैले भारतीयहरुसँग प्रष्टसँग कुरा राखेको छु र नेपाली दुतावाससँग यसको रेकर्ड छ । मैले गुप्तरुपमा कसैलाई भेटिनँ, नेपालको हित विपरीत बोलिनँ ।’

माओवादी पार्टीभित्र राष्ट्रवादी धारका नेताका रुपमा परिचित पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले दिल्ली भ्रमणका क्रममा के-कस्तो अनुभूति गरे ? यसैमा केन्द्रित रहेर अनलाइनखबरले गरेको कुराकानीः

तपाईको दिल्ली यात्रालाई धेरैले भारतसँग सम्वन्ध सुधार गर्ने प्रयासका रुपमा हेरेका छन्, के यो सत्य हो ?

म अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा भाग लिन गएको हुँ । त्यो ५ महिनाअघि नै निश्चित भएको कार्यक्रम हो । र, मसँग समय लिएर नै त्यो कार्यक्रम तय गरिएको थियो । त्यसकारण यो एक्कासी बनेको होइन, पूर्वनिर्धारित कार्यक्रम हो ।

तर, तपाईले भारतीय नेताहरुसँग पनि भेटघाट गर्नुभयो, ‘पशुपतिनाथको यात्रा सिद्राको ब्यापार’ भनेजस्तो मात्रै भएको हो त ?

नेपालको उच्चस्तरीय राजनीतिक नेतृत्वले, हामीले हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा प्रष्ट-प्रष्ट कुरा गर्नेमा पनि शायद केही कमीकमजोरी भएको हो कि भन्ने अनुभूत गरेको छु

आफ्नो मूल उद्देश्य पूरा भइसकेपछि दिल्लीमा गएका बेला भारतका राजनीतिक नेता, बुद्धिजिवी, कूटनीतिज्ञ एवं पत्रकारसँग छलफल गर्ने उपयुक्त समय मिल्छ भने राम्रो नै हुन्छ भन्ने ठानेँ र पहल गरेको हुँ । मैले दिल्ली जानु अगाडि भेटका लागि समय मिलाएको थिइनँ । नेपाली दूताबासलाई पनि भनेको थिइनँ । त्यहाँ गएपछि सल्लाह गर्‍यौं र आएका बेला देशका तर्फबाट आफ्नो दृष्टिकोण, अडान वा नेपाल भारत सम्वन्धबारे छलफल गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेर पहल गरिएको हो ।

भारतीय नेतासँगको भेटपछि नेपालबारे उनीहरुको बुझाइ कस्तो पाउनुभयो ?

मैले तीनवटा कुरा महसुस गरेको छु । एउटाः भारतमा नेपाल -भारत सम्वन्धलाई लिएर धेरै तथ्यहरु सही ढंगले पुगेको छैन । र, सरकारको पोलिसी जे बन्छ, त्यो नै प्रतिपक्ष, बुद्धिजीवी र पत्रकारले बोलेको देखिन्छ । पहिलो कुरा त, हामीले नेपाल भारत सम्वन्धका सन्दर्भमा कस्तो दृष्टिकोण राख्छौं र जे जति जटिलताहरु देखा परेका छन्, त्यो किन हो भन्ने राम्रो सम्प्रेषण गर्न सकेका रहेनछौं । सबै मानिस त भारतीय शासक वर्ग बनेर कडाइपूर्वक हाम्रा स्वार्थका निम्ति यसो गर्नुपर्छ भनेर तयार भएको मलाई लागेन । सूचनाको धेरै अभाव छ । र, छलफल गरेर हामीले आफ्ना कुरा प्रष्टसँग राख्न नसकेको अनुभूति भयो ।

दोस्रो, आफ्नो राष्ट्रिय स्वार्थका निम्ति सरकारले राम्रो गरेकै होला भन्ने र सकेसम्म हाम्रो विदेश नीति, राष्ट्रिय स्वार्थमा एकतावद्ध भएर जानुपर्छ भन्ने भाव भारतीयहरुमा जबरजस्त भएको देखेँ ।

साथै राजनीतिक र जनस्तरमा पनि यस्ता मित्र र शुभेक्षुकहरु छन्, जो नेपाल भारत सम्वन्धलाई असाध्यै महत्व दिन्छन् । र, नेपालमाथि भारतद्धारा हेपाहा व्यवहार भएको र अन्याय भएको पनि महसुसर गर्छन् । र, नेपालको पक्षमा बोल्छन् ।

तेस्रो, नेपालको उच्चस्तरीय राजनीतिक नेतृत्वले, हामीले हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा प्रष्ट-प्रष्ट कुरा गर्नेमा पनि शायद केही कमीकमजोरी भएको हो कि भन्ने अनुभूत गरेको छु ।
त्यसो गर्दा हाम्रो छिमेकीको हितविरुद्ध नजाने तर, आफ्नो सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र हितको पक्षमा दृढतापूर्वक खुला र प्रष्ट गर्न पनि कमजोरी भएको अनुभूति गरेँ ।

नेपालले भारतीयहरुसँग आफ्ना कुरा प्रष्टसँग राख्न नसकेको महसुस गरें भन्नुभयो, यसमा कसको कमजोरी छ ? दिल्लीमा रहेको नेपाली दूताबास ? या समस्या अन्तै छ ?

मधेसको वास्तविक हितमा भारतका हाम्रा मित्रहरु कति हुनुहुन्छ, त्यो वेग्लै कुरा हो । तर, मधेसको कुरा उहाँहरु धेरै गर्नुहुन्छ । मधेसलाई धेरै असमान व्यवहार गरियो, अहिलेको संविधानले पनि धेरै भेदभाव गर्‍यो भन्ने परेको जस्तो प्रस्तुत गर्नुहुन्छ, जो वास्तविकता होइन

मुख्य समस्या नेपालको उच्च राजनीतिक नेतृत्वमा देख्छु । मूलभूतरुपमा सरकारले नै भइहाल्यो । तर, समग्रमा नेपालको राजनीतिक दलहरुको उच्च नेतृत्वले सहमतिमा नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र हितको पक्षपोषण गर्ने परराष्ट्र नीति बनाउन नसक्नु एउटा समस्या हो ।

दोस्रो, जे जति हाम्रा समझदारी हुन्छन्, यसमा पनि स्पष्ट, खुला र दृढतापूर्वक आफ्ना कुरा राख्न नसक्नु राजनीतिक स्तरकै कमजोरी हो भन्ने लाग्छ । यसमा एउटा हीनताग्रन्थीले काम गरेको छ कि हामीले सानो देश, कमजोर देश भएर आफ्ना कुरा राख्यौं भने केही अफ्ठ्यारो भोग्नुपर्छ कि भन्ने ।

आजको २१ औं शताब्दीमा हामीले आफ्नो राष्ट्रिय सार्वभौमिकता र हितका पक्षमा प्रष्ट कुरा राख्दा हामी अप्ठ्यारोमा पर्छाैं कि भन्ने सही होइन, यो भित्रैदेखि बुझ्नुपर्ने आवश्यक थियो, यसमा कमजोरी भएको छ ।

हामीले प्रष्ट गर्न सक्नुपर्छ कि तपाईहरु (भारत) र हामी (नेपाल) पनि आफ्नो राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा उभिनु हाम्रो राष्ट्रिय कर्तव्य हो । यसो गर्दा तपाईहरुको संवेदनशीलता र जायज सरोकार छन् भने र यो नेपालको राष्ट्रिय सार्वभौमिकता र हित विपरीत छैन भने पूरा गर्न तयार छौं । तयार छौं मात्र होइन, सम्बोधन नै गर्ने भइयो भने हामीलाई केही अप्ठ्यारो पर्दैन, बरु नेपाल-भारत सम्वन्धलाई हाम्रो राष्ट्रिय हितको प्रवर्दन गर्दै दुई देशको सम्वन्ध अघि बढाउन त्यसले मद्दत गर्छ ।

नेपालबारे भारतीयहरुसँग के-कस्ता भ्रम वा गलत बुझाइहरु रहेछन् ?

यसमा तीन चारवटा कुराहरु छन् ।

मुख्य कुरा, जो उहाँहरुले खुलारुपमा भन्नुहुन्न, नेपालमा ऐतिहासिक-राजनीतिक घटनाक्रम जो अगाडि बढ्छ, त्यसमा हाम्रो निर्णायात्मक भूमिका हुनुपर्छ भन्ने कुरा नै भारतको रुलिङ क्लासमा छ

एउटाः मधेसको वास्तविक हितमा भारतका हाम्रा मित्रहरु कति हुनुहुन्छ, त्यो वेग्लै कुरा हो । तर, मधेसको कुरा उहाँहरु धेरै गर्नुहुन्छ । मधेसलाई धेरै असमान व्यवहार गरियो, अहिलेको संविधानले पनि धेरै भेदभाव गर्‍यो भन्ने परेको जस्तो प्रस्तुत गर्नुहुन्छ । कति वास्तविक परेको हो, कति मधेसको पक्षमा आफूलाई देखाउन गरेको हो यो छुट्टै अध्ययनको विषय हो । तर, उहाँहरुले अतिरञ्जित तरिकाले मधेसमा भेदभाव भएको कुरा गर्नुहुन्छ । जो वास्तविकता होइन ।

जस्तो मैले नै नागरिकताबारे कुरा गरेपछि उनीहरु आश्चर्यमा परे । हाम्रो एउटा नेपाली महिलाले भारतीयसँग बिहे गरेपछि नागरिकताका लागि ७ वर्ष कुर्नैपर्छ । त्यसपछि पनि नागरिकता पाउने निश्चित छैन । हामीकहाँ नेपाली पुरुषसँग बिहे गरेको त भोलिपल्टै नागरिकता पाइन्छ ।

एउटा भारतीय महिलाले नेपालको नागरिकसँग बिहे गर्‍यो भने मैले भारतीय नागरिकता परित्यागको प्रक्रिया चलाएको छु भनेर निवेदन दिएपछि नेपालको नागरिकता पाइहाल्यो । यति लचिलो छ । अनि नागरिकतामा पनि मधेसीलाई समस्यामा पर्‍यो भन्नुहुन्छ भने कहीँ मिल्ने कुरै छैन ।

भेटका क्रममा कतिपयले राष्ट्रपति, प्रधानमन्त्री हुन पाइँदैन नि भने । तर, मधेसीलाई कहाँ नपाइने भनेको छ ? अंगीकृत नागरिकले पो हो त ।

त्यस्तै गरेर अरु पनि, समानुपातिक समावेशी अधिकार सबैलाई समान दिएको छ । तर, भारतीयहरुचाँहि मधेसीलाई त्यसमा पनि भेदभाव गरेको छ भन्छन् । त्यसैले जे प्रचार भएको छ, र जे उहाँले आफूलाई परेको जस्तो गरेर प्रस्तुत गर्नुहुन्छ, त्यो गलत छ ।

उहाँहरुले थप गर्ने कुरा, सीमांकनको हो । मैले भनें कि मधेस मात्रै एउटा यस्तो प्रदेश हो, जुन निश्चित समुदायलाई सम्बोधन गर्न बनाइएको हो । जहाँ मधेसी समुदायको दुई तिहाई बढी बहुमत प्रष्ट छ । अरु कसैले त्यस्तो प्रदेश नै पाएका छैनन् ।

दोस्रो, भारतीय नेताहरु नेपालमा चीनको प्रभाव बढेको, चीनतिर ढल्किएको भन्ने कुरा गर्नुहुन्छ । कतिपयले ‘यसो पनि भन्छन् नि’ भनेर त कतिले ‘यस्तो होइन र’ भनेर आफ्नो विचार राखे । मैले प्रष्ट भनेको छु कि नेपाल चीन र भारत दुबैसँग राम्रो, असल र मैत्रिपूर्ण सम्वन्ध राख्न चाहन्छ । यसमा हामी कहीँ कतै विचलनमा छौं कि भन्ने शंका गर्नुपर्दैन । हामीले कुनै एउटा देशसँग मात्र सम्वन्ध राख्ने वा एउटा विकल्प अर्को सोच्यौं भने वा कुनै कार्ड खेल्ने सोच्यौं भने त्यो हाम्रै लागि घातक छ र धेरै हानीकारक हुन्छ भन्नेमा हामी प्रष्ट छौं । त्यसैले हामी दुबै देशसँग राम्रो सम्वन्ध राख्न चाहन्छौं ।

तर, चीनसँग मित्रता भयो भने वा कुनै सम्झौता भयो भने त्यो भारतविरुद्ध भयो भनेर सोच्ने चिन्तन गलत छ । त्यसले मात्र हामीलाई चीनतिर ढल्किएको देख्छ ।

जस्तो-पारवहन सम्झौता हामीले चीनसँग पनि गर्‍यौं । यसले भारतलाई घाटा पुग्छ ? भारतको स्वार्थमा घाटा पुग्छ ? पुग्दैन । ओहो चीनसँग पारवहन सम्झौता भनेर तपाईहरुले किन सोच्ने ? हामीले उहाँहरुलाई यो कुरा प्रष्ट भनेका छौं ।

तेस्रो, भारतीयहरुमा के देखियो भने नेपालमा क्रिष्टियानिटी बढ्यो भन्ने चासो । विशेष गरेर अहिले जो सत्तामा छ, भारतीय जनता पार्टीको अलि बढि सोच आइरहेको छ कि क्रिष्टियानिटी बढाउने काम भयो ।

तर, यसमा हामीले उहाँहरुलाई भन्यौं कि धर्म निरपेक्षताले क्रिष्टियानिटी बढाउँछ र ? बढाउँदैन । बरु हाम्रो कमजोरी होला, कुनै एउटा धार्मिक समुदायले आर्थिक प्रलोभन वा अरु कुनै प्रलोभनमा विशेष योजना अनुसार धर्म प्रचार अभियान चलाएको छ भने राज्यले निगरानी राख्नुपर्छ, त्यो जुनसुकै धर्मको कारणबाट होस् । धर्म व्यक्तिको स्वतन्त्र इच्छा, निष्ठाको कुरा बन्नुपर्छ ।

यी विषयहरुमा उहाँहरुको चासो र बुझाइ पाइयो । तर, मुख्य कुरा, जो उहाँहरुले खुलारुपमा भन्नुहुन्न, नेपालमा ऐतिहासिक-राजनीतिक घटनाक्रम जो अगाडि बढ्छ, भारतको भूमिका त्यहाँ हुनुपर्छ, भन्ने उहाँहरुको अन्तर्यमा छ ।

भारतीयहरुमा यस्तो सोचाइ अझै बाँकी नै रहेछ ?

छ । ००७ सालमा पनि हामीले गरेको हो । ०४७ मा पनि गरेको हो । ०६२/६३ मा पनि हाम्रै हो । र, अब जसरी राजनीतिक घटनाक्रम अगाडि बढ्छ, त्यसमा हाम्रो निर्णायात्मक भूमिका हुनुपर्छ भन्ने कुरा नै भारतको रुलिङ क्लासमा छ । भारतीय शासकको यो अवधारणाद्वारा भारतीय समाज पनि प्रभावित छ ।

तर, आज जनता, जसले धेरै कुरा बुझेका छैनन् र बुद्धीजीवीहरुले पनि धेरै चासो राखिरहेका छैनन् । यो प्रचारबाट प्रभावित छन् । यसमा प्रष्टरुपमा छलफल गर्ने, कुसल कूटनीतिद्वारा प्रष्ट पार्ने र सही ठाउँमा ल्याउने प्रयत्न गर्‍यो भने असम्भव छैन । किनभने नेपाल भारतको सम्वन्धको विकल्प अझ राम्रो नेपाल भारत सम्वन्ध नै हो भनेर हामीले अझ प्रष्ट गर्न सक्नुपर्छ । नेपाल भारत सम्वन्धको विकल्प नेपाल चीन वा अरु कुनै देशको सम्वन्ध होइन ।

चीनसँग पनि हामीले असल मैत्री सम्वन्ध कायम गर्नुपर्छ । चीनसँग मैत्रीसम्वन्ध कायम नगर, भारतसँग मात्र होस् भन्ने कसैको चाहना छ भने त्यो पूरा गर्न मिल्दैन र सकिन्न पनि । अहिलेको विश्वमा त्यो हुनै सक्दैन ।

चीन र भारतकै बीचमा थुप्रै विवादहरु छन् तर, दैनिक सम्वादमा बसिरहेका छन् र त्यत्रो आर्थिक अन्तरक्रियामा छन् भने हामीले पनि चीनसँग सम्वन्ध त राम्रो राख्नैपर्छ । तर, चीनसँगको सम्वन्धको आफ्नै पक्ष छ भने भारतसँगको सम्वन्धको पनि आफ्नै पक्ष छ । एउटालाई अर्कोको निम्ति प्रतिस्थापन गर्ने शक्ति हुन सक्दैन भन्ने हामीले राम्रोसँग बुझाउन सक्नुपर्छ ।

भारतसँग त हाम्रो खुला सीमा छ । सामाजिक, सांस्कृतिक पक्षको सम्वन्ध, आर्थिक सम्वन्ध पनि छ । भौगोलद्वारा निर्दिष्ट पक्ष छन् । यो सबैको परिप्रेक्ष्यमा नेपाल-भारत सम्वन्ध असल बनाउनु मात्रै हाम्रो विकल्प हो । त्यो कसरी हुन्छ भनेर बहस चलाउन सक्नुपर्छ ।

तर, संविधान जारी गर्ने क्रममा पनि भारतले आफ्नो भूमिका खोज्यो । यसलाई प्रमुख दलहरु मिलेर अस्वीकार गर्दा नाकाबन्दीसम्म भोग्नुपर्‍यो । अहिले त्यो नाकाबन्दीसम्मको कदम भारतकै हितमा रहेनछ भन्ने उनीहरुको समीक्षा हुँदाहुँदै पनि अझै हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नै अझै चाहेका रहेछन् कि ? जस्तो संविधान संशोधनमा पनि भारतले चासो राखिराखेको देखिन्छ नि ?

मैले के भनेको छु भने हाम्रो यो स्थिति छ, के गरौं होला भनेर छलफल गरिनँ । मैले नेपाल-भारत सम्वन्धका समस्या कहाँ छन् र त्यसलाई समाधान गर्दै दुई देशको सम्वन्धलाई अझ राम्रो, नयाँ उचाइमा कसरी पुर्‍याउन सकिन्छ भनेर आधार प्रस्तुत गरेँ ।

त्यही क्रममा जस्तो कि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको सुक्ष्म व्यवस्थापनमा रुची राखेका कारणले नै नेपाल भारत सम्वन्धमा मुलभूत रुपमा समस्या उत्पन्न भएको हो भनें । एउटा सार्वभौमसत्ता सम्पन्न देश नेपाल र त्यसका सार्वभौम जनताले जे निर्णय गर्छ, त्यसको हामीले सम्मान गर्नुपर्छ भन्ने दिशामा भारत जानसाथ नेपाल भारत सम्वन्धमा राम्रो आयाम थपिन्छ र, नयाँ उचाईमा जान सक्छ भनेर भनेको छु ।

त्यसक्रममा मैले हामीले संविधान घोषणा गर्ने क्रममा जुन दबाव खप्नुपर्‍यो, त्यसलाई झेलेर संविधान जारी गर्दा नाकाबन्दीसम्म भोग्नुपर्‍यो । त्यसलाई पनि झेल्दै अगाडि बढिरहेका छौं र अब त्यस्तो स्थिति आउँदैन भनेर हामी सोच्छौं र हाम्रो प्लान तीनबुँदे छ भनेको छु ।

एउटा, हामीसँग अब समय छैन । स्थानीय चुनाव घोषणा गरे जान्छौं । दोस्रो, संविधान संशोधन प्रक्रिया, मधेस केन्द्रीय पार्टीहरुलाई पनि सम्बोधन गरेर सबैलाई साथमा लिएर चुनावमा लैजाने उद्देश्यले ल्याइएको हो, त्यसलाई पनि हामी निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्छौं ।

र, तेस्रोः हामी त्यसपछि चुनाव गर्छौं । यो कुरा हो हाम्रो भनेको छु ।

यहाँ तपाईहरु यसो नगर्नुस् भन्ने काम कसैले गर्नुभएन । तर, छलफलका क्रममा विभिन्न प्रस्तुतिले के अर्थ होला भनेर बुझ्न नसकिने त होइन । धेरैले यो गर्नुस्, चुनाव भएन भने अब खतम हुन्छ नै भने । ‘गुडलक’ भन्ने शब्द नै प्रयोग गर्नुभो । कतिपय छलफलहरुमा चाहिँ आन्तरिम मामिलामा हस्तक्षेप, सुक्ष्म व्यवस्थापन रोकिनुपर्‍यो, त्यसो भएपछि मात्र नेपाल भारत सम्वन्ध राम्रो हुन्छ भन्दा वा अब हामी त चुनाव गरेर जाने भयौं भन्दा एकदमै सकारात्मक प्रतिक्रिया सबैबाट पाउने अपेक्षा मैले गरेको थिइनँ र कतिपय भेटघाटमा त्यस्तो पनि देखियो ।

संविधान बन्ने अन्तिम क्षणमा दिल्लीबाट आएका दूतले यसो गर, उसो गर भन्न थालेपछि नेपाल-भारत सम्वन्धमा तनाव सुरु भयो । र, संविधान घोषणापश्चात नाकाबन्दीसम्म लागेपछि यो निकै उत्कर्षमा पुग्यो । नेपालको आन्तरिक मामिलामा भारतीयहरुको जुन अनावश्यक चासो थियो, त्यो कायमै रहेछ या उनीहरुले यसमा गल्ती महसुस गर्न थालेछन् ?

एउटा कुरा त बाहृयरुपमा पनि देखिसकिएको छ कि उनीहरुले औपचारिक घोषणा नगरे पनि नाकाबन्दीसम्मको घटना क्रम देखियो, त्यो भारतको तर्फबाट गल्ती थियो र भारतलाई नै प्रत्युत्पादक भयो भन्ने उनीहरुको निष्कर्षका आधारमा नीति निर्णयमा परिर्वतन भएको छ ।

दोस्रो कुरा, छलफल गर्दा मैले के पाएँ भने धेरै ठूलो हिस्सामा भित्रदेखि ‘रियलाइजेशन’ छ । नेपालजस्तो मित्रलाई हामीले त्यसो गर्नुहुन्थ्यो ? त्यो पनि हामीले तेल ध्यू पुर्‍याउनुपर्ने बेलामा चाडपर्वलाई पनि असर पार्ने गरी ? कतिपय मित्रले त खुलेर भन्नु भो कि भारतले ‘ब्लन्डर’ गर्‍यो ।

तर, जसले यो निर्णय गर्‍यो, भित्र अलिकति पोलिसी सिफ्ट गरिसकेको अवस्थामा पनि त्यसको हृयाङओभर बाँकी नै छ भन्ने देखिन्छ । तर, त्यो छलफल गरेर, कूटनीतिक ढंगले प्रभावकारी भूमिका अगाडि बढाएर हल गर्नै नसक्ने ठाउँमा छ भन्ने मलाई लागेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo