धनकुटामा चिज बनाउन दूधको कृतिम अभाव

धनकुटा खबर । खराव बाटोका कारण दुध संकलनमा र ढुवानी समस्याका भएकाले धनकुटाका चिज उद्योगहरुलाई दुध आपूर्तिमा समस्या देखिएको छ ।

प्रशस्त दुध उत्पादन हुने धनकुटामा आर्थिक बर्ष ०७३÷०७४ मा ५२ करोड ३३ लाख २० हजार बरावरको १३ हजार ८३ मेट्रिकटन दुध उत्पादन भएको छ । जसमा आन्तरीक खपत पछि धनकुटाबाट २९ करोड ४३ लाख ६८ हजार बराबरको ६ हजार ५ सय ४२ मेट्रिकटन दुध जिल्ला बाहिर निकासी भएको पशु कार्यालय धनकुटाको तथ्यांक छ ।

तर पनि धनकुटाका चिज उद्योगहरुलाई भने दुध अभाव र आपूर्तिमा समस्या देखिएको छ । जिल्ला पशु कार्यालयका निमिक्त प्रमुख झविन्द्र मरासिनीका अनुसार चिज बनाउन गाईको दुध मात्र उपयुक्त मानिन्छ तर चिल्लो पदार्थ बढी हुने भएकोले भैसीको दुधको चिज बनाईंदैन ।

गाईको दुधमा ३ दशमलव ५ देखि ४ प्रतिशत सम्म फ्याट(चिल्लो)पदार्थको मात्र हुन्छ जुन चिजको लागि उपयुक्त मानिन्छ । तर भैसीको दुधमा ७ देखि ८ प्रतिशत सम्म फ्याट हुने भएकाले यसबाट बनेको चिज कम गुणस्तरको मानिन्छ ।

अन्य परिकार र खानको लागि प्रयोग हुने दुध चिस्यान केन्द्रमा २ वा ३ दिन सम्म राखेर आपूर्ति गर्न मिल्छ तर चिजको लागि गाईको ताजा दुध नै चाहिन्छ ।

जसको लगि उद्योगहरुले बिभिन्न गाउँहरुबाट दुध संकलन गरेर ल्याउनुपर्ने हुन्छ । उद्योगहरुले गाउँबाट दुध संकलन गरेर ल्याउने संकलकहरुलाई प्रति लिटर रु ३ देखि ५ सम्म दिने गरेका छन् । तर संकलकहरुले एकै ठाउँको गाईको दुधले मात्र ढुवानीको मात्रा(भार) नपुग्ने भएकाले उनीहरुले बिभिन्न गाउँबाट भैसीको दुध समेत संकलन गरेर दुवानी सेवा दिने गरेका छन् ।

यसरी ढुवानी संगै दुध मिसिएर आउने भएका कारण सुद्ध गाईको दुध अभावमा छथर जोरपाटी स्थित कामधेनु दुग्ध बिकास सहकारी संस्थालाई समस्या भएको छ ।

दैनिक ५ हजार लिटर दुध संकलन गरेर निकासी समेत गर्ने यस सहकारीले गाईको दुध अभावमा दैनिक १ हजार ६ सय लिटरको मात्र चिज बनाउने गरेको संस्थाका प्रमुख योगेन्द्र बहादुर भट्टराईले जानकारी दिए ।

भट्टराईले भने ‘३ रुपैंया भन्दा धेरै दुवानी दिउँ हामीलाई फाईदा नहुने त्यतिमा गाईको दुध मात्र ढुवानी नगरिदिने भएकाले दुध अभाव छ ।’

दैनिक २ हजार लिटरको १ सय ८० केजी भन्दा बढी चिज बनाउने क्षमता भएपनि गाईको दुध अभावमा उद्योगले हाल १ सय १५ केजी भन्दा बढी बनाउन नसकेको उनले बताए ।

पूर्वको तेह्रथुम,सुनसरी,मोरङ्ग,झापा,ईलाम सहित धनकुटामा पनि २०६६ सालमा ३ करोडको लगानीमा स्थापना भएको यस संस्थाले दुध अभावमा चिजको माग धान्न नसकेको भट्राईले बताए ‘४५ दिन पुरा भएको चिज मात्र प्राय खाईन्छ’ उनले भने ‘तर कम चिज उत्पादन भएकोले २० दिनमा नै बेच्ने गरिएको छ ।’

गाई र भैसीको बेग्लाबेग्लै दुध संकलन गर्न खोजिए पनि दर्जनौ संकलकहरुले स–साना मात्रामा दुध संकलन गरेर ल्याउनुपर्ने भएको उक्त मिसावट हटाउन नसकिएको भट्राईले बताए ।

उता गाईको शुद्ध दुधको अभाव हुंदा उता धनकुटाको महालक्ष्मि नगरपालिका स्थित मारेकटाहारे चित्रेको माँ लक्ष्मि डेरी उद्योगका सन्चालक राम बहादुर पौडेलले पनि आफ्नो उद्योगमा पनि समस्या भएको बताए ।

२०७२ सालबाट तीन जनाको साभेदारीमा ३० लाख लागतमा सन्चालनमा आएको यस चिज उद्योगले सुद्ध गाईको दुध नपाउँदा कम गुणस्तरको चिज उत्पादनमा नै चित्त बुझाउनु परेको पौडेलले बताए । उनले भने–‘दुध बढी मिसावट भएर आएको बेला चिज नबनाएर छुर्पी बनाउनुपर्ने बाध्यता छ ।’

हाल दुधको उपलब्धता अनुसार दैनिक १ सय केजी देखि १ सय ३० केजी सम्म चिज उत्पादन गर्दै आएको यस संस्थाले आगामी दिनमा ३ हजार केजी चिज उत्पादन उद्योग सुधार गरिरहेको छ ।

उद्योग सुधारका लागि हाल डेनमार्क सरकारद्वारा सन्चालित उन्नती परियोजना अन्तर्गत ७२ लाख,लक्ष्मि बिकास बैक मार्फत् ५० लाख ,दुग्ध बिकास बोर्ड काठमाण्डौको १० लाख र नीजि लगानी सहित कुल १ करोड ३२ लाख लागतमा उद्योग सुधारको काम भईरहेको छ ।

हाल चिज बनाउन दैनिक चाहिने १ हजार ४ सय दुध समेत गाई र भैसीको मिसावट भएको दुध आईरहेको सन्दर्भमा उधोग सुधारपछि चाहिने २ हजार ५ सय लिटर दुधका लागि निकै चुनौती रहेको संस्थाका अर्का सन्चालक धर्मराज पौडेले बताए ।

‘उन्नत जातको गाईहरु पाल्ने क्रम बढेपनि एक वा दुई ठाउँबाट उधोगलाई चाहिने दुध उपलब्ध हुने अबस्था छैन’ उनले भने,‘दर्जनौ संकलन केन्द्रहरुबाट अनगिन्ती ठाउँहरुबाट दुध ल्याउनु परेकोले शुद्ध दुध पाउन निकै जटिल छ ।’

अहिले जिल्लाको मुख्य सडक बाहेक गाउँका कृषि सडकहरुको अबस्था खराव भएकोले ढुवानीका लागि ट्याक्टरबाहेक अन्य सवारीहरु प्राय जाने अबस्था छैन ।

एउटा ट्याक्टरले एक पटक दुध ढुवानी गरेको न्युनतम ५ हजार लिने गरेको छ । यसर्थ उक्त ५ हजार रकम उठाउनको लागि प्रति लिटर ५ रुपैंयाका दरले दुध बोक्दा एक ट्याक्टरले गाउँहरुबाट न्यूनतम १ हजार लिटर दुध संकलन गर्नुपर्ने हुन्छ । तर एक वा दुई ठाउँमा उक्त परिमाणको दुध नपाएपछि संकलकहरुले पनि न्युनतम २÷४ लिटर देखि दर्जनौ स्थानबाट आएको दुध संकलन गरेर ल्याउनुपर्ने बाध्यता छ ।

यसरी अनगिन्ती ठाउँबाट स–साना परिमाणमा दर्जनौ संकलकहरुबाट दुध संकलन गर्नुपर्ने भएकाले गाईको मात्र शुद्ध दुध पाउन जति कोशिस गरेपनि असम्भव भएको पौडेलले बताए ।

दुध जन्य उत्पादनको अध्याधिक माग भएकाले दुध उत्पादनका लागि राज्यले धनकुटामा ठूला गाईपालन र सडक सुधारमा लगानी गर्नुपर्ने उनले बताए । ‘घर–घडेरी धरौटी राखेर हामी दुध किन्ने जिम्मा लिन्छौ तर राज्यले लगानी गर्नुप¥यो’–पौडेलले बताए ।

उद्योगहरुले प्रति लिटर दुधको रु ५ भन्दा बढी ढुवानी दिन नसक्ने र संकलकहरुलाई पनि एक हजार लिटर भन्दा कम दुध दुवानी गर्न फाईदा नहुने भएकाले गाईको दुधको कृतिम अभाव भएको दुध ढुवानी गरिरहेका सिंधुवा नाम्जाङ्गका भरत गुरुङ्गले बताए ।

२०७० सालबाट गाईपालन गरेर हाल जिल्लाको सबैभन्दा बढी गाईको दुध बेचिरहेका उनले आफूले दैनिक उत्पादन गरिरहेको २ सय लिटर दुध समेत आफ्र्नै ट्याक्टरमा घाटा बेहोरेर ढुवानी गरिरहेको बताए ।

उन्नती परियोजनाको १५ लाख सहित ४ करोडको लागतमा मकालु गाई फर्म सन्चालन गरिरहेका गुरुङ्गले आफूले उत्पादन गरेको दुध बेच्नै पर्ने भएकाले मात्र घाटामा दुध ढुवानी गर्नुपरेको बताए ।

‘अन्य सवारीहरुले एक ठाउँमा २,४ सय लिटर दुध ढुवानी गरेर सेवा दिने अबस्था छैन’ उनले भने ‘ढुवानीको सावाँ उठाउन पनि ढुवानीकर्ताहरुले सबैखालको दुध मिसाएर ढुवानी गरेका हुन् ।’

सरकारले गाउँका कृषि सडक सुधार गरी साना सवारी पुग्न सहज बनाउने र गाई फर्महरुलाई सहुलियत दरको ऋण उपलब्ध गराए ठूला फर्महरु सनचालन नआए सम्म जिल्लाको चिज उद्योग फस्टाउन सक्ने गुरुङ्गको भनाई छ ।

हाल धनकुटाका ५ वटा दुग्ध जन्य उद्योगबाट आर्थिक बर्ष ०७३÷०७४ मा ५७ मेट्रिक टन २९ करोड ८ लाख ७५ हजार बराबरको दुग्ध जन्य बस्तु जिल्ला बाहिर निकासी हुने जिल्ला पशु कार्यालयले जानकारी दिएको छ ।

जसमा ७१ लाख बरावरको १३ मेट्रिक टन चिज सहित १ करोड २० लाख बरावरको १६ मेट्रिक टन छुर्पी,७८ लाख बराबरको १२ मेट्रिक घ्यू र २० लाख बरावरको २० मेट्रिक टन पनिर निकासी भएको कार्यालयको तथ्यांक छ ।

तस्वीर : छथर जोरपाटी स्थित कामधेनु दुग्ध उत्पादक सहकारीमा उत्पादन भएको चिज देखाउँदै शाखाका प्रमुख योगेन्द्र बहादुर भट्टराई ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo