भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने

चितवन, २७ मंसिर (रासस) । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिकसहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्दियाको बबई नदीमा भाले घडियालको खोजी गरिने छ ।

त्यसैगरी कर्णाली नदीको भारतीय सीमा क्षेत्रमा पनि भाले गोहीको खोजी गरिने उहाँले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका भाले यहाँ ल्याउन मिल्न÷नमिल्नेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उपलब्धताका आधारमा दुई÷तीनवटा भाले ल्याउने योजना रहेको छ ।

टोलीमा प्रमुख संरक्षण अधिकृत कँडेल, सहायक संरक्षण अधिकृत बेदबहादुर खड्कासहित प्राविधिकहरु रहनेछन् । त्यसैगरी सहयोगी संस्थाका प्रतिनिधि पनि टोलीमा सहभागी हुने कँडेलले जानकारी दिनुभयो ।

निकुञ्जसँग रहेका राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल गोही मरेपछि अन्यत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको हो । भाले गोही मरेसँगै संकटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समेत समस्या देखिएको छ ।

राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत जेठ महिनामा मरेपछि राप्ती र नारायणीमा रहेका पोथी प्रजननको अवसरबाट वञ्चित भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo