कांग्रेस पार्टीलाई जरैबाट उखेलेर फ्याक्नु आवश्यक छ : डा. भट्टराई

– तपाईंले  आर्थिक समृद्धिका लागि वैकल्पिक शक्तिको आवश्यकता देख्नुभयो । यो एकताले त्यो परिपूर्ति गर्छ या आवश्यकता सकिएको हो ?

वैकल्पिक शक्तिको आवश्यकता त छँदैछ, त्यसैको खोजी हो । नयाँ शक्ति पार्टीले त पाँच स अर्थात् समृद्धि, सहभागितामूलक लोकतन्त्र, सुशासन, स्वाधीनता र समाजवाद भन्ने गरेको छ । अरु पार्टीले यसलाई आआफ्नो ढंगबाट व्याख्या गर्छन् । हामी सबैले एक ठाउँमा आएर वैकल्पिक शक्ति निर्माण गर्न खोजेको हो । हामी पुरानोतर्फ फर्कन खोजको होइन । यो कुनै पुरानो पार्टीमा मर्जर होइन । पुराना पार्टीहरू सबै हिजोको अवस्थाबाट माथि उठेर नयाँ विकल्प दिन खोजेको हो । त्यसो हुँदा यो वैकल्पिक शक्ति निर्माणकै प्रयत्न हो ।

-तपाईँहरूबीच प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा सहमति भएको हो ?

हाम्रो अनौपचारिक कुराकानीमा त प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ भन्ने छ । हामी र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्छौँ, एमाले प्रधानमन्त्री भन्छ । तर आमरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने समझदारी छ । हाम्रो साझा घोषणापत्र बनाउने बेला यसलाई टुंगो लगाउँछाँै । मेरो विश्वासमा प्रत्यक्ष निर्वाचित कार्यकारीलाई मुख्य नारा बनाएर निर्वाचनमा जान्छौँ । मुख्य ध्यान विकास र समृद्धिमा हुन्छ ।
यो एकताबाट एकाथरी झस्केका देखिन्छन् । विशेषगरी कांग्रेस त्यो स्थितिमा छ ।

-यसरी वामहरू एक भए भने प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्ध जान सक्छन् भन्ने चिन्ता छ नि ?

यसलाई म अत्यन्तै पिछडिएको चिन्तन भन्छु । यो त हिजोको शीतयुद्धकालीन धङधङी हो । त्यसलाई फाल्न आवश्यक छ । हामी वामपन्थी प्रगतिशील शक्तिहरू उन्नत लोकतन्त्र चाहन्छौँ । चुनावमा भोट हाल्ने अधिकारमात्र होइन, हरेक निर्णयमा जनताले प्रत्यक्ष सहभागिता जनाउन पाउने सहभागितामूलक लोकतन्त्रको कुरा गर्दैछौँ ।

-लोकतन्त्रलाई उन्नत बनाउने कुरा गर्दा नेपाली कांग्रेस किन झस्कने ?

कांग्रेस यस्तो रुढीवादमा फसेको छ कि न उसले पार्टीभित्र लोकतान्त्रिक मूल्य÷मान्यता अवलम्बन गर्छ न राज्यमा । नेपाली कांग्रेस संकित होइन, सच्चिन जरुरी छ । यो प्रतिस्पर्धी राजनीति हो, एकअर्काबाट सिकेर रूपान्तरण हुन जरुरी छ । यो कसैका विरुद्ध हैन । यो ध्रुवीकरणले लोकतन्त्रलाई अझै मजवुत बताउँछ । छिमेकीहरूको सम्बन्ध पनि अझ उचाइमा लैजान्छ । त्यसो हुनाले कोही त्रसित हुन आवश्यक छैन ।

-पछिल्ला दुई वर्ष देश जटिल मोडबाट गुज्रियो । नाकाबन्दीलगायतका विषयले माओवादी र एमालेलाई एक ठाउँ हुन दिनुहुन्न भन्ने जस्तो पनि भयो । यस्तै जटिलताले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँ ल्याएको हो ?

त्यस्तो होइन । सुगौली सन्धिपछि वैदेशिक सम्बन्ध जटिलताबाट गुज्रेको छ । हामी अलि परनिर्भर भएर गएकै हौँ । आर्थिक सूचकांक हेर्ने हो भने पनि निर्यात भन्दा आयात १५ गुणा बढी भइराखेको छ । यो धान्नै नसक्ने अवस्थामा छ । यस्तो अवस्थामा सही अर्थमा स्वाधीन र आत्मनिर्भर बन्ने हो भने हामीले आफूलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्छ । त्यसका निम्ति बाह्य शक्तिसँगको सम्बन्धमा पनि विविधीकरण गरेर जानुपर्छ भन्ने अर्थमा सबैतिर राम्रो सम्बन्ध राख्ने हाम्रो प्रयत्न छ । भारतसँग हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, सम्बन्ध अलि बढी भएका कारण ऊसँग बढी समस्या हुनु पनि स्वाभाविक हो । त्यसैले यो भारतविरुद्ध लक्षित हो कि भनेर शंकित हुन जरुरी छैन । यो नेपाली जनताको हितमा भएको एकता हो । छिमेकसँग असल सम्बन्ध राखेर जानुपर्छ भन्ने हो ।

-कम्युनिस्टहरूसँग अन्तर्राष्ट्रिय समुदाय झस्कने गर्छ । यस कारण तपाईँहरू पार्टीको नाममा कम्युनिस्ट नराख्ने विषयमा पनि छलफल गर्दै हो ?

यो अरुका कारणले गर्दा होइन । कुनै खास परिवेशमा हिजोका लोकतान्त्रिक, उदारवादी भन्ने पार्टीहरूले आफूलाई समयअनुकूल परिमार्जित गर्दै लगेका छन् । युरोपमा नै भन्नुस् न, फ्रान्समा म्याक्रोनको पार्टी नयाँ ढंगबाट उदय भयो । हिजोका कम्युनिस्ट पार्टीहरू पनि पुरानो ढंगबाट जान नसकेर रूपान्तरित हुँदै अगाडि बढेका छन् । नेपालको सन्दर्भमा हेर्दा पनि हाम्रो तत्कालको कार्यक्रम भनेको राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादको दिशमा जाने हो ।

साम्यवाद, स्वर्ग, रामराज्यको कल्पना मानिसले सुरुदेखि गर्दै आएको छ । तत्कालको कार्यक्रम भनेको राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्ने, बेरोजगारी अन्त्य गर्दै समाजवादमा जाने कार्यभार हो । पार्टी एकताको दिशामा जाँदा नामको विषयमा छलफल हुने हो । महाधिवेशनमा जाँदा यो विषयमा छलफल गरेर जाने भन्ने हाम्रो सहमति छ ।
(नागरिकन्युजले बाबुराम भट्टराई सँग लिएको अन्तर्वार्ताको केहि अंश)

Loading...

संबन्धित
हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo