महरा परिवारले रोल्पाको घर छोडेको अन्तिम रात !

बिस्तारै झ्याउँकीरी र मच्छेडको संगीतयात्रा शुरु भैसकेको छ । २०६२ बैसाखको एक साँझ, यतिखेर हामी दक्षिणी पाल्पाको गोठादीको हात्तिलुङमा छौं ।

केन्द्रीय आधारइलाकामा कार्यरत साँस्कृतिक टोली प्रतिरोध साँस्कृतिक परिवार मेची महाकाली साँस्कृतिक प्रतिरोध अभियानको क्रममा गण्डक अभियानको यात्रामा छ ।

हिजो पश्चिम पाल्पादेखि पूर्वी पाल्पातर्फ थालिएको यात्रा अझैं जारी छ, आज दिनभर बाटोमा हिड्दै गर्दा दिदी प्रगतिसँगको लामो कुराकानी अझैं टुङ्गिएको छैन । र, त फेरि म र दिदी बाँकी कुराकानी पूरा गर्न जुटिरहेका छौं ।

दिदी प्रगति अर्थात् कुश्मा महरा । एक जनकलाकार, सफल गायिका, देश र दुनियाँ बदल्ने महान् यात्रामा यात्रारत् अविचलित योद्धा ।

सायद यतिले मात्रै उनको सबै परिचय पूरा हुदैन । माओवादी नेता कृष्णबहादुर महराकी कान्छी छोरी । वर्गसंघर्षको केन्द्र रोल्पाको महरा परिवार साँच्ची दश वर्षे जनयुद्धको इतिहासमै एउटा आदर्श, उदाहरणीय र सच्चा क्रान्तिकारी परिवार ।

यही नमुना परिवारकी सदस्य प्रगति पारिवारिक जीवनकै एउटा घुम्तीको वास्तविक कथा सुनाइरहेकी छिन् मलाई । जुन दिन उनीहरुले स-परिवार घर छोडे, त्यसपछि त्यो घरमा उनीहरु कहिल्यै फर्किएनन् ।

घर छोडेको त्यो अन्तिम रात, त्यसबखत उनीहरुको हालत कस्तो थियो ? दिदी प्रगति धाराप्रवाह बोलिरहेकी छिन्, म सुनिरहेछु –

समयले नेटो काटेको पत्तै नहुने रहेछ । त्यतिबेला म १२ वर्षकी मात्र थिए । मेरो बाल मस्तिष्कले सबै कुरा त बुझ्न सक्दैनथ्यो तर एउटा घटनाले बेला-बेला झस्काउँछ । त्यो अतित वर्तमान बनेर उभिन्छ । त्यो भयानक दृश्य मेरो आँखा वरिपरी घुमिरहन्छ । अहिले पनि विगत सम्झन्छु, एकाएक मनमा प्रश्न उब्जिन्छ- ‘त्यो रात हामीले घर नछोडेको भए…….?’

अवश्य हामीले घर छोडिसकेका थियौं । कहिले फर्किने ? त्यो पनि निश्चित थिएन । बाध्यताको बन्धनभित्र जेलिएर अनिश्चितताको कालो बादलमुनि हराउँदै हामी निस्कियौं ।

सदरमुकाम लिवाङकै छेउमा हाम्रो घर थियो । बुवा कम्युनिष्ट भएकै कारण तत्कालिन सरकार र प्रशासनको आँखाको कसिंगर बन्नुभएको थियो । जनयुद्धको शुरुवात हुनुपूर्व नै बुवा भूमिगत बस्नुपर्ने बाध्यता भयो । जनयुद्धको थालनी भैसकेपछि त झन् पुलिसको बिगविगी बढ्न थाल्यो । त्यसपछिका दिनहरु यति कष्टप्रद बिते कि, मैले शब्दमा व्यक्त गर्न नै सक्दिन ।

मेरो भाई निर्माण, दाजु निर्मल र दिदी उन्नतिको पढाई बिग्रदै गयो । बुवा घरमा आउने स्थिति नै रहेन । दुश्मनले हप्तामा ३ पटकभन्दा बढी खानतलासी लिने गथ्र्यो । घरमा आमा र हामी चार भाईबैनी गरी ५ जनामात्रै थियौं ।

हाम्रो लागि पुलिसको गालीगलौज, कुटपीट र धाकधम्की त सामान्य भैसकेका थिए । दानवहरुको हुलले कहिले मध्यरातमा आएर ढोका हान्थे, कोठा-कोठा, बुइगल र भकारी जम्मै हेर्थे । अन्नपात जहाँतही पोखिदिन्थे, केही नभेटेर रीसले मुर्मुरिदै फर्किन्थे । कहिलेकाँही एक दुइजना मात्रै साधारण भेष गरेर आउँथे ।

भाइ र मलाई चकलेट, बिस्कुट, कापी, कलम ल्याएर राख्न भन्थे तर हामी केही पनि राख्दैनथ्यौं । त्यसपछि उनीहरु एकआपसमा कानेखुसी गर्दै भन्थे- ‘माओवादीका बच्चाबच्चीहरु कति बाठा हुन्छन्, यी सालाहरु पनि ठूलो भएपछि माओवादी बन्ने त होलान् यीनलाई……।’

हामी यसरी बाँचिरहेका थियौं कि मृत्यू हरपल आँखै अगाडि घुमिरहन्थ्यो । कतिबेला घरमा आगो लगाइने हो ? कतिबेला गोलीले उडाइने हो ? सन्त्रास र भयको कालो बादल सधैं मडारिरहन्थ्यो । तारबारको जेलभन्दा पनि अझ कठोर जेलमा कैद थियौं हामी । सधैं दुश्मनका भरौटेहरु आएर शारीरिक तथा मानसिक यातना दिइरहन्थे ।

जब सूर्य अस्ताउँदै पश्चिममा हराउँथ्यो र कालो रातले पृथ्वीलाई छोप्दै ल्याउँथ्यो, हाम्रा मनहरुमा पनि सन्त्रासको कालो बादलले छोप्दै ल्याउँथ्यो । जब बिहान हुन्थ्यो, मन केही हलुका त हुन्थ्यो तर घरको भित्तामा मृत्यूपुर्जी टाँसिएको हुन्थ्यो ।

कहिलेकाँही अज्ञात स्थानबाट बुवाले पठाएका पत्रहरु आउँथे । हामीलाई ती पत्रले मार्गदर्शन गरिरहन्थे । पत्रहरु प्रेरणा बन्दथे, दुश्मनद्वारा लुछिएका, चुडिएका तनमनहरुमा मल्हमपट्टी हुन्थे ।

बुवाले पत्रमा लेख्नुभएको हुन्थ्यो- ‘अथाह दुःखकष्ट र अप्ठेरोको बीचबाट मात्रै हामी क्रान्तिकारी बन्न सक्छौं । सजिलोमा जो पनि बाँच्न सक्छ, रमाउन सक्छ तर कठिन अवस्थामा पनि जीउन सक्नुपर्छ । अवश्य दुश्मनले बेला-बेलामा सताउँछ होला, झुकाउन प्रयास गर्ला तर दुःखमा नआत्तिनु, दुश्मनसँग कहिल्यै झुक्नुहुदैन ।’

हामी बुवाले लेखेका पत्रहरु धेरैपल्ट दोहोर्‍याई तेहेर्‍याई पढ्थ्यौं र दुश्मनले नभेट्टाउने ठाउँमा लुकाएर राख्थ्यौं । हाम्रो बुवासँगको भेटघाट त्यही पत्रहरु नै हुन्थे ।

२०५४ साउन २९ गते शुक्रबारको दिन, वर्षायाम भए पनि त्यसदिन पानी परेको थिएन । साँझपख केहीछिन आँधीहुरी चल्यो । आकाशमा कतै-कतै बादलका छिर्काहरु देखिन्थे । घाम नअस्ताउँदै सदरमुकाम लिवाङ सुनसान भैसकेको थियो । कारण साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कथित् कफ्र्यू आदेश जारी गरिएको थियो । हामी सधैंझैं त्यस साँझ पनि सबेरै खाना खाएर सुतिसकेका थियौं ।

त्यो रात मेरो मानस्पटलमा अझैं पनि ताजै छ । सायद, मेरो मस्तिष्क चलचित्रको चक्का हो । चक्का निरन्तर घुम्दै जान्छ अनि हरक्षण र ती दृश्यहरु मेरो आँखामा क्रमैसँग आउँछन् ।

हामी ओछ्यानमा पल्टिएपनि निदाइसकेका थिएनौं । एक्कासी ‘ढ्याम्म’ कसैले ढोकामा जोडले लात्ती बजार्‍यो । ढोका हानेको आवाजसँगै ‘ए राँडी ढोका खोल ।’ को एउटा कर्कश मानवरुपी पशुको आवाज पनि आयो ।

‘उफ्’ लामो सुस्केरा हाल्नुभयो आमाले । फेरि पनि कुकुरहरु आए, अब के-के हुने हो ? हाम्रो मनमा सन्त्रास, भय र आक्रोश एकैपटक उब्जियो । बाहिर झ्याल, ढोकामा लात्तीले हिर्काउने काम जारी थियो । अश्लिल शब्द बोल्दै राक्षसहरु आँगन, करेसा सबैतिर होहल्ला गरिरहेथे । यसबाट पनि स्पष्ट हुन्थ्यो कि दुश्मनहरु धेरै आएका छन् ।

आमाले बत्ती बाल्नुभयो । हामी चार भाइबैनी पनि उठिसकेका थियौं । अझ यसो भनौं हामी सबै दुष्टहरुको कुटाइको लागि तयार हुदैछौं । ‘गल्र्याम्म’ ढोका ढलेको आवाज आयो र आवाजसँगै मैमत्त दानवहरु ग्वारग्वारती भित्र छिरे । कोठा, भकारी, बुइगल, भान्साकोठा सबैतिर तलासी लिए ।

पहिलेभन्दा त्यसदिन आएका दुष्टहरु बेग्लै थिए । कपडा पनि टाटेपाटे, अनुहार देख्दैमा डरलाग्दो मान्छे खाने दानवजस्तो । ३/४ जना आएर आमालाई झम्टे, कपाल लुछ्दै राइफलको कुन्दाले हिर्काउन थाले ।

अरु २ जना आएर हामी ४ भाइबैनीलाई पनि गालामा बेस्सरी हिर्काए । भाई डाँको छोडेर रुन थाल्यो । दुष्टहरुले भाइलाई झन् अरु कुटे । दिदी, दाई र म चुपचाप उभिइरह्यौं । आवाज निकालेर रोयो भने झनै कुटाइ खानुपथ्र्यो । मन रोइरह्यो, आँखाभरी आँशु भरिएका थिए । दुष्टहरुले आमालाई कुटिरहेको हामीले मुकदर्शक बनेर हेरिरहनुपर्ने भयो ।

आमालाई कुटेर बेहाल बनाइसकेका थिए । एकछिन कुट्न छोडे ।

अनि शुरु भयो बकबास ।
‘तेरो पोइ कहाँ छ ?’ – ‘थाहा छैन’
‘छिटो भन् कहाँ छ ?’ – ‘थाहा छैन के भनुँ ?’
‘माओवादीका नेता कहाँ बस्छन् ?’ -’था छैन’
‘तेरो राँडो कहाँ बस्छ ?’ – ‘था छैन’

फेरि शुरु भयो बुट र कुन्दाको काम । केहीछिनपछि बाहिरबाट अर्को राक्षस आयो । सायद त्यो अलि ठूलो हुनुपर्छ । ‘केटाहरु हो, यसले भन्दिन । आज यो राँडीलाई नै सुट गर्नुपर्छ, अनिमात्र सबै कुरा ठिक हुनेछ ।’

ए राँडी कपडा लगा । केही भन्नु छ भने तेरा छाउरा छाउरीलाई भन, केही दिनुछ भने पनि दिए हुन्छ । अब फेरि तेरो यिनीहरुसँग कहिल्यै भेट हुदैन बुझिस् । आमातर्फ फर्केर ठूलो दानव करायो । आमा मौन रहिन् ।

‘छिटो गर’

आमाले कपडा लगाउनुभयो । कम्मरमा बाँधेको पर्स फुकाल्नुभयो र दिदीको हातमा राखी दिनुभयो ।

हुनसक्छ आमा अब कहिल्यै फर्किनु हुनेछैन ।

हामीबाट आमाको न्यानो काख र माया जबर्जस्ती खोसिदैछ । मैले आमाको आँखामा हेरे । आँसु छचल्किएका थिए । सहजै अनुमान गर्न सकिन्थ्यो आमा आफ्ना प्यारा छोराछोरीप्रति जीवनभरिकै असिम माया ममता पोखिरहनुभएको थियो ।

मलाई झट्ट बुवाको याद आयो । बुवा अहिले कहाँ के गर्दै हुनुहुन्छ होला ? हाम्रो यो हालत, आमाको यस्तो अवस्था… मुटु भक्कानिएर आयो तर के गर्ने ? आमाको अंगालोमा झुण्डिएर बेस्सरी रुन मन नलागेको कहाँ हो र ? तर, बीचमा दुष्ट दानव उभिएको थियो ।

आमाले धौ-धौसँग भन्नुभयो- ‘राम्रोसँग बाँचेर बसे । नराम्रो काम कहिल्यै नगरे…’ आमाको गला अवरुद्ध भयो ।

बोल्दाबोल्दै दिदी प्रगतिले लामो सास फेरिन् । सायद उनलाई आमाको त्यो शब्द अहिले भर्खर भनेजस्तो लागिरहेछ । मानौं, उनी अहिले दुष्टको पञ्जामा परेकी आमाको अगाडि निरिह भएर उभिरहेकी छिन् । धाराप्रवाह उनको बोलीमा केही भिन्नता आएको छ अहिले । एकपटक खोकिसकेपछि उनले बाँकी वृतान्त फेरि शुरु गरिन्-

दुष्टहरुले आमालाई घिसार्दै बाहिर लिए । ‘आमा ऽऽ’ भाइ जोडले चिच्यायो । तर, हाम्रो वेदना सुनिदिने कोही थिएन । पत्थरको जस्तो मुटु भएका दुष्टहरुलाई के मतलब आमाको माया कति हुन्छ ?

सबै दुष्टहरु बाहिर निस्किए । हामीलाई भित्रै थुनेर दुष्टहरु बाहिर निस्किए । एकैछिनपछि ढोकाको साङ्लो (चुकुल) लगाएको आवाज सुनियो । अब सबै कुरा खतम भइसकेको थियो ।

हामी परिस्थितिले लत्याइएका बेसहारा ४ प्राणी घरभित्रै बेस्सरी रोयौं, करायौं । बाहिर दुश्मनहरु होहल्ला गरिरहेथे ।

एक्कासी एउटा करायो- ‘भागी, भागी ए त्यो रण्डी भागी ।’ अर्को आवाज आयो- ‘ठोक ठोक सालेलाई ।’

‘ड्याङ ऽऽ’ राइफल पडि्कएको आवाज आयो ।

आमा ऽऽ हामी घरभित्रैबाट जोडले चिच्यायौं । आकाश खसेर थिचेझैं भयो । खैं त्यो बेलाको पीडा मैले कसरी भनुँ ? हामी भित्रै छटपटाइरह्यौं । बाहिर राइफल पटि्करहेको आवाज बढिरहेको थियो । कोही मकैबारीमा दौडिरहेको आवाज पनि आइरहेको थियो ।

दिदीले शंका गर्दै भन्नुभयो- ‘आमा भाग्नु भएजस्तो छ, आमा भागेको भए उल्टो रिसले हामीलाई नै मार्छन् दुष्टहरुले बरु हामी पनि भागौं ।’

हामी चारै भाइबैनी घरको पछिल्लो ढोकाबाट सुस्तरी बाहिर निस्कियौं । घरको करेसा हुँदै माथिल्लो बारीमा उक्लियौं र कान्ला-कान्लाबाट लुक्दै पर डाँडामा पुग्यौं । दुष्टहरु घर अगाडि र वरपर नै हल्ला गरिरहेथे ।

हामी दुष्टहरुको घेराभन्दा बाहिर निस्किसकेका थियौं ।

साउनको महिना भएपनि आकाशमा बादल देखिदैनथ्यो । डाँडोमा एकछिन सुस्तायौं । जलजलाबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर र्फकन्थ्यो ।

आकाशमा लाखौं ताराहरु टिलपिल-टिलपिल गरिरहेथे । जूनको धिमा प्रकाश धर्तीमा छरिएको थियो ।

हाम्रो त्यो बेहाल ती निर्जीव जूनताराबाहेक अरु कसैले देखेन ।

घरबाट त निस्कियौं तर कहाँ जाने ? रातको करिब २ बजेको छ । ‘रानो बिनाका मौरीझैं’ हाम्रो बेहाल थियो । आमालाई के भयो होला ? कतै दुष्टले…? हाम्रो यो हालत, बुवा कहाँ हुनुहुन्छ होला ?

हामी ४ भाइबैनीको त्यो बेलाको अवस्था तपाइसँग कुन शब्दले अभिव्यक्त गरुँ ?

केही उपाय नआएर त्यसै बसिरहेका थियौं, जूनको मधुरो प्रकाशमा नजिकै एउटा कालो वस्तु हिडिरहेको देख्यौं । शुरुमा त पुलिस आयो भनेर झस्किर्यौं तर अलि नियालेर हेर्दा हतियार पनि छैन ।

पुलिस नभएको निश्चित भएपछि आमा हुनुहुन्छ कि भनि त्यही कालो वस्तुको पछि-पछि दौड्यौं । हामी दौडेको आवाज सुनेर त्यो झन् दौड्यो ।

दौडाइ आमाको जस्तै लागेर दिदी कराइन् आमा ऽऽ तर त्यो झन्-झन पो दौड्यो । दिदी फेरि पनि कराइन् ।

‘को हो ?’- प्रत्युत्तरमा दौडिने वस्तु करायो ।

त्यो अरु कोही नभएर आमा नै हुनुहुन्थ्यो । हामी आमा भएतिर हाम फाल्दै गयौं र अंगालोमा बाँधियौं ।

आमालाई छोपेर लगिसकेपछि हामीले फेरि मिलनको आशा त के कल्पनासमेत गरेका थिएनौं । कहिलेकाही चान्स पनि कस्तो अचम्मको हुँदो रहेछ । दुष्टहरुको घेराबन्दीबाट हामी सबै सकुशल बाहिर निस्किसकेका रहेछौं ।

दुश्मनद्वारा घरबास लुटिदा, तनमन चिथोरिदा पीडा त अवश्य थियो तर मृत्यूको मुखबाट फर्किएर आएझैं आमालाई पाउँदा खुसीले बेसरी रोयौं । घरमा भने दुष्टहरु आतंक मच्चाइरहेथे । सामानहरु यत्रतत्र फालेको मधुरो आवाज सुनिन्थ्यो ।

घर छोड्यौं । कहिले फर्किने अनिश्चितताको बन्धनले बाँधेको छ । बिल्कुल थाहा छैन । म भर्खर १२ वर्षकी थिए, भाइ त झन् ९ वर्षको मात्रै थियो । अब हामी कहाँ जाने ? के गर्ने ? तर, एउटै उपाय बाँकी रहेछ ।

हो, लिवाङस्थित हाम्रो त्यो सानो घर, जसलाई सधैंको लागि छोडेर हिड्यौं । त्यो भन्दा कैयौं गुणा विशाल घर, लाखौंलाख उत्पीडित, उपेक्षित जनसमुदायको आस्था र विश्वासको धरोहर महान् क्रान्तियात्राको विशाल घर । जहाँ सधैं सन्त्रासको घेराभित्र बाँचिरहनु पर्दैन, खुल्ला आकाशमा पखेटा फट्फटाउँदै उड्ने पंक्षीजस्तै स्वतन्त्र जीउन सकिन्छ ।

त्यही विशाल घरको बाटो रोज्यौं ।

माडी आफ्नै धुनमा बगिरहेथ्यो । जलजलाको चिसो सिरेटोले मुटुसम्म छोएर फर्किन्थ्यो । लाखौं ताराहरु हाम्रो अथाह पीडा र क्रन्दनमा असिम माया र सहानुभूतिसहित शीतका थोपा खसालिरहेथे ।

जूनको मधुरो प्रकाशमा तनमन चिथोरिएका, घरबास लुटिएका हामी ५ प्राणी अस्तित्व, मुक्ति र स्वतन्त्रताको खोजीमा विशाल घरको बाटोतिर हिडिरह्यौं ।’

उनले यति कुरा भनि सिध्याउँदासम्म रातको करिब ९ बजिसकेको थियो । बाल्यकालमा उनको जीवनमा घटेको घटनाको वृतान्त सुन्दासुन्दै म त कतिपटक रोए, रोए । त्यसबखत जूनको मधुरो प्रकाशमा मैले देखेँ उनको आँखाबाट पनि थोपा-थोपा अश्रुदाना झरिसकेका थिए ।

२०६२ बैसाख १३, गोठादी पाल्पा

पत्रकार डिल्ली मल्लको यादहरुबाट

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo