‘विदेशमा कमाएर मात्रै हुँदैन बचाउन पनि जान्नुपर्छ’

नेपाली भाषामा वित्त भनेको धनसम्पत्ति हो । सम्पत्तिलाई राम्रोसँग व्यवस्थापन गरेर आफ्नो जीवनका वित्तीय आवश्यकतालाई ध्यान दिएर पैसाको योजना गर्ने कुरा नै वित्तिय साक्षरता हो ।

अझै सरल भाषामा भन्ने हो वास्तवमा पैसालाई कसरी प्रयोग गर्ने, के के काममा प्रयोग गर्ने, के काममा प्रयोग गर्दा त्यो पैसाले आफ्नो भविष्य सुरक्षित पार्छ भन्ने कुरा नै वित्तीय साक्षरता हो । तर वित्तिय साक्षरताले यति मात्रै कुरा समेट्दैन।

यसले आफ्नो वरिपरीको बजार अनि त्यहाँ रहेका वित्तिय संस्थाले दिने सेवा र तिनीहरुको छनोट र प्रयोग गर्न सिकाउने कुरा पनि वित्तिय साक्षरताले समेटेको हुन्छ । यसै विषयमा वित्तीय साक्षरता विज्ञ विनोद अधिकारीसित मोहन पौडेलले गरेको कुराकानी ।

के के कुरा सिकाइन्छ वित्तीय साक्षरता कक्षामा ?

-वित्तीय साक्षरतामा सबैभन्दा पहिले त व्यक्तिको वित्तिय लक्ष्य निर्माण कुरा सिकाइन्छ । वित्तीय लक्ष्य निर्माण भनेको मान्छे जीवनमा धेरै घटना हुन्छन्, जस्तै मान्छे जन्मिन्छ, जवान हुन्छ अनि मान्छेको उमेर बढेसँगै उनीहरुका जिम्मेवारी पनि बढ्छन् ।

उसले आफूसँगै परिवारका लागि पैसा जोड्नुपर्ला, छोराछोरीलाई हुर्काउने मात्रै होइन उनीहरुको पढाईलेखाई पनि त गर्नुपर्‍यो । यी सबै जिम्मेवारी पुरा गर्दै मान्छे बुढो हुन्छ, त्यतिबेला बिरामी परिएला । यी घटना मान्छेको जीवनमा अवश्यम्भावी जस्तै हुन्छन् । हो त्यतिबेला त पैसा नै चाहिन्छ ।

त्यतिबेलाको समयलाई सम्झिएर मान्छेले त्यसका लागि अहिलेदेखि मैले वित्तीय लक्ष्य बनाएँ भने सजिलो हुन्छ भन्ने कुरा वित्तीय लक्ष्य निर्माणले सिकाउँछ । त्योसँगै पारिवारिक बजेट बनाउने कुरा, बचतका कुरा, ऋणका कुरा र जोखिम व्यवस्थापनका कुराहरु पनि यो भित्र समेटिन्छन् ।

परिवारको आवश्यकताका कुरा गरिरहँदा अहिले नेपालका लाखौं युवा यही आवश्यकता पुरा गर्न विदेशमा छन् । उनीहरुका लागि त वित्तीय साक्षरता नभई नहुने कुरा हो । हुन त वित्तीय साक्षरताका कुरा यसका लागि, उसका लागि भन्ने त हुँदैन, धनीका लागि मात्रै चाहिने गरिबलाई नचाहिने भन्ने हुँदैन ।

वित्तिय साक्षरता प्रत्येक व्यक्तिलाई चाहिन्छ । पैसा नभई कोही पनि मान्छेको जिन्दगी चल्दैन । त्यो पैसालाई सही ठाउँमा प्रयोग गर्न सकियो, चाहिएको ठाउँमा ठिक्क ठिक्क मात्रामा प्रयोग गर्न सकियो भने सम्पन्नता प्राप्त गर्न सकिन्छ ।

युवाहरु केही कमाउन भनेर नै विदेश पुगेका छन् । दुःख गरेर कमाएका पनि छन् । तर दुःखको कुरा के भने त्यसरी दुःख गरेर कमाएको पैसा सदुपयोग गरेको पाइँदैन । जस्तै कतिपयले कमाइसकेपछि विलासिताका वस्तुहरुमा खर्च गरेका छन् । महङ्गा सामान किन्ने अनि भोजमा खर्च गर्ने परदेशीको बानी छ ।

अनि विदेशबाट फर्किसकेपछि आफ्नो खेतबारी बाँझै राखेर उत्पादन गर्न सकिने बस्तुहरु पनि किनेर खाने गरेका उदाहरण प्रशस्तै छन् । यस्ता व्यक्तिहरुले पैसाको महत्व बुझेर दुख गरेर कमाएको पैसालाई कसरी कमाई हुने ठाउँमा लगाउने, के के काममा प्रयोग गर्ने, सुरक्षित भविष्यका लागि यो पैसालाई कसरी उपयोग गर्ने भन्ने कुरा सिकाउन सक्यो भने धेरै परिवर्तन ल्याउन सकिन्छ । त्यसैले पनि वैदेशिक रोजगारीमा रहेका र उनीहरुको परिवारका लागि यो अत्यावश्यक भएको हो ।

पैसा कसरी जोगाउने ?

-स्रोत हुनु भन्दा स्रोतको उचित व्यवस्थापन महत्वपूर्ण कुरा हो । यसलाई जोगाउने कुरासँग जोड्दा पैसा कमाउनु भन्दा कमाएको पैसा जोगाउनु ठूलो कुरा हो । उदाहरणका लागि कोही मान्छेले महिनाको १० हजार रुपैयाँ कमाउँछ, तर त्यसको उचित व्यवस्थापन गर्न सक्दैन भने त्यसले उसको जीवनमा केही प्रभाव पर्दैन ।

तर कोही मान्छे महिनाको ५/६ हजार रुपैयाँ मात्रै कमाउँछ तर त्यसको उचित व्यवस्थापन गर्छ भने ऊ र उसको परिवारलाई त्यति धेरै समस्या पर्दैन । त्यही थोरै कमाई मध्ये पनि केही पैसा भविष्यका लागि जोगाउने व्यक्तिहरु पनि हाम्रै समाजमा छन् ।

पैसालाई योजनबद्ध तरिकाले खर्च गर्ने र आवश्यक काममा मात्रै खर्च गर्ने बानी जोसँग छ उसको व्यक्तिगत जीवन सजिलो छ, भविष्य सुरक्षित छ । तर यही तरिका नजान्ने व्यक्तिहरुको जीवन अव्यस्थित त छ नै भविष्य पनि सुरक्षित छैन ।

यसै सन्दर्भमा वित्तीय साक्षरताले के भन्छ भने तपाईं कति कमाउनुहुन्छ भन्दा पनि तपाईंको खर्च गर्ने बानी कस्तो छ त्यो महत्वपूर्ण हो । त्यसैले वित्तीय साक्षरताको मुख्य उद्देश्य नै भएको स्रोत साधन अर्थात पैसालाई तरिका मिलाएर र भविष्य सोचेर वित्तिय व्यावहार गर्न सिकाउनु हो ।

विदेशमा भएको व्यक्तिले पैसा जोगाउने धेरै कुरा हुन सक्छन् । मुख्य त फजुल खर्च नगर्नु नै हो । परदेशीहरुले तलब पाएपछि रेष्टुरेन्टमा गएर खाने अनि महङ्गा सामान किन्ने गरेको पाइन्छ । दुःख गरेर कमाएको पैसा भएपनि त्यसलाई हलुका ढङ्गले लिन्छन् ।

कतिले त जाँडरक्सी र जुवातासमा पनि पैसा खर्च गरिरहेका छन् । त्यसैले उनीहरुले महङ्गो भन्दा पनि स्वस्थकर खानेकुरा खानुपर्छ । त्यसमा त खर्च गर्नु प¥यो नै । त्यो बाहेक अनावश्यक तडकभडक चाहिँ गर्नुहुँदैन् । यसो गर्न सक्यो भने परदेशीले पैसा जोगाउन सक्छन् ।

विदेशमा कमाएर मात्रै हुँदैन । दुःख गरेर कमाएको पैसा जोगाउन पनि जान्नुपर्छ ।

बिलासिताका सामान किन्ने, भोज गर्ने जस्ता काम गर्नुहुँदैन । स्वस्थ रहन स्वस्थ खाना त खानै पर्‍यो । तर फजुल खर्च गर्नुहुँदैन । अनि परदेशीले पठाएको पैसा परिवारले पनि जोगाउनुपर्छ ।

उनीहरुले पठाएको पैसा जोगाउने कुरामा परिवारको ठूलो हात हुन्छ । तर अहिले पनि विदेश जानेका धेरै जसोका परिवारको सोच चाहिँ पैसा भएर राम्रो लाउने, मिठो खाने अनि रमाइलो गर्ने छ । परिवारले यस्तो सोचिदियो र भविष्यका लागि सोचिदिएन भने भविष्यमा समस्या हुन्छ ।

त्यसैले यसलाई अवसर हो भनेर बुझियो भने चाहिँ राम्रो हुन्छ । यसले परिवारमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

कुन क्षेत्रमा लगानी गर्ने ?

-विदेशबाट परिवारको सदस्यले कमाएर पठाएको पैसा आय वृद्धि गर्ने काममा लगाउन सकिन्छ । आय बढाउन बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालेर दूध बेच्नेदेखि सानातिनो पसल खोलेर चलाउन पनि सकिन्छ ।

अनि कहिँकतै जग्गाजमिन जोडेर परिवारका लागि सुरक्षित बनाउन पनि सकिन्छ । परदेशबाट कमाएर पठाएको पैसा परिवारले यस्तो काममा प्रयोग गरिदियो भने विदेशमा हुनेहरुलाई पनि ढुक्क हुन्छ ।

अहिलेको अवस्था अलिक फरक छ । कुनै परिवारको कमाई राम्रो छ भने किन दुःख गर्नुपर्‍यो र भन्ने सोचाई छ । उनीहरु आफ्ना खेतबारी बाँझै राख्छन् अनि विदेशबाट आएको पैसाले किनेर खान्छन् ।

छोराछोरीलाई बोर्डिङ पढाउने भन्दै गाउँबाट शहर पसेर डेरामा बस्ने अनि फोनमा धेरै खर्च गर्छन । मोवाइल फोन सेटहरु पनि महङ्गै प्रयोग गर्छन् । यस्तो प्रवृत्तिले गर्दा विदेश गएर कमाएको पैसा उपलब्धिपूर्ण काममा प्रयोग हुन सकेको छैन ।

त्यसैले विदेश गएका र उनीहरुका परिवारले वैदेशिक रोजगार दिगो र सँधैका लागि होइन । यो जहिले पनि बन्द हुनसक्छ । त्यसैले दुःख गरेर कमाएको पैसा अहिले बुद्धि पुर्‍याएर खर्च गर्नुपर्छ ।

अहिले त गाउँगाउँमा सहकारीहरु खुलेका छन् । ती सहकारीमा बचत त गर्न सकिन्छ नै सहकारीले नै उद्यम गर्न चाहनेलाई लगानी पनि गर्छन् । त्यसैले सहकारीहरुबाट ऋण लिएर कुनै व्यापार व्यावसाय गर्न सकियो भने भविष्यका लागि त्यो अझै सुरक्षित हुन्छ । त्यसैले अब के गर्ने भन्ने चाहिँ परदेशीकै हातमा छ ।

(वित्तीय साक्षरता विज्ञ विनोद अधिकारीसँग मोहन पौडेलले गरेको कुराकानीमा आधारित/रिडलनेपालबाट)

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo