गौचनलाई शहीद घोषणा गर्ने, प्रधानमन्त्रीले पार्थिव शरिरमा ओढाए राष्ट्रिय झण्डा

२६ असोज, काठमाडौं । गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । अन्त्येष्टि गर्नु अघि गौचनको पार्थिव शरिरलाई अनामनगरमा राखिएको थियो ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

२३ असोजमा शान्तिनगर खरिबोटमा अज्ञात समूहले गोली हानेर गौचनको हत्या गरेको थियो । सरकारले गौचनलाई शहीद घोषणा गर्ने र हत्यारालाई छिट्टै पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यले शव बुझेका छन् । निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालका लागि निर्माणका सबै काम रोक्ने निर्णय कायमै राखेका छन् ।

श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहिद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने भन्दै काममा फर्किन आग्रह गरे । अनलाइनखबर

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo