‘चुनाव सार्ने’ एमाले प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा ठाडै अस्वीकार, सिंहदरबारमा जुटेन सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरको निर्वाचन प्रभावित हुनेगरी नेकपा एमालेले ल्याएको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने मिति सार्नको लागि गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले ठाडै अस्वीकार गरेका हुन् ।

आगामी मंसिरमा हुने समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने मिति यही असोज २९ गतेलाई तोकिएको छ । नेता नेपालले यो मितिमा समय अपुग भएको भन्दै सार्न प्रस्ताव गरेका थिए ।

तर जवाफमा प्रधानमन्त्री देउवाले चुनावको मिति कुनै हालतमा हेरफेर नहुने स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकपछि बाहिर बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलले समानुपातिकतर्फ बन्द सूची बुझाउने विषयमा केही अप्ठ्याराहरु रहेको भन्दै ती अप्ठ्यारा फुकाउन निर्वाचन आयोगसँग परामर्श गरिने बताए । ‘बैठकमा भोलि निर्वाचन आयोग परामर्श गर्ने समझदारी भएको छ,’ नेता पौडेलले भने– ‘यसमा केही प्राविधिक कठिनाई छ ।’

नेता पौडलका अनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐनका विषयमा छलफल भएको थियो । ‘कांग्रेसले यो ऐनका सम्बन्धमा एकल सक्रमणका आधारमा राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ भन्ने प्रस्ताव राख्यो,’ नेता पौडेलले भने– ‘एमालेका साथीहरुले हुँदैन् बहुमतका आधारमा गर्नुपर्छ भन्नुभयो । यहाँनेर कुरो मिलेन । अब तीन शीर्ष नेता देउवा, प्रचण्ड र ओलीबीच छलफल गरेर टुंग्याउनेगरी आजको बैठक निष्कर्षमा पुग्यो ।’

नेता पौडेलले चुनावको कार्यतालिका कुनै हालतमा नसार्ने तीन दलका नेताको अडान सुनाउँदै भने– ‘चुनाव तोकिएकै मितिमा गर्नुपर्छ भन्ने सबै सहमत छन् ।’-नेपाल पानाबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo