राजनीतिक तथा सामाजिक आन्दोलनका अथक योद्वा एवं जिउँदो ईतिहास भद्रमान घले


धनकुटा ।  राजनीतिक संघर्ष, आन्दोलन, परिवर्तन, जातीय विभेद तथा छुवाछुत विरुद्वको सामाजिक मुक्ति आन्दोलनका एक अथक एवं ऐतिहासिक महान व्यक्तित्वको नाम हो, भद्रमान घले। धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. ५तल्लो कोप्चे स्थित विहिबारे हटिया नजिकका स्थायी बासिन्दा भद्रमान घले वुवा कविराम घले र आमा बलिमाया घलेको कोखबाट मिति १९८९ सालको कार्तिक महिनामा धनकुटा बजारको बिहिबारे हटिया नजिक रहेको आफ्नो पुर्ख्यौली निवासमा जन्मनुभएको हो ।

जन्म धनकुटा बजारमा भए पनि आफ्नो पुर्ख्यौली बसोबास धनकुटा जिल्लाको साविक सान्‍ने गा.वि.स. वडा नं.५ मा रहेकोमा आफ्नो वुवा कविराम घले परिवारसहित वि.सं.१९८५/१९८६ सालतिर धनकुटा बजार आएको र हालसम्म पनि आफ्नो पैत्रृक जग्गा जमिन सान्‍ने गाउँमै रहेको कुरा घले बताउनु हुन्छ । उहाँले घरायसी व्यवहार व्यवस्थापन तथा सहयोगका लागि धनकुटा जिल्लाकै ताङ्‍खुवा निवासी विन्दामाया परियारसंग वि.सं.२००९ सालमा विवाह गर्नुभएको थियो ।

उहाँकी श्रीमतीको वि.सं.२०४२ सालमै निधन भैसकेको छ ।उहाँका सन्तानहरुमा २ भाइ छोराहरु र ६ बहिनी छोरीहरु रहेकामा जेठी र माइली छोरी कलिलै उमेरमा स्वर्गबास भएका, साँहिली लक्ष्मी परियार विराटनगरमा, काँइली ईन्दिरा घले(अविवाहित) र अन्तरी तनुजा घले काठमाडौंमा र कान्छी रमिला घले जनकपुरमा बसोबास गर्दछन् ।

छोराहरुमा जेठो छोरो डा.सन्तोष घले सपरिवार भारतमा बस्दछन् भने कान्छो छोरो प्रकाश घले पनि सपरिवार काठमाडौंमा बस्दछन्।उहाँका छोराहरु र छोरीहरु दुवै तर्फबाट हाल सम्म ५ जना नातिहरु र ४ जना नातिनीहरु रहेका छन्। राजनीतिक, सामाजिक, पारीवारिक तथा व्यवहारिक काम व्यवहारले गर्दा उहाँले आफ्नो शैक्षिक विकासलाई दशौं कक्षा सम्म मात्र पुर्‍याई अपेक्षाकृत रुपमा निरन्तरता दिन नसके तापनि आफ्नो पुर्ख्यौली पेशा सिलाई-कटाईलाई भने निरन्तरता दिई एक अब्बल र नामूद सीपकर्मीको रुपमा आफूलाई स्थापित गर्नुभयो ।

आफ्नो पुर्ख्यौली जग्गा जमिनको आयस्ताबाट सामान्य जीविकोपार्जन भैरहेकै भएता पनि आफ्नो अब्बल सिलाई-कटाई सीपको उचित कदर नहुनु, अन्याय, अत्याचार, सामाजिक अन्धविश्‍वास र रुढीवादी संस्कृतिद्वारा सृजित जातीय विभेद तथा छुवाछुत प्रथाको नकारात्मक प्रभावले गर्दा उत्पन्‍न विद्रोही मनोभावनाका कारण उहाँ वि.सं.२००३ सालमा विराटनगरतर्फ प्रस्थान गर्नु भयो । विराटनगर रहँदा बस्दा उहाँको सिलाई-कटाई सीप र पेशाले छुट्टै नाम दाम कमाउनुका साथै त्यही सीप र पेशाको माध्यमबाट नेपालका तत्कालीन राजनीतिक हस्तीहरु मात्रृकाप्रसाद कोइराला, वि.पी.कोइराला, गिरिजाप्रसाद कोइराला लगायतसंग चिनजान तथा सत्संगत गर्ने अवसर पाउनु भयो ।

उहाँले ती कोइराला राजनीतिज्ञहरुले लगाउने दउरा-सुरुवाल, कोट-टोपीहरु नियमित रुपमा सिलाउने गर्नुहुन्थ्यो । ती कोइराला परिवारका राजनीतिक हस्तीहरुसंगको चिनजान, उठवस र व्यवहारले गर्दा चाँडै नै उनीहरुसंग प्रभावित भै वि.सं.२००५ सालमा नेपाली कांग्रेसको सदस्यता लिनु भयो । घले भन्‍नुहुन्छ- “आखिर जातीय भेदभाव र छुवाछुत भन्‍ने कुरो त केही पनि रहेनछ, कोइराला परिवारका त्यत्रा-त्यत्रा राजनीतिक नेताहरुसंग संगै बसउठ, हिंड्‍डुल गरियो, खुल्ला रुपमा उनीहरुको घरभित्रको चुल्होमै गएर खानपान गरियो, पानी चल-अचल, छुत-अछुत भन्‍ने कुरा केही देखिएन, कसैले केही पनि भनेन् , ती कति सरल कति मिजासिला मान्छे ? त्यही कारणले गर्दा म कांग्रेसको समर्थक भै सक्रिय रुपमा कांग्रेसको गतिविधिमा समेत लागें ।” घले पेशागत अभिबृद्वि र राजनीतिक गतिविधिमा उत्तिकै रुपमा सक्रिय रहनु भयो ।

त्यसबेला कांग्रेसको नेतृत्वमा राणाशासन विरोधी शसस्त्र संघर्ष शुरु भैसकेको थियो । कोइराला परिवारले नेतृत्व गरेको कांग्रेस राजनीतिबाट प्रभावित भएर सो राणाशासनको विरुद्वमा र वि.स.२००७ सालको प्रजातन्त्र प्राप्तिका लागि घलेले पनि ज्यानलाई नै जोखिममा राखेर सक्रिय रुपमा राजनीतिक गतिविधिमा लाग्नुभयो । उहाँले पार्टीको नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्ने, पम्ल्पेट-पर्चा छर्ने, पोष्टरहरु टाँस्ने, गोप्य सूचनाहरु एक नेता देखि अर्का नेताकाँ पुर्‍याउने लगायतका कामहरु सक्रियताका साथ गर्नुभएको थियो ।

राजनीतिक प्रचारप्रसारकै क्रममा उसबेलाका चर्चित कम्युनिष्ट नेता क.मनमोहन अधिकारीसंग समेत भेटघाट र चिनजान गर्ने अवसर पाउनु भयो । मनमोहन अधिकारीसंगको भेटघाटले समेत उहाँलाई बामपन्थी राजनीतिक कर्मका लागि थप हौसला मिलेको थियो । सिलाई-कटाई व्यवसाय विस्तार र राजनीतिक प्रचारका लागि उहाँ बेलाबेला धरान लगायत तराईका विभिन्‍न ठाउँहरुमा घुम्ने गर्नुहुन्थ्यो ।धरानमा त्यसबेलाकै नामचलेका कम्युनिष्ट हिरालाल विश्‍वकर्मा तथा सहर्षनाथ कपाली जस्ता नेताहरुसंग समेत भेटघाट, चिनजान र हेलमेल हुन थाल्यो । एउटै बर्ग समुदायका व्यक्तिहरु भएकाले होला उहाँको ती नेताहरुसंग छिट्टै हेलमेल बढी कम्युनिष्ट विचारतर्फ अझ बढी झुकाव बढ्न थाल्यो ।

कम्युनिष्ट पार्टीको संगठन विस्तार तथा जनजागरणका लागि हिरालाल विश्‍वकर्माहरुद्वारा आयोजित धरानको पब्लिक हाईस्कुल पछाडि वि.सं.२००८ सालमा भएको विशाल जनसभालाई संवोधन गर्न नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ आउनु भएको थियो।मुलतःउहाँ(पुष्पलाल श्रेष्ठ)को त्यो भाषण र व्यक्तिगत भेटघाटबाटनै प्रभावित भएर त्यहीं देखि भद्रमान घले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भयो ।

धरानमा सहर्षनाथ कपालीको नेतृत्वमा रहेको निम्न समाज सुधार संघको सचिवको समेत भुमिका निर्वाह गर्नुभयो । बामपन्थी विचारधाराबाट प्रेरित हुँदै उहाँले जातीय भेदभाव तथा छुवाछुत विरुद्व सामाजिक मुक्ति आन्दोलनको अगुवाई समेत गर्नुभयो।त्यसबेला जातीय विभेद, छुवाछुत, पानी चल-अचल, छोईछिटो हाल्ने जस्ता सामाजिक विकृति तिव्र रुपमा रहेको थियो ।धनकुटाको बिहिबारे हटियामा दलितहरुलाई प्रवेशै निषेध गरिएको थियो ।

दलितहरु अचानक प्रवेश गरिहालेमा मरणासन्‍न हुने गरी कुट्ने, अभक्ष खुवाउने, दलित महिलाहरुलाई चुल्ठोमा समाएर घुमाउने, दुर्व्यवहार गर्ने जस्ता अमानवीय व्यवहार गरिन्थे ।त्यस्ता अभद्र व्यवहारबाट भद्रमान घले स्वयं पनि कैयौं पटक शिकार भएका थिए । यस्तो अन्यायको विरुद्वमा उनले धनकुटाका सवै दलितहरुलाई गोलबन्द गरी बिहिबारे हटिया प्रवेश आन्दोलनको योजना बनाए, जस अनुसार उनकै नेतृत्वमा वि.सं.२००९ सालको भाद्र महिनामा दलित जनहरु सम्मिलित १७/१८ जनाको टोली एकतृत भएर धनकुटाको बिहिबारे हटियामा जबरजस्ती प्रवेश गर्‍यो ।

जसमा धनकुटाको कम्युनिष्ट पार्टीको समेत समर्थन र एक्यबद्वता थियो भने सो पार्टीका तत्कालीन संस्थापक संयोजक क.यज्ञप्रकाश अधिकारीको समेत संलग्नता र अगुवाई रहेको थियो ।सो हटियामा दलित प्रवेश आन्दोलनको नेतृत्व गरेको र सो आन्दोलनमा सहभागी भै सघाएको भन्दै तत्कालीन शासकको आदेशमा भद्रमान घले र यज्ञप्रकाश अधिकारीलाई गिरफ्तार गरी १ बर्षसम्म जेलमा राखियो र पछि संगै छोडियो भन्दै भद्रमान घले त्यो इतिहासलाई सम्झनुहुन्छ ।

राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै गर्दा पारिवारिक तथा घरायसी व्यवहारले पनि पक्रिँदै लग्यो । जसले गर्दा उनी वि.स. २००९ सालमै विवाह बन्धनमा बाँधिए । विवाह पछि सन्तानहरु भए । राजनीतिक तथा सामाजिक कार्यका साथै उनमा पारीवारिक दायित्व समेत थपियो । जसले गर्दा पारीवारिक व्यवस्थापनलाई बढी ध्यान दिँदै उहाँले राजनीतिक तथा सामाजिक कर्मलाई अगाडि बढाउनु भयो । उनको पूर्ख्यौली पेशा सिलाई-कटाईलाई बढी समय दिँदै आयश्रोतलाई अलि मजबुद बनाउदै छोरा-छोरीको लालन पालन-पोषण, स्वास्थ्योपचार, शिक्षादिक्षा लगायतका विषयहरुमा समेत सक्रिय हुन थाले ।

उनी भन्छन्-” मैले लुगा कपडा सिलाएरै छोरा-छोरीलाई शिक्षादिक्षा दिई जेठो छोरालाई त मेडिकल डाक्टर समेत बनाएको हुँ ।” पारीवारिक र राजनीतिक-सामाजिक आन्दोलनलाई संगसंगै लाने क्रममा उहाँलाई २०१३ सालमा नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्यताका लागि सिफारिस समेत गरियो । उनी धनकुटाको कम्युनिष्ट पार्टीका संस्थापक संयोजक क.यज्ञप्रकाश अधिकारीको नेतृत्वमा रही संस्थापक सदस्य समेत भएर काम गर्नुभयो ।

समयक्रम संगै उहाँमा वि.स.२०१५/१६ सालतिर स्वास्थ्य समस्या देखियो । टि.वी. रोगले निकैनै ग्रस्त भए पछि उहाँ वि.सं.२०१९ सालमा उपचारका लागि भारतको सिम्ला भन्‍ने ठाउँमा जानु भयो ।उपचारका क्रममा उहाँले त्यहाँ करिब तिन बर्ष विताउनु भयो । त्यसबेला समेत उहाँ नेपालका राजनीतिकर्मीहरुसंग सम्पर्कमै रहनुभयो । उपचार पछि वि.सं.२०२२ सालमा उहाँ नेपाल फर्कनु भयो । त्यसपछि पनि उहाँ पारीवारिक काम व्यवहार तथा राजनीतिक-सामाजिक आन्दोलनमा सक्रिय रहनु भयो ।

वि.स.२०३६ सालको जनमत संग्रहमा सहभागी भै बहुदलको पक्षमा वकालत, २०३६ सालकै धनकुटा छिन्ताङ्ग हत्याकाण्डको बिरोध, वि.स.२०४६ सालको निर्दलीय पञ्‍चायती शासन विरुद्व प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको शान्तिपूर्ण जनआन्दोलनमा संयुक्त बाममोर्चाको तर्फबाट सक्रिय सहभागी हुनुभएको थियो।सामाजिक मुक्ति आन्दोलनको समेत संगै अगुवाई गर्नुभयो । सम्पूर्ण दलितहरुको सामाजिक मर्यादा, समग्र हकहित र उत्थानका लागि केन्द्रमा गोल्छे सार्कीको नेतृत्वमा उत्पीडित जातीय उत्थान मञ्‍च वि.स.२०४५ सालमा स्थापना भएको थियो ।

सो मञ्‍चको समेत केन्द्रीय समितिमा रहेर उहाँले काम गर्नुका साथै सो उ.जा.उ.मञ्‍चकै शाखाको रुपमा उहाँले वि.स.२०४७ सालमा धनकुटामा जिल्ला कार्य समिति समेत गठन गर्नुभयो ।राजनीतिमा सक्रिय रहँदै गर्दा वि.सं.२०४६ सालको सफल जनआन्दोलन पछि ने.क.पा.(माले) र ने.क.पा.(मार्क्सवादी) विच एकता भई बनेको ने.क.पा.(एमाले) को संगठित सदस्यता उहाँले वि.स.२०४९ सालमा विधिवत रुपमा प्राप्त गर्नु भयो भने वि.सं.२०५० सालमा पार्टीको जिल्ला कमिटी सदस्य, त्यसपछि सल्लाहकार समिति सदस्य हुँदै वि.स.२०५७ सालमा ने.क.पा.(एमाले) अञ्‍चल कमिटी सदस्य समेत हुनुभयो।

त्यति मात्र होइन उहाँको राजनीतिक सक्रियता, धैर्यता, लगनशिलता र इमानदारिताका कारण वि.स.२०५४ सालको स्थानीय निर्वाचन पछि ने.क.पा.(एमाले)को तर्फबाट जिल्ला विकास समितिको मनोनित सदस्य समेत भई सक्रिय, ईमान्दार, निश्पक्ष र विकासप्रमी जनप्रतिनिधिको रुपमा समेत आफूलाई स्थापित गरिछाड्नु भयो। यसका अतिरिक्त राजनीतिक कामको शिलशिलामा २०४८ सालको संसदीय निर्वाचन, २०४९ सालको स्थानीय निकायको निर्वाचन, २०५१ सालको मध्यावधि संसदीय निर्वाचन, २०५४ सालको स्थानीय निर्वाचन, २०५६ सालको प्रतिनिधिसभाको संसदीय निर्वाचन, २०६२/६३ सालको ऐतिहासिक शान्तिपूर्ण जनक्रान्ति, २०६४ सालको संविधानसभाको निर्वाचन, २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन, २०७४ सालको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत बृद्व शरीरका बाबजुद पनि सक्रिय रुपमा खट्नु भयो भने हालको अवस्थामा समेत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दलसंग आबद्व भई ८८ बर्षको बृद्व शरीरलाई लिएर दिनरात नभनी निःस्वार्थी भावनाका साथ दलगत गतिविधिमा सक्रिय हुनुहुन्छ। उहाँको बयोबृद्व अवस्थाको यस प्रकारको राजनीतिक सक्रियताले जननेता क.मदनकुमार भण्डारीले भन्‍नु भएको ‘राजनीतिमा थकाई भन्‍ने शब्दावली हुँदैन’ भन्‍ने महावाणी समेत चरितार्थ हुनका साथै नेपालको राजनीतिक तथा सामाजिक विकासक्रमका सन्दर्भमा उहाँले परिपक्‍व र जिउँदो ऐतिहासिक तथा राजनीतिक व्यक्तित्वको पहिचान समेत बनाउनु भएको छ ।

राजनीतिक तथा सामाजिक आन्दोलनका अथक योद्वा बयोबृद्व नेता श्री भद्रमान घलेको अनवरत एवं अविचलित राजनीतिक सक्रियता, सामाजिक मुक्ति आन्दोलनको निरन्तर अगुवाई, निःस्वार्थीपन, ईमानदारिता, धैर्यता, लगनशिलता, पदलोलुप्‍ताबाट टाढै रहने स्वभाव, निःस्वार्थी सेवाभाव, सहनशिलता, निडरता, मृदुभाषी, स्पष्टवक्ता, सरलता, नम्रता जस्ता अद्वितीय मानवीय गुण र उहाँको राजनीतिक तथा सामाजिक योगदानको उच्च प्रसंशा र कदर गर्दै विभिन्‍न संघ/संस्थाहरुले उहाँलाई सम्मान तथा अभिनन्दन समेत गरेका छन् । यसरी उहाँलाई सम्मान तथा अभिनन्‍दन गर्ने संघ/संस्थाहरुमा जागरण मिडिया सेन्टर काठमाडौं, राष्ट्रिय दलित आयोग काठमाडौं, दलित महिला संघ काठमाडौं, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटी काठमाडौं, नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धनकुटा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी धनकुटा, मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र(हुसाडेक) नेपाल, न्याय र समानताका लागि दलित नागरिक परिषद धनकुटा, मनमोहन स्मृति प्रतिष्ठान काठमाडौं, राष्ट्रिय दलित कर्मचारी समाज धनकुटा, दलित एकता समाज धनकुटा(उहाँ दलित एकता समाज,धनकुटाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ), माहात्मा गान्धी स्मृति प्रतिष्ठान काठमाडौं, धनकुटा प्रतिभा समाज, पूर्व ने.क.पा.(एमाले) धनकुटा नगरको ५ नं.वडा कमिटी, जेष्ठ नागरिक जिल्ला संघ धनकुटा, मदन भण्डारी फाउण्डेशन धनकुटा लगायत दर्जनौं संघ/संस्थाहरुले उहाँलाई सम्मान तथा अभिनन्दन गरिसकेका छन् ।

स्वाभाविक रुपमा बृद्व हुँदै गएपछि विभिन्‍न स्वास्थ्य समस्याहरु देखा पर्दै जान्छन् । यसै क्रममा बयोबृद्व नेता भद्रमान घले मुटुरोगबाट पीडित भै बिगत 20 बर्ष देखि औषधी सेवन गरिरहे तापनि सो स्वास्थ्य समस्यालाई समेत कुनै प्रवाह नगरी राजनीतिक सामाजिक आन्दोलनमा क्रियाशिल हुनुहुन्छ । सामाजिक विकृति र विसंगतिको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै उहाँ भन्‍नुहुन्छ-“मुलतः जयस्थिती मल्ल राजाका पाला देखि नेपालमा जातीय भेदभाव तथा छुवाछुत शुरु भई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं.१९१० मा नेपालको पहिलो लिखित कानुनको रुपमा रहेको मुलुकी ऐन ल्याएपछि यो जातीय विभेद तथा छुवाछुत प्रथाले कानुनी मान्यता समेत पाई आजतक सम्म यसको अवशेष रहीरहेको छ ।तर पहिलेको भन्दा धेरै नै सुधार भएको र भैरहेको छ ।

पहिले/पहिले हाम्रा पालामा बाटामा हिँड्दै गर्दा समेत कथित उच्च जातका मानिसहरु आए भने बाटामुनि लागेर जदौ/जदौ गर्नु पर्दथ्यो तर अहिले त्यस्तो छैन ।बिहिबारे हटियाकै कुरा गर्दा त्यहाँ दलित पस्न पाईंदैनथ्यो ।पसिहालेमा मरणासन्‍न हुने गरी कुटाई खानु पर्थ्यो ।हाम्रा छोरी चेलीहरु हटिया प्रवेश गरेकै आधारमा चुल्ठो घुमाई/घुमाई मरणासन्‍न हुने गरी कुटिन्थे, कैयौं दुर्व्यवहारको शिकार बन्थे । यस्ता दुर्व्यहारका कैयौं घटना मैले भोगेको र देखेको छु तर अहिले त्यस्तो छैन । धेरै सहज छ ।”

विगतमा सामाजिक विकृतिको विरोध गर्ने क्रममा त्यसबेलाको सत्तासंगको मुख्य माग भनेकै ‘दलित समुदायका व्यक्तिहरुलाई पनि मानवकै रुपमा हेरियोस् , सार्वजनिक स्थलहरुमा हामीहरुले पनि पस्न र बस्न पाइयोस्’ भन्‍ने हुन्थ्यो तर आज स्थानीय तहमा दलित महिलाको समेत अनिवार्य सहभागिता हुनै पर्ने व्यवस्था आउँदा आफूलाई धेरै नै खुशी लागेको भनी घले आफ्नो अनुभव बताउनुहुन्छ ।

आर्थिक लोभ र प्रलोभनबाट सँधै टाढा रहने सादा जीवन र उच्च विचारका धनी भद्रमान घले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्तित हुँदै राजनीतिलाई कमाउने पेशा ठानिएकाले देशमा यस्तो राजनीतिक दुर्दशा उत्पन्‍न भएको हो भन्‍नुहुन्छ ।उहाँको विचार र अनुभवमा राजनीति निःस्वार्थ सेवा हो, विश्‍वास, ईमानदारिता, त्याग, सेवा, धैर्यता, लगनशिलता, अग्रगमन, नैतिकता, पारदर्शिता, निष्पक्षता, अविभेद, समानता जस्ता गुणहरुनै राजनीतिका गहना हुन् ।यीनिहरुलाई हरतरहले संरक्षण र सम्बर्द्वन गर्नु पर्दछ।

बयोबृद्व नेता भद्रमान घलेको विचारमा रुढीवादी संस्कृतिको जगमा मौलाएको जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्यको अश्‍त्र भनेकै शैक्षिक जागरण, जनचेतनाको अभिबृद्वि, आर्थिक सबलीकरण, दलित र गैरदलित विच छुवाछुत तथा भेदभाव विरुद्वको सामुहिक अभियान, राज्यका हरेक संरचनाहरुमा दलित समुदायको समावेशीकरण तथा मूलप्रवाहीकरण जस्ता आधारभूत पक्षहरुमा सवै सरोकारितहरुको मुख्य ध्यान जानु पर्दछ ।

(बयोबृद्व नेता श्री भद्रमान घले ज्यूसंग गरिएको प्रत्यक्ष्य कुराकानीमा आधारित, ​​​​​​प्रस्तोता ललितकुमार वि.के.,शाखा अधिकृत,उच्च अदालत बिराटनगर)

प्रतिक्रिया दिनुहोस
कोरोना कहर – समाजवादका मान्यता स्थापित गर्ने अवसर

ओमप्रकाश निरौला । नेपालमा समाजवादी ब्यवस्थाका केही आधारभूत मान्यताहरु स्थापित गर्नका लागि कोरोनाले

पूर्वराजालाई पत्रकार बानियाँको चिठी,- चौरासी व्य,ञ्जन न,पचेर भुँडी फु,ट्ने नेताभन्दा तपाइँ प्यारो लाग्न थाल्यो

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) सं,क्रमण हुन नदिन सरकारले ९ दिनदेखि ल,कडाउन लगाएको

घर बाहिर हुने कहाँ बस्ने सरकार ?

ओम प्रकाश निरौला । कोरोनाको महामा,रीसगै यो रोग बाट ब,च्न नेपाल सरकारले सबै

ओलीलाई ढु,कुटी सक्यो भन्ने कां,ग्रेसीले जवाफ दिनुपर्छ – देउवाका छोरा-छोरी कुन देशमा छन ?

वि.स. २०४८ सालमा झापा क्षेत्र नम्बर ६ देखि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए

अनलाईन टिभी